समाज

दैलोमै सरकारी सेवाः बल्ल आयो गाउँमा सिंहदरबार

बरियारपट्टी (सिरहा)– सिरहाको सीमावर्ती बरियारपट्टी गाउँपालिकाका घरदैलोमा नागरिकता वितरण गर्ने उद्देश्यले आयोजित घुम्ती शिविरबाट सयौं लाभान्वित भएका छन्। जिल्ला प्रशासन कार्यालयले गाउँमै पुगेर मापदण्ड पुगेका व्यक्तिलाई नागरिकता प्रदान गर्नुका साथै आधारभूत सरकारी सेवा उपलब्ध गराइरहेका छन्। 

बरियारपट्टी गाउँपालिकामा शनिबार आयोजित एकदिने घुम्ती शिविरमा १ सय ४५ जनाले नागरिकता पाएका छन्। जिल्ला प्रशासनले त्यस क्षेत्रमा निजामती दिवसको अवसर पारेर एक दिनका लागि घुम्ती शिविर राखेको हो। त्यहाँबाट सदरमुकाम सिरहा आउजाउ गर्न निकै कठिनाई भएकाले सर्वसाधारण नागरिकताबाट वञ्चित थिए। हुलाकी सडकको जीर्ण अवस्था, गागन नदीमा पुल नहुँदा सर्वसाधारणहरु जिल्ला सदरमुकाम गएर नागरिकता लिन झन्झट मान्थे बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष साहले भने। गाउँमै शिविर आएपछि सर्वधारणहरु सेवा लिन झुम्मिएको उनले बताए। शिविरमा नागरिकता लिनेमा महिलाहरुकै संख्या बढी रहेको उनले बताए। यहाँबाट ८१ जना महिला र ६४ जना पुरुषले नागरिकता लिएका छन्। पुरुषमा पनि युवाहरुकै संख्या बढी रहेको उनले बताए।

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले विकट क्षेत्रका सर्वसाधारणलाई सरकारी सेवा दिन घुम्ती शिविर आयोजना गरेको बताए। उनका अनुसार नागरिकता वितरणका साथै स्वास्थ्य, आयुर्वेद, पशु उपचार, कृषि सेवा, हुलाक सेवा लगायतका सेवा उपलब्ध गराइएको छ।

शिविरमा १२ सय ४२ जनाले पशु सेवा, ३ सय ७९ जनाले स्वास्थ्य सेवा, १ सय ५५ जनाले आयुर्वेद सेवा, १ सय ४५ जनाले मतदाता परिचय पत्रलगायतका सेवा लिएका थिए। 

सिरहामा रहेका सरकारी कार्यालयले दिने सेवा गाउँमै पाएपछि बरियारपट्टी गाउँपालिकाका सर्वसाधारण हर्षित छन्। 

बरियारपट्टी गाउँपालिकाका अध्यक्ष साहले शिविरमार्फत सर्वसाधारणले गाउँमै सरकारी सेवा पाउँदा गाउँमा हिंहदरबार आएको बल्ल अनुभूति भएको छ। तर, यस्ता सेवा स्थायी रूपमै पालिकास्तरबाटै उपलब्ध गराउनुपर्ने उनको जोड छ। 
‘गाउँपालिकामा जनप्रतिनिधि आएपछि केही विकास भएको छ। यसअघि अझ विकट थियो,’ पालिका अध्यक्ष साहले भने, ‘यस गाउँपालिकामा सरकारी कर्मचारी बस्ने गरी सुविधा उपलब्ध गराउने प्रयासमा छौं।’

प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, राष्ट्रिय अनुसन्धानका एसपी रमेशचन्द्र यादव, गाउँपालिका अध्यक्ष सन्तोष साहले सेवाग्राहीलाई सामूहिक रुपमा नागरिकता वितरण गरेर शिविर उद्घाटन गरेका थिए। 

प्रकाशित: २१ भाद्र २०७६ १६:०१ शनिबार

गाउँमा_सिंहदरबार सरकारी_सेवा