समाज

भवन नबन्दा चिज जोगाउन मुस्किल

रसुवा – जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–६ पाङ्लेखर्कमा रहेको चिज उत्पादन केन्द्र अझै टहरामै सञ्चालन भइरहेको छ। त्यहाँका कर्मचारी खुला स्थानमा बस्छन्। चिज पनि खुला स्थानमै उत्पादन भइरहेको छ। चार वर्षअघिको भूकम्पले भत्किएका संरचना अझै मर्मत भइसकेका छैनन्। संरचनाको अभावले उत्पादन गरिएको चिज एक महिनासम्म पनि राख्न नसकिने त्यहाँका कर्मचारीहरू बताउँछन्। वार्षिक १० हजारभन्दा बढी चिज तथा मखन उत्पादन गर्ने केन्द्रको भवन निर्माण हुन नसक्दा दिनप्रतिदिन समस्या बढ्दै गएको छ।

केन्द्रका अनुसार चिज तथा मखनको उत्पादन बढ्दै गएको छ। तर उत्पादित वस्तु राख्न स्टोर छैन। स्टोरको अभावमा उत्पादन भएको चिज एक महिनाभन्दा बढी राख्न नसकिएको केन्द्र प्रमुख जितबहादुर जिरेलले बताए। ‘उत्पादन बढेको छ, राख्ने ठाउँ छैन,’ उनले भने, ‘राखेको चिज बाँदरले खाएर हैरान पार्छ।’

चार वर्षअघि गएको भूकम्पले भत्किएको भवन निर्माण नहुँदा उत्पादन भएको चिज तथा मखन जोगाउन कठिन भएको हो। गत वर्ष उत्पादन केन्द्र निर्माण लागि आठ लाख रुपैयाँ आएको थियो। तर त्यति रकममा भवन निर्माण गर्न नसकिने भन्दै कसैले ठेक्का हाल्न नमानेपछि रकम फिर्ता भयो। भवन निर्माणका लागि दुग्ध विकास संस्थानमा कुरा भइरहेको उनको भनाइ छ।

चिज तथा मखन उत्पादन बढ्यो
भवन तथा स्टोरको अभाव झेलिरहेको उत्पादन केन्द्रमा उत्पादन भने बढ्दै गएको छ। भूकम्पका कारण दुई वर्षसम्म उत्पादनमा कमी आएको थियो। तर अहिले पुरानै अवस्थामा फर्किएको छ। यो उत्पादन केन्द्रले वार्षिक १० हजार उत्पादन गर्न सक्ने भए पनि पछिल्लो समय उत्पादन बढ्दै गएको केन्द्र प्रमुख जिरेलले बताए। केन्द्रले यो वर्ष ११ हजार ३ सय ८० केजी चिज र ३ हजार ९ सय ५३ केजी मखन उत्पादन गरेको छ।

असोज मसान्तमै यो वर्षको उत्पादन बन्द भइसकेको छ। केन्द्रका अनुसार यो वर्ष ८७ लाख ५० हजार ५ सय ६५ रुपयाँ मूल्यबराबरको चिज तथा मखन उत्पादन भएको छ। गत वर्ष ६३ लाख २८ हजार २ सय ७७ रुपयाँ मूल्यबराबरको चिज तथा मखन उत्पादन गरेको थियो। गत वर्ष ११ हजार ६० केजी चिज र ३ हजार ८ सय ५८ केजी मख्खन उत्पादन गरेको केन्द्रले जनाएको छ। उत्पादन केन्द्रले तीनवटा शाखामार्फत दूध संकलन गर्ने गरेको छ। ३८ वटा गोठबाट दूध संकलन भएको केन्द्रले जनाएको छ।

‘पहिलो कृषकले आफैंले छुर्पी उत्पादन गर्ने कारण दूध कम संकलन हुन्थ्यो,’ उनले भने, ‘अहिले कृषकले सबै दूध केन्द्रलाई दिन थालेपछि उत्पादन बढेको हो।’ स्थानीय बजारमा छुर्पीको माग थोरै छ।

पछिल्लो समय केन्द्रले दूधको मूल्य बढाएको र चौंरी पाल्ने कृषक पनि बढेका कारण उत्पादन बढ्दै गएको उनको भनाइ छ। वैशाखदेखि असोज मसान्तसम्म केन्द्रले उत्पादन गर्ने गरेको छ।

६ महिना भने केन्द्रमा उत्पादन हुँदैन। चिसो समयमा दूध कम उत्पादन हुने र नजम्ने समस्या कारण ६ महिना उत्पादन बन्द हुने गरेको उनले बताए। उत्पादन बन्द भएको समयमा दाउरा संकलन गर्ने काम हुन्छ। उत्पादन सुरु भएपछि अरू काम गर्ने फुर्सद हुँदैन। ६ महिनाका लागि करारमा कर्मचारी राख्ने गरिएको छ। तर पछिल्लो समय ६ महिनाका लागि मात्र काम गर्न कामदार भेटिन छाडेको केन्द्रले जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०७६ ०१:३१ शनिबार

पाङ्लेखर्क गोसाइँकुण्ड_गाउँपालिका भवन