समाज

मेलाका लागि गाउँपालिकामा दुई दिन सार्वजनिक बिदा

धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी। तस्बिरः दमन/नागरिक

खोटाङ– खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ। हरिबोधनी एकाशीको अवसरमा जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिएको हो।

नेपालका महत्वपूर्ण सय वटा पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीमा आसपासका अधिकांश स्थानीय हरिबोधनी एकादशीका दिन मेला भर्न र दर्शन गर्न जाने भएकाले दुई गाउँपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ।

बराहपोखरीमा लाग्ने मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन दुबै गाउँपालिका र बराहपोखरी विकास समितिले स्वयंसेवक परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी परिचालन गरेको छ।

हरिबोधनी एकादशीको दिन बराहपोखरीमा लाग्ने ठूलो मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन्। सडक विस्तारसँगै केही वर्षयता बराहपोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन्।

समुन्द्री सतहदेखि करीब एक हजार ३ सय मिटर उचाईमा रहेको बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्तिका दिन मेला लाग्ने गरेको छ। बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा शतविज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गर्दछ।

चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसरकारकै दूर्लभ मानिएको रातो माछा समेत पाइन्छ। पर्यटनको प्रचुर सम्भावना भएपनि ओझेलमा रहेको बराहपोखरी सदरमुकाम दिक्तेलबाट डेढ दिनको पैदल दूरीमा रहेको छ।

 

प्रकाशित: २१ कार्तिक २०७६ ०७:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App