समाज

खन्दै, पुर्दै, फेरि खन्दै

काठमाडौं - सडक डिभिजन कार्यालय काठमाडौं र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ढलको पाइप राख्न गत असारमा चाबहिल–चुच्चेपाटी सडक खने। खनेको सडक मर्मत नगरी छाडेपछि एक महिनासम्म सर्वसाधारणले सास्ती भोगे। एक महिनापछि सडक खनेर पुरेलगत्तै फेरि ढल मर्मत गर्न भन्दै सडक खनियो। खनेको सडक नपुर्दा पानीमा हिलो र घाममा धुलोले सर्वसाधारण आक्रान्त छन्।

ढलको मंगाल पनि खुलै छाडिएको छ। चाबहिलका प्रकाश ढकालका अनुसार चाबहिल–चुच्चेपाटी सडक काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, सडक डिभिजन कार्यालय काठमाडौं, उपत्यका सडक विस्तार आयोजना, केयुकेएललगायत निकायले ढल र खानेपानीको पाइप राख्ने नाममा बारम्बार खन्दै, पुर्दै आएका छन्। एक वर्षमा चारपटकसम्म सडक खन्ने गरिएको छ। उनले भने, ‘सडक खनेर भत्काउने र पुर्ने काम २०७२ सालबाटै हुँदै आएको छ। दुई महिनाअघि पनि ढलको पाइप राख्न भनेर सडक खनियो। खनेको केही समयपछि पुरियो। फेरि ढल मर्मतका नाममा खनिएको सडक पुरिएको छैन। विकासका नाममा अनावश्यक खर्चसँगै सर्वसाधारणले दुःख भोग्नुपरेको छ।’

विकासका नाममा बारम्बार सडक खन्ने, पुर्ने र फेरि खन्ने गर्दा अनावश्यक खर्चसँगै सर्वसाधारणले दुःख भोग्नुपरेको छ।

सडक खन्दै, पुर्दै गरे पनि अहिलेसम्म कालोपत्रे भएको छैन। उनले बिगारेको सडक तत्काल पिच गर्नुपर्ने बताए। ‘सडक बारम्बार खन्ने र पुर्ने मात्रै भएको छ,’ ढकालले भने, ‘तर सडक पिच हुन सकेको छैन। पानी परेका बेला पानी जमेर पोखरी बन्छ। सर्वसाधारण ओहोरदोहोर गर्न सक्दैनन्।’

काठमाडौं उपत्यकाका सडकको दुरवस्थामा सुधार नआउँदा मारमा सहरवासी परेका छन्। अहिले पनि कपनको साततले, चाबहिलको सरस्वती नगर, बबरमहललगायत स्थानका सडक खन्ने, पुर्ने, फेरि खन्ने काममात्र भइरहेको छ। सरस्वती नगरको सडक एक वर्ष पहिलेमात्रै पिच भएको थियो। तर ढल हाल्ने नाममा अहिले उक्त सडक खनेर लथालिंग बनाइएको छ।

बारम्बार सडक खन्दै, पुर्दै गर्दा सास्ती भएको सर्वसाधारणको गुनासो छ। सरस्वती नगरका बिर्खबहादुर श्रेष्ठले सडक खन्दै, पुर्दै गर्दा दिनचर्या नै बिथोलिने गरेको बताए। उनले भने, ‘पाँच दिनदेखि यहाँको सडक खन्दै, पुर्दै गरेका छन्। पहिले पनि खनेका थिए। राति पनि सडक खन्ने, पुर्ने काम हुन्छ। भत्काएको सडक बनाउन निकै समय लगाइन्छ। हामीले सास्ती खेप्नुपर्छ।’ सरकारी निकायबीच समन्वय नहुँदा पटकपटक सडक खन्ने र पुर्ने काम हुँदै आएको सुनाए। सडक खनेर अलपत्र छाड्दा सवारी जाम र दुर्घटना बढेको छ। ‘मेलम्ची खानेपानी आयोजनाले खानेपानी पाइप राख्न सडक खनेको छ। अर्को निकायले ढलको पाइप राख्न भनेर खन्छ। अर्कोले सडक बनाउने भनेर खन्छ। पूर्णता कसैलै दिँदैनन्। यो क्रम चलिरहँदा सर्वसाधारण मारमा छन्,’ उनले भने, ‘सबै निकायबीच समन्वय नगरी काम गर्दा सर्वसाधारणले सास्तीमात्र पाएका छैनन् राज्यको पैसा पनि सक्ने काम भएको छ।’

यसैगरी ललितपुरको लगनखेल–सातदोबाटा, कुमारीपाटी–गोदावरी, चापागाउँ–सातदोबाटो सडकमा पनि अहिले खन्ने र पुर्ने होड चलेको छ। सडक विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, सडक डिभिजन कार्यालय काठमाडौं र केयुकेयलबीच समन्वय नभएकै कारण सडक खन्ने, पुर्ने र फेरि खन्ने कामले निरन्तरता पाएको हो।

सडक विभागका अनुसार अहिले नयाँ र पुरानोबानेश्वरमा ढलको पाइप राख्न सडक खनिएको छ। विभागका प्रवक्ता शिवहरि सापकोटाले आवश्यक भएरै सडक खन्नुपरेको बताए। ‘सडक खन्नेमा सबै निकायसगँ समन्वय हुन्छ,’ उनले भने, ‘तर, आवश्यक परेकाले बारम्बार सडक खन्ने र पुर्ने काम भएको हो। खानेपानी पाइप हाल्न केयुकेयलले सडक खन्छ, अर्काले ढल राख्न खन्छ। विभिन्न निकायले सडक खनेर छाडेका हुन्छन। हामीले पिच गर्नुपर्ने हुन्छ।’ नियमित खाल्डाखुल्डी पनि पुर्दै आएको उनले बताए। उनले भने, ‘सडक खन्दा सडक विभागसगँ स्वीकृति लिनुपर्छ। कुनै निकायले स्वीकृति लिएर त कुनैले स्वीकृति नलिइ खन्ने गरेका छन्। स्वीकृति नलिईकन खन्ने कारबाही हुन्छ।’

बबरमहलमा पनि सडक खनेर अलपत्र छाडिएको छ। खनेको सडक पिच नगर्दा पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर समस्या भएको छ। ‘बबरमहलस्थित सडकको फुटपाथ भत्काएर लथालिंग छाडिएको छ,’ बबरमहलमा भेटिएका तीनकुनेका विशाल कार्कीले भने, ‘भत्काएर खानेपानी र ढलका पाइप हालेपछि पिच गर्नुपथ्र्यो। खनेको ठाउँ पिच नहुँदा ओहोरदोहोर गर्न पनि असहज भएको छ।’ उनले उपत्यकामासडक खन्ने, पुर्ने र फेरि खन्ने कामले मात्र निरन्तरता पाएको बताए।

शान्तिनगरस्थित ओमकारेश्वर मन्दिरपछाडि भत्काएको सडक पिच गरिएको छैन। स्थानीयले विरोध गरेपछि माटो हालिए पनि पिच गर्नेतर्फ पहल नहुँदा स्थानी मारमा छन्। भक्तपुरको बालकोट, चारदोबाटो सडक पनि खन्दै, पुर्दै, खन्दै गरिएकाले अस्तव्यस्त छ।

आवश्यकता भएर नै सडक खन्नुपरेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कैलाश श्रेष्ठ बताउँछन्। उनका अनुसार अहिले सडक डिभिजन कार्यालयले कपन साततलेमा ढल राख्न सडक खनेको छ। उनले भने, ‘समन्वय नभएको होइन। आवश्यकताले सडक खन्नुपरेकोे हो। ढलको काम पनि गरिँदै आएको छ। सडक खन्नुपर्ने हाम्रो बाध्यता हो।’

उनका अनुसार सडक खन्नमात्रै होइन बनाउने काम पनि हुँदै आएको छ। नयाँ वानेश्वरस्थित सहकारी विभागअघिको सडक, बनस्थली सडक निर्माण सम्पन्न भएको छ। सितापाइला–रामकोट, कपनको साततले, आनीगुम्बा र गौशाला–चाबहिल–चुच्चेपाटी सडक बन्दै गरेको उनले बताए। ‘ढलको समस्या देखिएपछि फेरि सडक खनेर बनाउनुपर्ने हुन्छ,’ उनले भने। उनका अनुसार खानेपानीका पाइप बिग्रिएपछि पनि नयाँ फेर्न सडक खन्नुपर्छ।

काठमाडौं महानगरपालिकाअन्तर्गतको सहरी पूर्वाधार विकास विभागका प्रमुख उत्तर रेग्मीले एकीकृत योजना नहुँदा सडक भत्काउने र बनाउने काम पटकपटक गर्नपरेको बताउँछन्। उनले भने, ‘समन्वय हुन्छ तर एकीकृत योजना नहुँदा बारम्बार सडक खन्नुपरेको छ। एकीकृत योजना बनाएर यस्तो समस्याबाट मुक्ति मिल्छ। राज्यको खर्च पनि कम हुन्छ।’ उनका अनुसार सडक विभाग, केयुकेयललगायत निकायले एकीकृत योजना बनाए सडक बारम्बार खन्ने र पुर्ने कामको पुनरावृत्ति हुँदैन। सडक बनाएपछि दुई वर्षसम्म कुनै निकायले पनि खन्न÷भत्काउन नमिल्ने नीति बनाउनुपर्ने उनले बताए।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेस खत्रीले भने वर्षाका कारणले अहिले कुनै पनि ठाउँमा सडक नखनेको दाबी गरे। ‘पानी परेकाले अहिले कुनै सडक खनेका छैनौं,’ उनले भने, ‘हामीले खन्दा सडक विभागसँग स्वीकृति लिन्छौं। एकीकृत योजना नभएकाले एक निकायले सडक खन्ने, अर्काले पुर्ने र फेरि खन्ने काम भएको छ।’ उनका अनुसार पहिले खानेपानी पाइप राख्न पुतलीसडक, पानीपोखरी, नयाँबानेश्वरलगायत क्षेत्रमा सडक खनियो र फेरि ढलको पाइप राख्न पनि कतिपय स्थानमा खन्नुप-यो।

चाबहिल–साँखु, त्रिपुरेश्वर–कलंकी–नागढुंगा, सितापाइला–रामकोट, टोखा, जोरपाटी–सुन्दरीजल, कपन–साततले– आनीगुम्बा सडक निर्माण सम्पन्न गर्ने म्याद सकिए पनि काम पूरा भएको छैन। कपन–आकाशेधारा–राममन्दिर, कपन–आकाशेधारा–बालुवाखानी बसपार्क सडक निर्माणको ठेक्का म्याद सकिँदा पनि काम भएको छैन।
कसले कस्तो सडक बनाउने

सडक विभागले ८ मिटर चौडा सडक निर्माण गर्छ। विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार ८ मिटर चौडाभन्दा सानो सडक उपत्यकामा महानगरपालिका र नगरपालिकाले बनाउनुपर्ने हुन्छ। ‘हाम्रो क्षेत्रमा बनाउनुपर्ने सडक निर्माण गरिरहेका छौं,’ उनले भने, ‘महानगरपालिका र नगरपालिकाले ८ मिटर चौडाभन्दा कमका सडक बनाउनुपर्छ।’ काठमाडौं महानगरपालिकाअन्तर्गत सहरी पूर्वाधार विकास विभागका अनुसार महानगरभित्र ८ मिटर चौडाभन्दा कमका सडक तीन सय २५ किमि छ।

चाबहिल स्वरस्वती नगरमा ढलको पाइप राख्न खनिएको सडक।

२. काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले बबरमहलमा खानेपानी पानीको पाइप राख्न खनेपछि पिच नगरी छाडेको सडक। तस्बिर ः श्याम÷नागरिक

प्रकाशित: २९ भाद्र २०७६ ०१:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App