समाज

वैदेशिक रोजगार व्यवसायी निर्वाचनः लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा

काठमाडाैं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि लोकतान्त्रिक समूहको उम्मेदवारी घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट अध्यक्षमा विष्णुप्रसाद गैरेको उम्मेदवारी घोषणा गरिएको हो। 

त्यसैगरी सो समूहको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङको उम्मेदवारी घोषणा गरिएको छ।

यसैगरी सदस्यमा दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलको उम्मेदवारी घोषणा गरिएको छ।

अध्यक्षका प्रत्याशी गैरेले व्यवसायलाई मर्यादित, व्यवस्थित र नियमित गर्ने तथा पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहित र सुरक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले श्रम सम्झौता नभएका मुलुकसँग तत्काल सम्झौताका लागि नेपाल सरकारसँग पहल गर्ने र नयाँ तथा आकर्षक गन्तव्य मुलुकको पहिचान गरी श्रम सम्झौता गरेरमात्र कामदार पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे।

घोषणा सभामा फोरमका पूर्वअध्यक्ष प्रज्ञान न्यौपानेले वैदेशिक रोजगार व्यवसायमाथि चौतर्फी रुपमा आक्रमण भइरहेको उल्लेख गर्दै व्यवसायी फुटेर होइन एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए।

संघको २७ औँ साधारणसभा यही असोज ७ गते राजधानीमा हुँदैछ। नेपाली काँग्रेस  र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट रहेका व्यवसायीले दुई समूह खडा गरेर निर्वाचनमा होमिँदै छन्। प्रगतिशील समूहले शनिबार उम्मेद्वारी घोषणा गर्ने जनाएको छ। रासस

प्रकाशित: ३ आश्विन २०७६ १३:४४ शुक्रबार

नेपाल_वैदेशिक_रोजगार_व्यवसायी_संघ चुनाव लोकतान्त्रिक_समूह