समाज

छोराको आसमा १२ सन्तान

छोराको पर्खाइमा छोरी जन्माएका कटेल गाउँका आमाहरू। तस्बिर:सौजन्य नवराज महतारा

गणेश विशु
वीरेन्द्रनगर - ताँजकोट गाउँपालिका–२, कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन्। ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन्। सात छोरीको जन्मदिएकी उनले ज्यान जोखिममा पारेर पाँच पटक गर्भपतन गरिन्। जसको असरले उनको ज्यान अहिले कमजोर बनेको छ। सानै उमेरमा धेरै सन्तान जन्माउनु उनको रहर होइन, छोरा पाउनुपर्छ भन्ने पति र परिवारको दबाबले इच्छाविपरीत उनी बच्चा जन्माउन बाध्य भइन्।

अहिले पनि उनी गर्भवती छिन्। उनकै गाउँकी दाना जैसीले पनि आठ सन्तान जन्माइन्। छोरा पाउने आसमा उनले ३९ वर्षको उमेरसम्ममा आठ सन्तान जन्माएकी हुन्। धेरै सन्तान जन्माउँदा रगत बग्ने, ज्यान दुख्ने, खान मन नलाग्नेजस्ता समस्याले उनी पीडित छिन्। छोराको पखाइमा ज्यानको बाजी थापेर सन्तान जन्माउने शर्मिला र दाना कटेल गाउँका प्रतिनिधि आमा मात्र हुन्। आफ्नो वंश विस्तार हुने र मरेपछि दागबत्ती दिनका लागि छोरा नै हुनुपर्छ भन्ने परम्पराबाट ग्रसित पति, परिवार र समाजको दबाबमा हिमाली जिल्ला हुम्लाको कटेल गाउँका आमाहरू अहिले पनि इच्छाविपरीत छोरी जन्माउन बाध्य छन्।

सुरुदेखि नै शरीर र पेट दुख्ने समस्याबाट ग्रसित ५१ वर्षीया बैसागी जैसीलाई दुई सन्तानभन्दा बढी जन्माउन मन थिएन। तर पाँचवटा लगातार छोरी मात्रै जन्मेपछि छोराकै पर्खाइमा ९ सन्तान जन्माउनुप¥यो। हरेक पटक सुत्केरी हुँदा आफू कम्तीमा दुईपटक मृत्युको मुखबाट बचेको बताएकी बैसागीले गहभरि आँसु पार्दै भनिन्, ‘हामी महिला त लोग्न्या (पति) को इच्छाअनुसार सन्तान जन्माउन्याँ (जन्माउने) मेसिन मात्रै भएछौं।’ छैटौं सन्तानसम्म छोरी मात्रै जन्मेपछि सुत्केरीको अवस्थामा पूरा पेट खाना खानसमेत नपाएको विगत सम्झँदै बैसागीले बीचमा एक सन्तान खेर गएपछि आठांै सन्तानका रूपमा जेठो छोरालाई जन्म दिइन्।

‘एक छोरा पुतालो क्या, एक आँखा अँखालो (दृष्टिवाल) क्या, छोरी अर्काको घर जाने एक छोराले मलाई (पतिलाई), अर्को छोराले तँलाई (पत्नीलाई) बुढेसकालको सहारा देला भनेर लोक्ने (पति) ले भनेपछि ९ पटक अर्को छोरा जन्माएँ,’ उनले भनिन्, ‘छोरी पाउँदा एक छाक राम्रो खान नदिने लौग्न्याले छोरा जन्माउँदा एक लिटर गाईको घ्यू दिए। छोराको मात्र गणना गर्ने समाजले महिलाको स्वास्थ्य बिग्रेकोभन्दा छोरा नजन्माएकोमा बढी चिन्ता गर्ने रहेछ,’ उनले भनिन्।

छोरी जन्मँदा ‘गाउँका सबैले फलानाकी पत्नीले त छोरा नपाउन्या रैछ’ भनेर जताततै कुरा काट्न थालेपछि जीवनको सहारा भनेका पतिबाट समेत कम माया पाएको अनुभव ३५ वर्षीया शर्मिलाले गरेकी छिन्। १७ वर्षमा आफू विवाह गरेर पतिको घर आएको बताएकी उनले भनिन्, ‘सुरुमा सुत्केरी हुँदा माया गर्ने पतिले पछि पाँचपटक सुत्केरी हुँदा वास्ता गरेनन्। सबै छोरी जन्मन थालेपछि त तेस्रो पटकदेखि ११ औं पटकसम्म सुत्केरी हुँदा आप्mनो शरीरको रगत सकिएको जस्तो भयो,’ उनले भनिन्, ‘सुत्केरीको बेला राम्रोसँग खाने नुन पनि पाइएन।’ व्यावहारिक रूपमा छोरा र छोरी एउटै हो भन्ने कुरा स्थापित नभएसम्म महिलाले पाउने दुःख नहट्ने उनको भनाइ छ।

जुन काममा पनि छोराको मात्रै मान्यता दिने समाजमा महिलाले धेरै ठाउँमा मर्नुपरेको बताएकी ताँजकोट–१ भैंसाबाजकी नन्दकला खड्का जब छोरीलाई पनि छोराले जस्तै हलो जोत्ने, आमाबाको मृत्युमा दागबत्ती दिनेदेखि घरबाहिरको कामको सबै जिम्मा दिइँदैन, तबसम्म छोराप्रतिको मोह कम नहुने बताउँछिन्।

प्रकाशित: २ आश्विन २०७६ ०१:३६ बिहीबार

सन्तान छोराको_आस