समाज

रुपज्योतिको ‘इन्कारी’ बयान

काठमाडौं – ठगी गरेको आरोपमा पक्राउ परेका ज्योति ग्रुपका रुपज्योति श्रेष्ठले आफ्नो र छोरीको गल्ती नभएको अदालतमा बताएका छन्। घर निर्माणका क्रममा ठगी गरेको आरोपमा गत बिहीबार पक्राउ परेका उनलाई अनुसन्धानका लागि म्याद थप्न आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। त्यस क्रममा उनले बिनागल्ती आफूलाई हिरासत राखेको बताएका हुन्। ‘मेरी छोरीले कसलाई ठगिन् र पक्राउ गरियो’, उनले प्रश्न गरे।

‘मेरो परिवारको इज्जतमाथि बलात्कार भइरहेको छ’, उनले भने, ‘मेरो ठगी गर्ने नियत छैन। कतै भागेर जाने नियत पनि छैन। मलाई हिरासतबाहिरै राखेर अनुसन्धान गर्न सकिन्छ।’ ठगिएको भनिएको रकम अदालतमा जम्मा गरिसकेको दाबी गर्दै उनले ठगेको भन्ने कुनै आधार नभएको बताए।

जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्यालले अनुसन्धानका लागि उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका छन्।

श्रेष्ठलाई अदालत लैजानुअघि आइतबार नै सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिइएको थियो। उनले आफूले ठगी नगरेको बयान दिएका थिए। आफूले ठगेको भनेको पैसा जम्मा गरिसकेको दाबी गर्दै उनले दुःख दिने नियतले मुद्दा दर्ता गर्न खोजिएको बताए। प्रतिवादी श्रेष्ठको बयान प्रमाणित गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जनाएको छ। प्रहरीले उनीमाथि ठगी मुद्दा दर्ता गर्ने तयारी गरेको छ।

श्रेष्ठ सिंगापुरबाट काठमाडौं आउँदै गर्दा विमानस्थलबाट पक्राउ परेका थिए। उनीसँगै छोरी सुरुचि श्रेष्ठ पनि पक्राउ परेकी थिइन्। उनकी छोरी अस्वस्थताका कारण अस्पतालमा छिन्।

श्रेष्ठमाथि ठगीको आरोप लगाई बिजेन्द्रकृण मल्लले गत साल मंसिरमा महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। २०७१ सालमा काठमाडौंको ल्यान्डमार्क डेभलपर्स प्रालि र मल्लबीच घर निर्माणसम्बन्धी सम्झौता भएको थियो। सम्झौताअनुसार काम नभई आफूलाई ठगेको दाबी गरी मल्लले उजुरी दिएका हुन्। ल्यान्डमार्क कम्पनीमा ज्योति ग्रुपको साझेदारी रहेकाले उनीविरुद्ध उजुरी परेको हो।

जाहेरी परेलगत्तै जिल्ला अदालत काठमाडौंले श्रेष्ठका नाममा पक्राउ पुर्जी जारी गर्ने अनुमति दिएको थियो। त्यसपछि श्रेष्ठ पक्राउ पुर्जी खारेजीको माग गर्दै मंसिरमै सर्वोच्च पुगेका थिए। त्यस समयमा उनलाई पक्राउ नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो। यही कात्तिक १८ मा प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाश ढुंगानाको संयुक्त इजलासले श्रेष्ठको रिट खारेज गरिदिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

यसैबीच उद्योग वाणिज्य महासंघलगायतका संस्थाले श्रेष्ठको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएका छन्। महासंघले आइतबार विज्ञप्ति प्रकाशित गरेर प्रतिष्ठित उद्योगपतिलाई हतारमा पक्राउ गरेको घटनाले निजी क्षेत्र हतोत्साही भएको जनाएको छ। उद्योगीमाथि हुने यस प्रकारको रबैयाले लगानीको वातावरणमा प्रतिकूल प्रभाव पर्न सक्ने महासंघले औंल्याएको छ।

प्रकाशित: २५ कार्तिक २०७६ ०१:३७ सोमबार

ठगी आरोप रुपज्योति_श्रेष्ठ