समाज

साकेलामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

खोटाङ- आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि खोटाङको साकेला गाउँपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

तत्कालिन वडाध्यक्ष मणीकुमार राईको मृत्यु भएपछि रिक्त पदपुर्तीका लागि गर्न लागिएको उपनिर्वाचन सम्पन्न गराउनका लागि बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। साकेला गाउँपालिकाको केन्द्र मात्तिम मानेभञ्ज्याङमा जिल्ला न्यायाधिस मातृकाप्रसाद आचार्यले मूख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन्।

जिल्ला न्यायाधिस नै मूख्य निर्वाचन अधिकृत रहने कार्यालय स्थापनाका क्रममा प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्याय, जिल्ला निर्वाचन अधिकारी कोपिला राई, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको टोली मात्तिम मानेभञ्ज्याङ पुगेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारको मनोनयन दर्ता, मनोनयपत्र र उजुरी उपर जाँचबुझ गर्ने, उम्मेदवारको अन्तिम नामावली प्र्रकाशन गर्ने, चुनाव चिन्ह प्रदान गर्ने, मतदान गराउने र मत परिणाम घोषणा गर्नेलगायतका काम हुने जिल्ला निर्वाचन अधिकारी राईले बताईन्।

तत्कालिन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित राईको निमोनियका कारण गत बैशाख ९ गते मृत्यु भएपछि उपनिर्वाचनमार्फत अर्को वडाध्यक्ष चयन गर्न लागिएको हो। उपनिर्वाचनमा खिदिमाका १ हजार ३०३ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

आशन्न उपनिर्वाचनका लागि खिदिमामा नेकपाले स्वर्गीय मणीकुमारकी श्रीमती शिवकला राईलाई, नेपाली कांग्रेसले शुक्र तामाङलाई र समाजवादी पार्टीले रमेश राईलाई वडाध्यक्षको उम्मेद्वार उठाउने टुंगो लगाइसकेको छ। रिक्त वडाध्यक्ष पदमा आफ्नो उम्मेदवारलाई जिताउनका लागि राजनीतिक दललाई चुनावी चटारो सुरु भएको छ।

प्रकाशित: २० कार्तिक २०७६ ०७:५५ बुधबार

उपनिर्वाचन मुख्य_निर्वाचन_अधिकृत कार्यालय_स्थापना