समाज

प्रशासनको कमजोरी : व्यवसायीको मनोमानी, १० किमिको ५०० भाडा !

गोरखा – आरुघाट गाउँपालिकाको सोती हुँदै धार्चे गाउँपालिकाको केन्द्र माछाखोला सम्म करिब १० किलोमिटर सडकमा यात्रा गर्दा पाँच सय रुपैयाँ भाडा तिर्नुपर्छ।

नेपाली सेनाले खोलेको उक्त ट्रयाकमा सवारी धनीले सिन्डिकेट लगाएर प्रति किलोमिटर ५० रुपैयाँ भाडा असुल्ने गरेको गुनासो स्थानीयले गरेका छन्। स्थानीयले आफैँ धमाधम जिप खरिद गर्ने र मनलाग्दी भाडा लिएको बारे जानकार जिल्ला प्रशासन कार्यालय कारवाहीमा उदासिन देखिएको आरोप स्थानीयको छ।  गाउँपालिकाले पनि सर्वसाधारण यात्रुलाई परेको समस्या बारे सहजिकरण नगरेको गुनासो यात्रुहरुको छ।

त्यहाँ चल्ने सबै गाडी निजी प्रयोजनमा चल्ने अनुमती लिएका (रातो प्लेट) मात्र छन्। कालो प्लेटका, भाडाका, मनास्लु सर्किटमा पर्यटक छाड्न काठमाण्डौँ देखि आएका सवारीलाई भने सोती भन्दा माथि जान रोकिएको छ। नेपाली सेनाले हावाडाँडाबाट सिमित सवारीलाई मात्रै माछाखोला जान दिने गरेकाले स्थानीय सवारी धनीको मनोपोली बढेको हो।

त्यहाँबाट माछाखोला सम्म जान सेनाको अनुमति लिनुपर्छ। उक्त सडक भएर शुक्रवार यात्रा गर्दै गरेका छेकम्पारका दोर्जे लामाले भने ‘ट्रयाक खोल्दा अफ्ठ्यारो भएपनि अहिले यो सडक जिल्लाका अन्य कच्ची जस्तै सहज छ, भाडा भने यहाँ जती महँगो अन्यत्र पर्दैन।’ एक दुई ठाउँमा कहिलेकाँही पहिरोले अवरोध गरेपनि त्यसमाथि सडक निर्माणको काम भइरहेकाले हिउँदको बेला धेरै समय सोती –माछाखोला सडक आवरुद्ध हुँदैन।

    सोतीबाट माछाखोला तर्फ जाँदै गरेको जिप। महँगो भाडा लिएर चल्ने जिपहरुले छतमा पनि यात्रा गराउने गरेका छन्।

सदरमुकाम आसपास रातो प्लेटको सवारीलाई यात्रु बोक्न निषेश गरेको गोरखा प्रहरीले सोती माछाखोलामा छतमा यात्रु राखेर महँगो भाडा असुल्दै यात्रा गराउने सवारीलाई कारवाही गर्न सकेको छैन। हरेकजसो सवारीमा क्षमता भन्दा धेरै यात्रु चढाइन्छ। उत्तरी गोरखाको मुख्य नाका, मनास्लु पदमार्गको प्रवेशद्धार र भर्खरै सडक खुलेकाले अन्य बिकल्प छैन। ‘नचढौँ पनि बाध्यता छ, अनुगमन गर्ने, कारवाही गर्नेहरु कोही नभएर मनोमानी बढेको हुन सक्छ’ उक्त सडक भएर नियमित यात्रा गर्ने एक शिक्षकले भने ‘बाटो पनि सहज छ, एक घण्टामा माछाखोलाबाट सोती पुगिन्छ, भाडा चाँही ५०० ?’ भाडाका विषयमा यात्रु र सवारी चालकबिच सँधै बादविबाद चलिरहन्छ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा २०६५ सालमा प्रति किलोमिटर कच्ची सडकको भाडा चार रुपैयाँ ५० पैसाँ तोकिएको थियो। त्यसयता समायोजना नभएपनि अहिले अन्यत्र पाँच देखि ७ रुपैयाँ प्रतिकिलोमिटरमा सवारी चलिरहेको छ। प्रशासनले त्यसयता भाडा समायोजना गर्न नसक्दा व्यवसायीको मनोमानी बढ्दै गएको हो।

प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले उक्त विषयमा आफुले खोधखोज गर्ने र गाउँपालिकाहरु सँगको समन्वयमा अगाडि बढ्ने बताए। ‘जिल्लाका अन्य कच्ची रुटको पनि भाडा समायोजन गर्ने तयारी सहित व्यवशायीलाई भनेको छु’ प्रजिअले भने।

थोरै यात्रु भएका बेला अझै महँगो शुल्क लिएर रिर्जभ गर्न व्ब्यवशायीले बाध्य बनाउने गरेका छन्। धार्चे गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले यस अघि निर्धारण गरिएको भाडा कायम नभएको बताए। ‘हामीले सर्वपक्षिय बैठक राखेर छलफल गरेर सोती–माछाखोला दुई सय ५० तोकेका थियौँ, तर कार्यन्वयन गरेनन, हामीले कारवाही गर्न पनि सकेका छैनौँ।’ प्रशासन र प्रहरीले कारवाही गर्दा तोकिएको भाडा कार्यन्वयनमा सहज हुने उनले बताए।

प्रकाशित: १४ कार्तिक २०७६ ०३:१३ बिहीबार

आरुघाट_गाउँपालिका व्यवसायी भाडा