समाज

च्याउ खेतीमा व्यस्त वडा कार्यालय

पराले च्याउ खेतिमा व्यस्त जनप्रतिनिधिहरु । फोटो सौजन्यः लोखिम वडा कार्यालय

सोलुखुम्बु– ग्रामिण भेगका उपभोक्ता अधिकार सुनिश्चित गर्न पटक–पटक होटल पसलको अनुगमन गर्दै आएको सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–९ लोखिमले वडा कार्यालयको नेतृत्वमा च्याउ खेती गरेपछि पुनःचर्चा शुरु भएको छ। स्थानीय सम्भावनालाई दर्शाएर यूवाहरुलाई गोलबन्दगर्ने र वडा कार्यालयको आन्तरिक आम्दानी वृद्धि गर्ने उद्देश्यले च्याउ खेतिको शुरुवात गरेको वडाअध्यक्ष भुपालसिं राईले बताए।

पहिलो चरणमा २५ सय केजी च्याउ उत्पादन गर्ने र वडाका हरेक घरधुरीलाई बिक्रि गर्ने गरि खेति शुरु गरिएको जनाईएको छ। वडाअध्यक्ष राईले भने ‘एउटा त वडाको आन्तरिक आम्दानी वृद्धि गर्ने हो, अर्को स्थानीय सम्भावना दर्शाएर यूवाहरुलाई व्यवसायिक कृषिमा आकर्षित गर्ने उद्देश्य हो।’ यो अभियानले निर्वाहमूखी परम्परागत कृषि खेती प्रणालीलाई विस्तापित गर्नका लागि सहयोग पुग्ने वडाध्यक्ष राईको भनाई छ।

कृषि प्राविधिक नियुक्त गरि शुरु गरिएको च्याउ खेतीको बजार नै वडाभित्रका घरधुरी रहेको वडा कार्यालयले जनाएको छ। उत्पादन शुरु हुनासाथ च्याउ हरेकको घरघरमा पु¥याउने र विक्रि गर्ने योजना बनाईएको छ। चालु आर्थिक वर्षमा मात्र वडा कार्यालयले विभिन्न प्रयोजनका लागि २० रोपनी जग्गा भाडामा लिएको छ। उक्त जग्गामा लोखिम हेल्थपार्क नाम दिएर कृषिउद्यम, फोहोर व्यवस्थापन स्थललगायतका संरचना तयार पार्ने वडाध्यक्ष राईले जानकारी दिए। ‘प्लाष्टिक र सिसाजन्य वस्तु संकलन गरेर पुनःप्रयोगका लागि सम्बन्धित स्थानमा पठाउँछौ। आफ्नो गाउँ सफा राख्नुपर्छ भन्नेमा पुर्ण प्रतिबद्ध छौ’ उनले भने।

‘हामी आफ्नो लागी आफैँ गर्नेछौ’ भन्ने नारासहित अघि बढेको लोखिम वडा कार्यालयले वडालाई सम्बृद्ध बनाउनका लागि युवायुवतीहरुलाई गोलबन्द गर्ने अभियान जुटेको छ। गोरेटो बाटो सफाईमा जुटेको लोखिम वडाले गाउँको अलवा काठमाडौंस्थित लोखिम हाउसबाट वडा कार्यालयको सेवा प्रदान गर्दै आएको छ।

प्रकाशित: ४ कार्तिक २०७६ ०९:०७ सोमबार

च्याउ_खेती