समाज

बराहपोखरी मेलाका दिन दुई गाउँपालिकामा सार्वजनिक विदा

धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरी । तस्बिरः दमन/नागरिक

खोटाङ- खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक विदा दिएको छ। हरिबोधनी एकाशीको अवसरमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा लाग्ने मेलाका लागि जन्तेढुंगा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले बिहिबार र शुक्रबार सार्वजनिक विदा दिएको हो।

नेपाल सरकारको सय वटा गन्तव्यको सूचीमा समावेश गरिएको बराहपोखरीमा आसपासका अधिकांश स्थानीय हरिबोधनी एकादशीका दिन मेला भर्न र दर्शन गर्न जाने भएकाले दुई गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिएको जनाएको छ। 
बराहपोखरीमा लाग्ने मेलालाई सभ्य, भव्य र व्यवस्थित बनाउन दुबै गाउँपालिका र बराहपोखरी विकास समितिले स्वयंसेवक परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यालयले पनि प्रहरी परिचालन गरेको छ।

हरिबोधनी एकादशीको दिन बराहपोखरीमा लाग्ने ठूलो मेला भर्न र शंखेश्वरी महादेवको दर्शन गर्न जिल्लाभित्र तथा वाहिरबाट हजारौँ दर्शनार्थी आउने गरेका छन्। सडक विस्तारसँगै केही वर्षयता बराहपोखरीमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्दै गएको स्थानीय बताउँछन्। समुन्द्री सतहदेखि करीब एक हजार ३०० मिटर उचाईमा रहेको बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्री, बालाचतुर्दशी र माघे संक्रान्तिका दिन मेला लाग्ने गरेको छ। बराहपोखरीमा विशेषगरी दिवङ्गत आफन्तको नाममा सतबीज छर्ने, धामीझाँक्री र दर्शन गर्नेको भीड लाग्ने गर्दछ। चारैतिर घना जङ्गलले घेरिएको ३३० मिटर लम्बाई र २१० मिटर चौडाई क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा सरकारकै दुर्लभ मानिएको रातो माछा समेत पाइन्छ।

हरिबोधनी एकादशीकाबेला बराहपोखरीमा ढोल ढ्यांग्रो बजाउँदै सयौंको संख्यामा धामी झाँक्रीको टोली आउने गरेका छन्। चिताएको पुग्ने विश्वासमा बराहपोखरीमा हरिबोधनी एकादशीका दिन दुई हजारभन्दा बढि जोडी परेवा उडाउने प्रचलन छ। बराहपोखरीमा मेला भर्न, घुमफिर गर्न, दर्शन गर्न र बराहपोखरीको दृश्यावलोकनकालागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।

मुहान नदेखिने बराहपोखरीको सुरुङबाट पानी निकास हुने गरेको बताइन्छ। पर्यटनको प्रचुर सम्भावना भएपनि ओझेलमा रहेको बराहपोखरी सदरमुकाम दिक्तेलबाट डेढ दिनको पैदल दूरीमा रहेको छ।

प्रकाशित: २१ कार्तिक २०७६ ०७:२५ बिहीबार

बराहपोखरी_मेला सार्वजनिक_विदा