समाज

देउसी भैली नाँचमा मादल, बाँसुरी,टयाम्को र झ्याली खै?

लोकवाजा विनै डिजेको गीतमा देउसी भैलो खेलिदै। तस्वीर: जनक केसी/नागरिक

जाजरकोट- हाहै भन मेरा भाइ हो  भैलीरे
                  हाहै राम्ररी भन  भैलीरे
            हाहै यो घरका घरबेटी बुवा भैलीरे
            हाहै यो घरकी  घरबेटी आमा  भैलीरे
तिहारमा खेलिने भैलीका यी शब्दहरु जाजरकोट सदरमुकाम खलंगा लगाएतका बजारहरुमा अहिले मौलिकरुपमा  सुन्न र देख्न पाइदैन। जाजरकोट सदरमुकाम खलंगाका प्रमुख बजारहरुमा अहिले दर्जनौं देउसी भैली समुहहरु आइरहेका छन्। ती भैली समुहसंग डिजे बाहेकका अन्य कुनै बाजाहरु देखिदैनन्।

खलंगाका बजारहरुमा लोक बाजाको तालमा कतै कसैले गाएको र नाचेको पनि पाइदैन। कानफुट्ने गरि चर्काे स्वरमा युट्वबाट डाउनलोड गरिएका देउसीभैलो गीतहरु बजाउदै त्यसमै निरस तालमा उफ्रिदै युवायुवती र बालबालिकाहरु कराइरहेका हुन्छन्।

जाजरकोट सदरमुकाम खलंगामा देखिएका कुनै पनि देउसी भैली समुहले मादल बाँसुरी लगाएतका लोक बाजाहरु बजाएको र मौलिक रुपमा देउसी भैलीगीतहरु गाएको पनि देखिदैनन्। न उनीहरु गीत गाएर देउसी भैली खेल्छन न उनीहरु देउसी भट्याउँछन्। कानका जाली फुट्ने गरि डिजेमा बज्ने गीतमा दुइचार मिनेट हल्लिएर रकम तोक्ने देउसी भैली समुहहरुको मात्र विगविगी भएपछि तिहारमा कुनै रौनक नदेखिएको स्थानीय कृष्णबहादुर थापाले बताए।

आज भोलि त डेग (डिजे)मा गीत बजाएर एक छिन नाँच्ने अनि पैसा तोकेर माग्छन्, यो त तिहारमा रमाइलो भन्दा विकृति हो,थापाले भने। पहिले पहिले देउसी भैलो खेल्ने भनेपछि एक जोर मादल, बाँसुरी, टयाम्को र झ्याली नभइ हुदैनथ्यो अनि यी बाजाहरु नभए गाउँघरमा देउसी भैली खेल्न कोहि पनि अघि सर्दैनथे उनले पुराना दिनका भैलीमा हुने रमाइलो सम्झदै भने।

तिहार आउनु अघि नै  गाउँका युवा, बालबालिका र जेष्ठ नागरिकहरु देउसी भैलीका लागि चाहिने यी स्थानीय लोक बाजाहरु जोहो गर्न लागि पर्ने गरेको अर्की स्थानीय सरीता केसीले बताइन्। पहिले त भैलीमा नाँच्नका लागि गतिलो  रिहर्सल गर्थे, नेपाली पोशाकको खोजी हुन्थ्यो, देउसी भैली भट्याउनेको खोजी हुन्थ्यो र पो तिहारको रौनक मज्जाको हुन्थ्यो उनले आफना पुराना दिनको सम्झना गर्दै भनिन्।

यस्तै जाजरकोटी इतिहास र सामाजिक जीवनका खोजकर्ता राजुराजा सिंहले पहिलेका तिहारहरुमा मादल मुरली लगाएतका लोकबाजाहरुको तालमा सुरिला लोकभाकाहरु गाउँदै देउसी भैली समुहरु घरघरमा आउँदाको माहोल पनि  बेग्लै हुने गरेको बताए।

मादलको घिनघिन ताल, बाँसुरी (मुरली)को मिठो धुन, टयाम्कोको कुटकुटे आवाज र झ्यालीको झ्याम झ्याम तालमा लोकगीत र लोक लयका भैलीगीतहरु मौलिक रुपमा घन्कीदा असली तिहार आएको जस्तो हुन्थ्यो, सिंहले भने। एक गाउँमा बजेको मादल, टयाम्को र मुरलीको धुनले अर्काे गाउँ बस्तीलाइ छुन्थ्यो, सिंहले तिहारको असली रौनक र रमाइलोका प्रसंगहरु खोल्दै भने। 

त्यो लोकबाजाको धुन सुन्दा पनि देउसी भैलीमा गएर आफै गीत गाउ कि नाँचु जस्तो हुन्थ्यो तर अहिले भने देउसी भैली खेल्न आए कता लुकुँ जस्तो हुन्छ उनले भने। न मादल चाहिन्छ, न मुरली न टयाम्को न झ्याली नै उनले नयाँ पुस्ताले आफनो लोक संस्कृति बिर्सेकोमा दुखेसो गर्दै भने।

तोकेरै पैसा माग्ने र थोरै पैसा दिए बटारिएर जाने मात्र होइन एउटा डिजेमा बज्ने भैली गीतमा ताल न बेतालसंग नाचेर खेलिने देउसी भैली आउँदा घरका मालिकहरु लुक्ने गरेको स्थानीय बुढापाकाहरु बताउँछन्।

कुनै सामाजिक कल्याणको उद्देश्य बिनै देउसी भैलोमा मोटो रकम तोकेर माग्ने र उठेको रकमलाइ भोज भतेरमा सक्ने चलनले पनि चाडपर्वका नाउँमा विकृति भित्रिएको र यसलाई स्थानीय प्रशासनले नियन्त्रण गर्नुपर्ने पत्रकार  बालकुमार शर्मा बताउँछन्।

मनोरन्जनका लागि देउसी भैली खेलिएको हो भने घरमा जति रकम दिइन्छ त्यो खुसी मनले लिनु पर्‍यो होइन भने  सामाजिक हितको कुन काम गर्नका लागि भैली खेलिएको हो त्यो प्रष्ट पार्नु पर्‍यो शर्माले भने। पत्रकार शर्माले त्यसै तोकेर रकम उठाउनु राम्रो नभएको बताए।

तिहार दसैंका बेला लोक सँस्कृतिमा आधारित नाँचगानहरु हुन छोडेपछि जिल्ला सदरमुकाम लगाएतका बस्तीहरुमा  मादल, बाँसुरी, टयाम्को र झ्याली लगाएतका बाजाहरुको प्रयोग पनि हराउदै गएको छ। पहिले गाउँका घरघरमा  मादल लगाएतका लोकबाजाहरु देख्न पाइन्थ्यो अहिले भने स्थानीय लोकबाजा राख्ने र प्रयोग गर्ने चलन शुन्य जस्तै भएको सरोकारवालाहरु बताउँछन्।

नयाँ युवाहरुलाई लोक सँस्कृति र बाजाहरुको प्रयोग र महत्वको पाठ सिकाउने घरपरिवार समाज र विद्यालयमा लोक सँस्कृति झल्कने उत्सव, कार्यक्रम र प्रतियोगिताहरु हुन छोडेपछि लोक भाका, लोक बाजा र चलन हराउदै गएको बुढापाकाहरुको गुनासो छ।

स्थानीय सरकार, विद्यालयहरु र नयाँ युवा पुस्ताले लोक भाका, लोकबाजा र सँस्कृतिको प्रयोग र संरक्षणमा ध्यान नदिए अबको १० वर्षमै किताब र फोटोमा यी कुराहरु खोज्नुपर्ने अवस्था आउने निश्चित छ। यी लोकबाजाहरु नाचगानका साधन मात्र होइनन् हाम्रो जीवन र संस्कृतिका पहिचान पनि हुन्। अरुको कला संस्कृति र चलनको सिको गर्नुभन्दा पहिले आफनै पहिचान र परिचयको रक्षा गर्न युवा पुस्ता नै अघि सर्न जरुरी छ।

यसका लागि अग्रज पुस्ताको साथ र सहयोग लिएर अघि बढेका युवाहरुलाई समाज र सरकार सबैले साथ दिनु पर्छ।   

प्रकाशित: ११ कार्तिक २०७६ ०६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App