समाज

शिक्षकले चलाउँछन् वडा कर्यालय

मनाङ - मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लाग्दासमेत स्थानीय निकायमा कर्मचारी अभाव देखिएको छ ।

यिनै अभावलाई टार्नका लागि र जनताकोे काममा असर नपरोस् भनी गाउँपालिकाले शिक्षकलाई नै वडा कार्यालयमा खटाएको चामे गाउँपालिकाको अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए ।

उनका अनुसार गाउँपालिकामा कर्मचारीको अभाव भएको र विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी भएको हुँदा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो ।

जम्मा पाँच वटा वडा रहेको यस चामे गाउँपालिकामा सबै वडामा एक एक जना शिक्षकले कर्मचारीको काम गर्दै आएका छन् । प्रत्येक वडामा एक–एक वटा विद्यालय रहेकामा हाल गाउँपालिकाभरि जम्मा दुई वटा विद्यालय रहेको छ ।

विद्यार्थीविहीन विद्यालय राख्नुभन्दा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो । स्थानीय तहले कर्मचारीको अभाव झेल्दै आए पनि काम चलाउनका लागि शिक्षकलाई नै प्रयोगमा ल्याइएको अध्यक्ष घलेको भनाइ छ ।

“सरकारको मुख ताकेर बस्ने हो भने कर्यकाल सकिँदा पनि कर्मचारी पूरा हँुदैन । केन्द्रीय सरकार र प्रदेश सरकारको नीतिनियमको तालमेल नमिल्दा पनि स्थानीय तहलाई असर परेको छ”, अध्यक्ष घलेले भने ।

हाल शिक्षकले वडा कार्यालयमा रहेर पञ्जीकरणको काम गर्दै आएका गाउँपालिकाका कार्यकारी गङ्गाबहादुर थापाले बताए। कार्यकारी थापाका अनुसार शिक्षकहरुलाई कार्यालय सहयोगीका रूपमा राखे पनि उनीहरुले वडा सचिवको काम गर्दै आएका छन् ।

प्रकाशित: ११ कार्तिक २०७६ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App