समाज

ट्याङ्कर दुर्घटनाका घाइतेको मृत्यु

बनेपा- धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका भएको तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार मकवानपुर जिल्ला हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा शुक्रबार राति बाटोमा नै मृत्यु भएको हो। चालक लामाको शव धुलिखेल अस्पतालमा र सहचालक लामाको शव नर्भिक अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ।

धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना७ख ३७६० नंको डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो। ट्याङ्कर दुर्घटना हुँदा घटनास्थल नजीकै बिग्रेको बा२ख ६२५६ नंको यात्रुवाहक बसमा काम गर्ने उदयपुर आँपटार गाविस–१ का सहचालक सोभितबहादुर कटुवाल भने घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

कटुवाल दुर्घटना भएको ठाउँको डिलमा उभिएर बसेको अवस्थामा ट्याङ्करले सोहोरेर लगी घाइते भएको प्रहरीले जनाएको छ।

 

प्रकाशित: ३० कार्तिक २०७६ ०७:२३ शनिबार

ट्याङ्कर दुर्घटना मृत्यु