समाज

एकादेशको त्यो टेलिफोन...

रोल्पा सदरमुकाम लिबाङ। फोटो: दिनेश/नागरिक

रोल्पा - टेलिफोन गर्नकै लागि रोल्पालीले लाइन बस्न छोडेको धेरै भएको छैन। टेलिफोनमा कुरा गर्न घण्टौं लाइन बस्नपर्थ्यो। प्रतिमिनेटको १५ रुपैयाँ तिरेको पनि रोल्पालीले बिर्सैका छैनन्। टेलिफोन कुराकानीकै लागि १२ किलोमिटर हिँडेको पनि यहाँका स्थानीय अझैं सम्झिन्छन्।

संविधानसभा निर्वाचनसम्म पनि फ्याक्समार्फत समाचार पठाएको सम्झना छ पत्रकार महासंघ रोल्पाका सस्थापक अध्यक्ष काशिराम डागीसँग। ‘२०६५ सालसम्म समाचार फ्याक्स गरियो। चुनावपछि मात्र इन्टरनेट आएको हो।’ द्वन्दकालमा लुकाएर कहिले रात्रि बसबाट त कहिले हुलाकबाट समाचार पठाउने पत्रकारहरु अहिले सुविधाका हिसावले सहज भएको बताउँछन।

‘२०५७ सालतिर हुलाकबाट पठाएको एउटा समाचार १२ दिनपछि कान्तिपुर दैनिकमा मुख्य समाचार बनेको थियो। समाचार प्रकाशित भएको २ दिनपछि थाहा भयो।’ डागीले सुनाए ‘उतिबेला समाचार पठाउँदा हामीलाई निकै मँहगोे पर्दथ्यो। तत्कालिन जिल्ला विकास समिति वा सिडिओ कार्यालयबाट समाचार फ्याक्स गर्ने गरिन्थ्यो। अन्यत्र यो सुविधा थिएन।’ उनीसँग एक दिन सुरक्षाकै समाचार सिडियोलाई भुलाएर कार्यालय ससहयोगिलाई फ्याक्स गर्न लगाएको गजवको अनुभव छ।

त्यसो त टेलिभिजनका पत्रकारहरुले पनि समाचार र भिडियो पठाउन रात्रि बसको प्रयोग गर्नुको बिकल्प थिएन त्यतिबेला। पत्रकार डागी भन्छन् ‘कति पटक फोन र फ्याक्स गर्न १२ किलोमिटर माथि सातदोबाटो पुगियो। १ मिनेट वा १ पेजको फ्याक्स १५ रुपैया थियो भने फोनको पनि एक मिनेटको १५ रुपैया लाग्थ्यो। फ्याक्स ग-यो अनि आयो कि आएन भन्ने पनि सोध्नु पर्ने। एउटा समाचार पठाउदा कम्तिमा १ सय रुपैया खर्च गर्नु पर्ने अवस्था थियो। कहिले त पालो पाउन घण्टौ लाईन बस्नु पर्ने।’  उनी थप्छन् ‘अहिले सम्झदा पनि एकादेशको कथाजस्तो लाग्छ।

‘२०५४ तिरबाट मार्टस फोन आएको हो। एउटा रिपिटर राखेपछि १२ लाइन चलाउन मिल्थ्यो। उक्त फोन जिल्लामा १२ कार्यालयहरुमा थियो। पब्लिकलाई हाम्रोमा मात्र सुविधा थियो।’ नेपाल टेलिकमका पुराना कर्मचारी दिपक गिरिले भने।
२०६३ पछि फोन र मोबाइलको सुविधा भित्रिए पनि रोल्पामा इन्टरनेट भित्रिएको त धेरै भएको छैन।

तर अहिले अवस्था बदलिएको छ। अहिले त एकादेशको कथाजस्तै लाग्छ। रोल्पाले सञ्चारमा फड्कोनै मारेको छ। शान्ति प्रक्रियामा आएपछि रोल्पामा सबैभन्दा विकास भएको भनेकै सञ्चार र सडकमा हो। रातामाटाका टावर आक्रमणपछि भि स्याट फोन आयो। त्यो पनि उत्तिकै महङ्गो फोन थियो। ६३ देखि मोबाइल र २०६५ देखि ईन्टनेट सुरु भएको हो।’

जिल्ला मै सदरमुकाम आसपासमा मात्र रहेको फोन सेवा यतिबेला घर घरमा पुगेको छ। गाउँ गाउँलाई संचारले जोडेको छ। फोन मात्र नभएर ईमेल ईन्टरनेटले ब्यक्ति ब्यक्तिलाई जोडेको छ। चारैतिर संचारको सदुपयोग र दुरुपयोगका सवालमा बहस भइरहदा रोल्पाले भने भर्खरै प्रयोगमा ल्याई रहेको छ। रोल्पालीका अनुसार संचारको विकास भए जस्तै शिक्षा र स्वास्थ्यको पनि विकास हुनु जरुरी छ।

प्रकाशित: २३ भाद्र २०७६ ०७:०५ सोमबार

सञ्चार_विकास टेलिफोन द्वन्दकाल