समाज

जनआन्दोलनका घाइते मुकेश कायस्थ सम्मानित

काभ्रेपलाचोक– जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई संविधान दिवसको अवसर पारेर आज  ‘संविधान दिवस मूल समारोह समिति काभ्रेपलाञ्चोक’ले सम्मान गरेको छ।

समारोह समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले संयुक्तरूपमा मुुकेशलाई सम्मानपत्र प्रदान गरेका हुन्।

‘विसं २०६२–६३ को आन्दोलनको उपलब्धिस्वरुप देशमा गणतन्त्र स्थापना भई देशमा नयाँ संविधान जारी गरी संविधानअनुसार स्थानीय तहको निर्वाचन र तीन नै तहका निर्वाचनसमेत सम्पन्न भई मुलुकले गति लिइसकेको अवस्थामा सोही आन्दोलनमा परी सख्त घाइते हुनुभएका तपाईं मुकेश कायस्थलाई यहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा संविधान दिवस जिल्ला समारोहमार्फत सम्मान गरिएको छ’, सम्मानपत्रमा उल्लेख छ।

मुकेशका पिता कृष्णमानका अनुसार पछिल्लो १५ दिन देखि स्वाशप्रस्वाशमा समस्या देखिएको छ। चिकित्सकहरुले सल्लाह अनुसार मुकेशलाई घरमा नै आराम गराइएको छ। 

जनआन्दोलनको क्रममा विसं २०६२ चैत २७ गते बनेपामा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागि घाइते भएको मुकेश अझैसम्म पनि अचेत अवस्थामा छन्। रासस

प्रकाशित: ३ आश्विन २०७६ ०९:१८ शुक्रबार

मुकेश_कायस्थ जनआन्दोलन संविधान_दिवस अचेत