समाज

चौकीबाट भाग्न खोज्दा सेनाका जवानको मृत्यु, चितवनका दुई प्रहरी नियन्त्रणमा

सांकेतिक तस्विर

चितवन– अस्थायी प्रहरी चौकी इच्छाकामना गाउँपालिका–३ फिस्लिङको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आइतवार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–५ घर भएका २८ वर्षीय राम कँडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनी नेपाली सेनाको वर्दबहादुर गण सिन्धुलीमा जवानका रुपमा कार्यरत रहेका थिए। 

कार्यालयका अनुसार चौकी भवनको बरण्डाबाट भाग्ने क्रममा हामफाल्दा उनी गम्भीर घाइते भएका थिए। घाइते कँडेलको उपचारका क्रमम आइतवार बिहान भरतपुर अस्पतालमा मृत्यु भएको हो।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार घटनाको अनुसन्धानका लागि दुईजना प्रहरीलाई नियन्त्रणमा लिइएको छ। कँडेल बिहान ७ः३० बजे बरण्डाबाट हामफालेका थिए। घर बिदामा आएको समयमा मादक पदार्थ सेवन गरी प्रहरीसँग भनाभन परेपछि उनलाई आजै बिहान प्रहरीले पक्राउ गरेको थियो।

इच्छाकामना मेला भरेर बिहान सबेरै फर्कने क्रममा महिलाहरुमाथि दुर्व्यवहार गर्न खोजेपछि सम्झाएका प्रहरीसँग भनाभन भएको थियो। प्रहरीका अनुसार अभद्र व्यवहार पछि उनलाई नियन्त्रणमा लिइएको हो। चौकीका एक प्रहरी शौच गर्न गएका समयमा अर्का प्रहरीलाई धकेलेर उनी हामफालेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: १ मंसिर २०७६ ०७:१३ आइतबार

मृत्यु सेना_जवान चितवन