समाज

भारतीय अतिक्रमण विरुद्ध नेविसंघको विरोध जुलुस

खोटाङ – भारतले नेपाली भूमिलाई आफ्नो नक्साभित्र समावेश गरेको विरोधमा खोटाङमा नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।

भारतले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नक्साभित्र समावेश गरेर सिमाना अतिक्रमण गरेको भन्दै नेबि संघको दिक्तेल बहुमुखी क्याम्पस ईकाइ समितिले सोमबार प्रदर्शन गरेको हो ।

दिक्तेलको सरस्वती मावि अगाडि भारतविरुद्ध चर्का नाराबाजी गर्दै सुरु गरिएको विरोध प्रदर्शन पुरानो बेसक्याम्प पुगेर कोणसभामा परिणत भएको थियो ।

त्यस्तै सीमा अतिक्रमणविरुद्ध जिल्लाका साहित्यकर्मीले दिक्तेलको त्रिबेणी चोकमा सडकमै कविता वाचन गरेको तीन दिनपछि नेविसंघले विरोध जुलुस प्रदर्शन गरेको हो ।

उनीहरुले ‘सीमा मिच्न पाइदैन, हाम्रो माटो हाम्रो देश, प्राणभन्दा प्यारो छ’, भारतीय हस्तक्षेपको विरुद्ध जवाफ दिन घुँडा नटेक सरकार नेविसंघ लड्न तयार छ,’ लगायतका नारा लेखिएको प्ले कार्डसहित विरोध जुलुस प्रदर्शन गरेका हुन् ।

विरोध जुलुसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेविसंघका जिल्ला सह–सचिव किसन भुजेल, जिल्ला सह–सचिव एबं दिक्तेल रुपाकोट मझुवागढी नगर संयोजक मोतीचन्द्र राई र दिक्तेल बहुमुखी क्याम्पस ईकाइ समितिका सभापति सुमानवाबु आचार्यले भारतीय सीमा हस्तक्षेपको विरोध गरेका थिए ।

प्रकाशित: २५ कार्तिक २०७६ ०६:०१ सोमबार

कालापानी लिम्पियाधुरा लिपुलेक नेविसंघ