समाज

पाँच सय रोपनीमा लगाइएको गाँजाखेती नष्ट

काठमाडौं- स्थानीय प्रशासनसँगको सहकार्यमा ललितपुरको विभिन्न क्षेत्रमा लगाइएको गाँजाखेती प्रहरीले आज नष्ट गरेको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकामा पर्ने लाकुरीभञ्याङ र चापाखर्कको झण्डै ५०० रोपनी क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए।

उनका अनुसार दुई सयभन्दा बढी प्रहरी परिचालन गरेर गाँजाखेती फाँडी जलाएर नष्ट गरिएको हो। गाउँमा पुग्दा पुरुषहरु कोही पनि नभेटिएको जानकारी दिँदै उनले सो क्षेत्रमा व्यावसायिक रुपमा गाँजाखेती गरेको पाइएको बताए।

बँदेलले मकै खाने गरेकाले विकल्पको रुपमा गाँजाखेती गरेको प्रतिक्रिया महिलाले दिएका बताइएको छ। कानूनले गाँजाखेतीलाई अवैध मानेको छ। मुलुकका विभिन्न जिल्लाका पहाडी क्षेत्रमा ठूलो मात्रामा गाँजाखेती हुने गरेको छ।

प्रहरीले हरेक वर्ष गाँजाखेती फँडानी गर्ने गरिएको भए पनि खेती लगाउने क्रम भने रोकिएको छैन। उनीहरुलाई विकल्प दिनुपर्ने आवज वर्षेनी उठ्दै आएको पनि छ।

प्रकाशित: ६ कार्तिक २०७६ ११:४२ बुधबार

गाँजाखेती नष्ट