समाज

मन्त्री खनाल डेङ्गीबाट सङ्क्रमित

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल डेङ्गी रोगबाट सङ्क्रमित भई ग्राण्डी अस्पतालमा उपचार गराइरहेका छन्।

उनको उपचारमा डा.विनय रेग्मी सहितको टोली संलग्न छ। मङ्गलबार राति एक्कासि ज्वारो आएपछि उपचारका लागि बुधबार बिहान पुल्चोकस्थित निदान अस्पताल गएका थिए। उपचारका क्रममा रगत परीक्षण गर्दा सो रोग प्रमाणित भएको मन्त्री खनालका सञ्चार विज्ञ बोमलाल गिरीले जानकारी दिए।

टेकुस्थित ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा रगत परीक्षण गरिएको थियो। सरुवा रोग अस्पतालमा श्ययाको अभाव भएपछि निदान अस्पतालबाट ग्राण्डी अस्पतालमा मन्त्री खनालको थप उपचार भइरहेको जनाइएको छ।

विज्ञ गिरीले भने, “टेकु अस्पतालमा श्यया अभाव भएपछि ग्राण्डी अस्पतालमा मन्त्री खनालको उपचार भइराखेको हो, उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ।”     

मङ्गलबार दिउँसो मन्त्रालयको काममा व्यस्त हुँदा मन्त्री खनालले असजिलो महसुस गरेका थिए। सोही दिन उनी मन्त्रालयको तीनवटा औपचारिक कार्यक्रम तथा बैठकमा सहभागी भएको सञ्चार विज्ञ गिरीले बताए।

पछिल्लो समय काठमाडौँ उपत्यकाभित्र डेङ्गी रोगको उच्च जोखिम देखिएको छ।रासस

प्रकाशित: १९ भाद्र २०७६ १२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App