समाज

विश्व पर्यटन दिवस : कार्यालय सहयोगीका भरमा सूचना केन्द्र

भीमदत्तनगर- सन् २०२० लाई नेपाल भ्रमण वर्ष बनाउने घोषणा गरिएका बेला सुदूरपश्चिम प्रदेशकै मुख्य नाकामा रहेको कञ्चनपुरको गड्डाचौकीस्थित नेपाल पर्यटन बोर्डको कार्यालय विगत पाँच वर्षदेखि सहयोगीका भरमा सञ्चालन हुँदै आएको छ।     
     
शुक्रबार ४०औँ विश्व पर्यटन दिवस मनाइरहँदा गड्डाचौकीमा पनि पर्यटन बोर्ड गड्डाचौकी शाखामा कार्यरत कार्यालय सहायक थानेश्वर लेखकले पनि दिवसका अवसरमा विदेशी नागरिकलाई बाजागाजासहित भित्र्याए। गड्डाचौकी नाकामा डेढ दशकअघि स्थापना भएको पर्यटक सूचना केन्द्र पाँच वर्षदेखि कार्यालय सहायक लेखकको घरमा छ।     
     
पर्यटन भ्रमण वर्षको चर्चा चलिरहँदा यहाँको प्रमुख नाकाको पर्यटकलाई गन्तव्यका बारेमा सूचना दिने कार्यालयमा कर्मचारी नहुँदा निकै सास्ती खेप्नुपरेको लेखकको भनाइ छ। उनले पर्यटन बोर्डमा लामो समयदेखि कर्मचारी पठाउन माग गरे पनि सुनुवाइ नभएको बताए।     
     
उता गड्डाचौकीस्थित अध्यागमन कार्यालयले दिएको जानकारी अनुसार वार्षिक तीन हजारको हाराहारीमा यहाँबाट तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिन्छन्। भारतका विभिन्न क्षेत्र घुमेर यहाँबाट अमेरिका, फ्रान्स, जर्मनी, बेलायत लगायत देशका नागरिकको बढी सङ्ख्यामा आउँछन्।     

पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा यहाँबाट काठमाडौँ र पोखरा घुम्न आएकी इरानी नागरिक फजीलट फजेल सेफरेडलाई गड्डाचौकीमा सम्मान गरिएको हो।     
     
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकाश रावलले इरानी नागरिक सेफरेडलाई नेपाली ढाकाटोपी र विजयसालको भाँडा उपहार दिएर स्वागत गरे। कार्यक्रममा बोल्दै सुदूरपश्चिममा पर्यटनको भरिपूर्ण सम्भावना रहेको बताए।

'प्रदेश सरकार पर्यटकीय करिडोर बनाउनमा लागिरहेको छ', राज्यमन्त्री रावलले भने, 'सबै पर्यटकीय क्षेत्रको पहिचान गरी विकास गर्ने काम गर्ने तयारी हुँदैछ।' रासस

प्रकाशित: १० आश्विन २०७६ ११:४९ शुक्रबार

विश्व पर्यटन दिवस