दाङ - डेंगी रोगको उच्च जोखिममा रहेको दाङमा २०७२ मा डेंगी संक्रमणका कारण एकजना महिलाको मृत्यु भयो। २०७३ मा नौजना डेंगी रोगबाट संक्रमति भए। उनीहरू उपचारपछि निको भए। २०७४ मा आठजनामा डेंगी संक्रमण देखियो। २०७५ मा भने डेंगीको संक्रमण शून्य रह्यो। गत वर्ष यस रोगका बिरामी शून्य हुनुले जिल्लामा यसको त्रास कम हुने आँकलन गरिएको थियो। तर यस वर्ष फेरि जिल्लामा डेंगीको संक्रमण उच्च बन्दै गएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत साउन ५ गते तुलसीपुरकी एक महिलामा देखिएको यो रोगको संक्रमण अहिले सातजनामा भेटिएको छ। ‘जिल्लामा गत वर्ष यो रोगको संक्रमण देखिएन, तर यो वर्ष यो रोगको संक्रमण बढ्दै गइरहेको छ,’ डेंगी रोग नियन्त्रणसम्बन्धी कार्यक्रमका फोकल पर्सन कमल चन्दले भने, ‘साउन ५ देखि यो रोगको संक्रमण देखिएको हो र अहिलेसम्म जिल्लामा डेंगीका सातजना बिरामी भेटिएका छन्।’
दाङमा डेंगी प्रमाणित भएका यी सात बिरामीबाहेक काठमाडौंमा उपचाररत थप दुईजनामा यो रोग भेटिएको छ। योसहित दाङका नौजनामा डेंगी भेटिएको छ। स्वास्थ्य कार्यालयका अनुसार संक्रमित बिरामीमध्ये केही उपचार भएर फर्किसकेका छन् भने केही भारतको लखनउ तथा काठमाडौंमा उपचाररत छन्।
डेंगीको उच्च जोखिममा रहेको बाँके जिल्लामा पनि यस वर्ष आठजना संक्रमित फेला परेका छन्। स्वास्थ्य कार्यालय बाँकेको डेंगी रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन दुर्गा गौतमका अनुसार कोहलपुर मेडिकल कलेजमा पाँच, भेरी अञ्चल अस्पतालमा दुई र नेपालगन्ज मेडिकल कलेजमा एकजनामा यो रोगको संक्रमण भेटिएको छ। बाँकेमा डेंगी प्रमाणित भएका आठजनाबाहेक काठमाडौंमा डेंगी प्रमाणित भएका बाँकेका थप चारजना छन्। योसहित बाँकेमा डेंगीका बिरामीको संख्या १२ पुगेको छ।
बाँकेको पूर्वीक्षेत्र राप्ती सोनारी गाउँपालिकामा यो रोगको प्रभाव बढी देखिने गरेको छ। यो गाउँपालिकाको लौकी, चप्परगौडी, बर्दापुरलगायत पूर्वी गाउँहरूमा बर्सेनि यो रोगका बिरामी फेला पर्ने गरेका छन्। दाङ र बाँकेमा मात्रै हैन, प्रदेश पाँचमा यस वर्ष डेंगीको संक्रमण फैलिएको छ। प्रदेशका १२ जिल्लामध्ये नौ जिल्लामा अहिलेसम्म एक सय १९ जनामा डेंगीको संक्रमण भेटिएको छ। प्रदेशका तराई भूभागमा मात्रै नभई पहाडी जिल्ला गुल्मी, अर्घाखाँची र पाल्पामा समेत यो रोगको संक्रमण भेटिएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सबैभन्दा बढी नवलपरासीमा ४७ जना डेंगीको संक्रमण भेटिएको छ। रूपन्देहीमा ३१ जनामा डेंगी भेटिएको छ भने बाँकेमा १२ जना संक्रमित भएका छन्। यसैगरी दाङमा नौ, पाल्पामा ६, कपिलवस्तुमा पाँच, गुल्मीमा चार, अर्घाखाँचीमा तीन र बर्दियामा दुईजनामा यो रोगको संक्रमण पुष्टि भएको छ।
महाशाखाका अनुसार प्रदेश पाँच डेंगीको उच्च जोखिममा रहेको छ। महाशाखाका उत्तमराज प्याकुरेलले यो प्रदेशका तराई क्षेत्रमा डेंगीको जोखिम बढ्ने क्रममा देखिएको जनाए। ‘विगतका वर्षहरूसँगै अहिलेको यो रोगका बिरामीहरूको संख्या हेर्ने हो भने प्रदेश पाँच डेंगीको धेरै जोखिममा रहेको प्रदेशमा गनिन्छ,’ प्याकुरेलले नागरिकसँग भने, ‘विशेषगरी नवलपरासी, रुपन्देही, दाङ, बाँकेलगायत जिल्लामा यसको संक्रमण बढी छ।’
यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयलाई डेंगी नियन्त्रणको जिम्मेवारी रहन्थ्यो। संघीय संरचनापश्चात अहिले यसको जिम्मेवारी स्थानीय सरकारलाई छ। तर स्थानीय सरकारले अहिलेसम्म यो रोग नियन्त्रणका लागि कुनै पहल थालेका छैनन्। जिल्ला जनस्वास्थ्य कार्यालयले विगत वर्षहरूमा डेंगी रोगप्रति सचेत गर्ने सार्वजनिक सूचनाहरू प्रसारण प्रकाशन हुने गरेकोमा अहिले यो पनि छैन।
‘कम्तीमा स्थानीय नागरिकहरूलाई डेंगीका बारेमा सचेतना दिने खालका कार्यक्रमहरू वा सूचनाहरू प्रकाशन प्रसारण गर्नुपर्ने हुन्छ,’ जिल्ला स्वास्थ्य कार्यालयका डेंगी रोग नियन्त्रण कार्यक्रमका फोकल पर्सन कमल चन्दले भने, ‘हामीहरूले स्थानीय सरकारलाई डेंगीविरुद्ध सचेतना जगाउने खालका कार्यक्रमहरू गर्न अनुरोधपत्र पठाएका छौं।’
बढ्दो सहरीकरण, बसाइँसराइका कारण दाङ डेंगीको जोखिममा परेको उनको भनाइ छ। ‘बढ्दो बसाइँसराइ र बढ्दो सहरीकरणका कारण नागरिकहरूको बसोबास अव्यवस्थित बन्दै गइरहेको छ। डेंगीबाट बच्न सकिने उपायका बारेमा कुनै जानकारी छैन वा चासो छैन,’ चन्दले भने, ‘अव्यवस्थित बसोबासले पनि यो रोगको संक्रमण बढ्दै गएको हो।’
प्रकाशित: २० भाद्र २०७६ ०२:२६ शुक्रबार