समाज

'अख्तियारमा परेका १८ मुद्दा छानवीनको प्रकृयामा'

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कर्णाली प्रदेश सुर्खेतका प्रमुख शेषनारायण पौडेलसहितको टोली डोल्पास्थित जुफाल विमानस्थलमा।

डोल्पा- डोल्पामा भित्रिएका विकासे योजनाहरुमा भएको आर्थिक अनियमितता सम्बन्धि अख्तियारमा परेका १८ मद्दा कारवाहीको प्रकृयामा रहेको अख्तियारले जनाएको छ।

हिमाली जिल्ला डोल्पाबाट सयको हाराहारीमा मुद्दा परे पनि छानबिन र स्थलगत निरिक्षण अवलोकन पछि १८ मुद्दा मात्र कारवाहीको प्रकृयामा छिरेको डोल्पामा पुगेको अख्तियारको टोलीले जनाएको हो।

कारवाहीको प्रकृयामा छिरेका मुद्दाको सुष्म निरिक्षण अनुसन्धान र जिल्लामा सुशासनको अवस्था बुझ्न अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतका प्रमुख शेषनारायण पौडेल सहितको चार सदस्यीय टोली आइतबार डोल्पामा पुगेको हो।

जुफाल विमानस्थलमा नागरिकसंग कुरा गर्दै क्षेत्रीय प्रमुख पौडेलले अख्तियारमा परेका अधिकांश मुद्दा स्थानीय तहसंग सम्बन्धित रहेको बताए।

अख्तियारमा परेका मुद्दाहरुमा सार्वजनिक खरिद ऐन विपरित काम गरेको, नियम विपरित आफ्नो पार्टी कार्यकर्ता र आफन्तलाई उपभोक्ता समिति गठन गरेर आर्थिक अनियमितता गरेको, ठेक्कापट्टा गर्दा आफ्नो मान्छेलाई पर्ने गरि अग्रिम कमिशन लिएर कागजी प्रकृया मिलाउने गरेको, बोलपत्रमा उल्लेखित गुणस्तरीय सामाग्री खरिद नगरि कमसल सामाग्री खरिद गरेको विद्यालय शिक्षक नियुक्ति सरुवाबढुवा र विद्यालय भवन र सडक निर्माण गर्दा आर्थिक अनियमितता गरेको रहेका छन्।

यसैगरि पाउनु पर्ने सम्बन्धित व्यक्तिले नपाई फजुल व्यक्तिलाई अनुदानको रकम उपलब्ध गराएर दुरुपयोेग गरिएको स्वास्थ्य चौकीहरुमा औषधी खरिद गर्दा रकम धेरै  औषधी थोरै गरी खरिद गरिएको कार्यक्रम नै नगरि विलभरपाई मिलाएर सामाजिक विकास कार्यक्रमको रकम अनियमित गरेको लगायतका मुद्दा अख्तियारको छानवीनमा रहेको क्षेत्रीय अख्तियार प्रमुख पौडेलले बताए।

'अहिले योजना सम्पन्न भयो रकम कुम्ल्याइयो सबैलाई मिलाइएको छ मुद्दा परेको छैन भनेर कोही व्यक्ति समुह बसेको भए भ्रममा नपर्न र मुद्दा परेमा पुरानो नौलो नभनी जुनसुकै बेला अख्तियारले छानवीन गरी कारवाहीको दायरामा ल्याउने छ,' प्रमुख पौडेलले भने।

विगतका वर्षहरुमा डोल्पाबाट अख्तियारमा सय बढिको हाराहारीमा मुद्दा पर्दा र कतिपय अवस्थामा राष्ट्रिय महत्वको सडकमा भएको आर्थिक अनियमिततामा अख्तियारले खासै चासो नदिएर अख्तियारले डोल्पालाई हेर्ने दृष्टिकोण किन फरक भन्ने नागरिकको जिज्ञासामा अख्तिायार प्रमुख पौडेलले सबै ठाउँ सबै मुद्दामा हेर्ने दृष्टिकोण एउटै रहेको बताउदै सयको हाराहारीमा परेका मुद्दा विभिन्न कोणबाट अनुसन्धान निरिक्षण अवलोकन गरि छानवीन गर्दा १८ ओटा मुद्दा कारवाहीको दायरामा ल्याउनै पर्ने रहेको र आवश्यक छानवीनको प्रकृया पुर्‍याई कारवाहीको लागि सिफारिस गरिने क्षेत्रीय प्रमुख पौडेलले बताए।

जिल्लास्थित सुरक्षा निकायका प्रमुख कार्यालय प्रमुख र कर्मचारी, स्थानीय तहका प्रमुख उपप्रमुख वडा अध्यक्ष नागरिक समाज पत्रकार राजनीतिक दलका प्रमुख समेतको सहभागितामा अख्तियारको काम कारवाही स्थानीय सरकारमा सुशासनको अवस्था सेपाप्रदायक कार्यालयको सुशासन पद्धती र जिल्लामा आर्थिक अनियमितताको अवस्थाका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरी राय संकलन  समेत गरिने अख्तियारले जनाएको छ।

जिल्लाबाट अख्तियारमा परेका मुद्दाका सम्बन्धमा स्थलगत अनुसन्धान अवलोकन निरीक्षण गरेर मंसिर ४ गते सुर्खेत फर्कने छ।


 

प्रकाशित: १ मंसिर २०७६ ०८:२५ आइतबार

अख्तियार मुद्दा छानवीन