समाज

‘डेंगी नियन्त्रण गर्न समुदाय नै लाग्नुपर्छ’

काठमाडौं - राम्रोसँग खोज्ने हो भने घर–घरमा डेंगी फैलाउने लामखुट्टे बस्ने ठाउँ छ। ती ठाउँमा लामखुट्टेले अण्डा र लार्भासमेत हुर्काउँदै गरेको हुन सक्छ। तपाईको घर या छिमेकीको घरमा खुला राखिएका ड्रम, बोतल, ट्यांकी, टायर, निर्माणाधीन घर, कुलरको भाँडो, बाल्टिनमा राखिएको पानीमा डेंगी फैलाउने लामखुट्टेले अण्डा पार्छ। ती अन्डा र लार्भा नष्ट गर्न विश्व स्वास्थ्य संगठनका कीट वैज्ञानिक डा. विएन नागपाल बताउँछन्।

नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको समन्वयमा उनी नेपाल आएका हुन्। उनले बिहीबार सञ्चारकर्मीसँग डेंगी फैलाउने लामखुट्टेको जीवनचक्र तथा यसले पार्ने असरबारे विस्तृत जानकारी दिएका हुन्। नेपालमा फैलिरहेको डेंगी नियन्त्रणमा सघाउन राष्ट्रिय इपिडियोमोलोजी विभागले उनलाई नेपाल बोलाएको हो।

डेंगी भाइरसको औषधि नभएकाले यसबाट जोगिन लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्नु र वातवरण सफा राख्नुपर्छ

उनले डेंगी फैलाउने लामखुट्टेविरुद्ध सबै मिलेर लाग्नुपर्ने उनले बताए। नागपालका अनुसार डेंगी नेपालमा मात्र नभएर दक्षिण एसियाली राष्ट्र तथा विश्वका अन्य मुलुकका लागि पनि चुनौती बनेको छ। विश्ववातवरण तथा तापमानमा आएको परिवर्तन, विकासोन्मुख देशमा हुने तीव्र निर्माण कार्य, कमजोर सरसफाइ, मानवीयलगायत कारणले डेंगी फैलिने भएकाले यसमा स्वास्थ्यसँग सम्बन्धित निकाय मात्र नभएर समुदायकै भूमिका बलियो हुने उनले बताए।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन देशीय प्रतिनिधि रुङतेनले डेंगी भाइरसको औषधि नभएकाले यसबाट जोगिन लामखुट्टेको अण्डा र लार्भा नष्ट गर्नु र वातवरण सफा राख्नुपर्ने बताइन्। ‘डेंगी लागिसकेपछि औषधि छैन, भाइरस मार्न सकिँदैन,’ उनले भनिन्, ‘डेंगीबाट जोगिन सबै मिलेर काम गर्नुपर्छ। स्वास्थ्य विभागले मात्र सम्भव छैन प्रहरी, मन्त्रालय, समुदाय, परिवार सबैको भूमिका आवश्यक छ।’

डा. नागपालको अनुभवमा यसअघि नै डेंगी प्रकोप फैलिएका देशमा समुदाय मिलेर आफ्नो घर–घरको लामखुट्टेको अण्डा आफैं नष्ट गरेपछि यो दुई सातामै न्यूनीकरण भएको थियो। नागपालका अनुसार समुदाय, प्रहरी, सेना, स्वास्थ्य मन्त्रालय, समुदाय सबै मिलेर घर–घरमा रहेका लामखुट्टेका अण्डा र लार्भा खोजेर नष्ट गर्न थालेपछि ती देशमा दुई सातामै डेंगी न्यून भएको थियो। लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहने भएकाले पानी पाउनेबित्तिकै लार्भा बन्ने उनले बताए।

विश्व स्वास्थ्य संगठनका अनुसार डेंगी सन् १९९५ मा विश्वका ९ वटा देशमा देखापरेको थियो। अहिले डेंगी १ सय २६ वटा मुलुकमा फैलिसकेको छ। त्यसमा पनि दक्षिण–पूर्वी एसिया क्षेत्रमा यो बढी फैलिएको छ। यो क्षेत्रका ११ वटा मुलुकका ५१ प्रतिशत जनता डेंगीको जोखिममा छन्। विश्वका ४० प्रतिशत जनसंख्या डेंगीको उच्च जोखिममा छन्।

संक्रमित एडिस एजिप्टाई र एडिस एल्वोपिक्टस लामखुट्टेले टोकेमा डेंगी हुन्छ। यो जातको पोथी लामखुट्टेले टोकेमा मात्र मानिसमा डेंगी भाइरस सर्छ। सफा पानीमा बस्न रुचाउने यो लामखुट्टेले १० देखि १५ जनाको रगत चुसेपछि मात्र अघाउने हुनाले एकै समयमा धेरैजनालाई डेंगी सार्छ। यो अँध्यारो भागमा लुकेर बस्छ र भोक लागेपछि मात्र टोक्न उड्छ। एडिसको पोथी लामखुट्टे ७ देखि १० दिन बाँच्छ भने पोथी ४ देखि ६ साता बाँच्छ। यो लामखुट्टे २५ देखि ३० डिग्री तापक्रममा बाँँच्छ। यो दिनमा सक्रिय हुन्छ। यो लामखुट्टे सोफा, टेबुल तथा खाटमुनि बस्न रुचाउँछ। यो लामखुट्टे ३ देखि ४ सय मिटर टाढासम्म उड्छ।

७० प्रतिशत लामखुट्टे पहिल्यै डेंगी संक्रमित भएका हुन्छन्। संक्रमित लामखुट्टेबाट जन्मेका सबै नयाँ लामखुट्टेमा डेेंगी भाइरस हुन्छ। यो लामखुट्टे भदौदेखि कात्तिकसम्म सक्रिय हुन्छ। यो लामखुट्टेले टोकेर डेंगी संक्रमण भएको चारदेखि १० दिनभित्र लक्षण देखिन्छ। टाउको दुख्ने, आँखाका गेडी दुख्ने, ज्यान दुख्ने, वाकवाकी लाग्ने, शरीरमा राता बिमिरा आउने, कडा ज्वरो आउनेलगायत यसका लक्षण हुन्। डेंगीको औषधि नभएकोले झोल कुरा खाने, आराम गर्ने र दुखाइ कम गर्न प्यारासिटामोल खान सकिन्छ। ज्वरो कडा आएमा र आन्तरिक रक्तश्राव भएमा अस्पताल भर्ना हुनुपर्छ।

प्रकाशित: २७ भाद्र २०७६ ०२:०३ शुक्रबार

डेंगी नियन्त्रण