समाज

प्रदेश १ मा डेंगी संक्रमण खुम्चिँदै

धरान - गत वैशाख अन्तिम साता धरानमा डेंगीका बिरामी भेटिए। बिरामीको संख्या घट्नुको साटो दिनप्रतिदिन बढ्दै गयो। डेंगी धरानमा मात्र सीमित रहेन। विस्तारै झापा, मोरङ, उदयपुरलगायत तराई र भित्री मधेसका जिल्लामा पनि यसको संक्रमण देखिन थाल्यो। पाँचथर, भोजपुर र तेह्रथुम जस्ता पहाडी जिल्लामा पनि डेंगीका बिरामी भेटिए।
धरानमा डेंगु नियन्त्रणमा आउन नसकेपछि प्रकोपग्रस्त क्षेत्र घोषणा गरियो। १ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिलेसम्म प्रदेशका ७ जिल्लामा डेंगीका बिरामी भेटिएका छन्। तीमध्ये सुनसरीबाहेक अन्य जिल्लामा डेंगी संक्रमण करिबकरिब नियन्त्रणमा आइसकेको छ। ‘सुनसरीको पनि धरानमा मात्र डेंगीका बिरामी अहिले पनि भेटिएका छन्, अन्यत्र लगभग नियन्त्रणमा आइसकेको छ,’ निर्देशनालयका डेंगी फोकल पर्सन हरिशंकर साहले भने, ‘पहिलाभन्दा संक्रमितको संख्या घट्दो क्रममा छ।’

निर्देशनालयका अनुसार एक साताअघिसम्म प्रदेश १ मा ३ हजार ६ सय ६० जना डेंगीका बिरामीको तथ्यांक संकलन भएको छ। तीमध्ये झापामा १ सय ५३, मोरङमा १६३, उदयपुरमा ६०, भोजपुरमा १, पाँचथरमा १२, तेह्रथुममा ७ र सुनसरीमा सबैभन्दा बढी ३ हजार २ सय ६६ जना रहेको फोकल पर्सन साहले जानकारी दिए। ‘कहाँ कति संख्या थपिए भनेर रिपोर्टिङ सिस्टम सुधार गर्ने प्रयासमा छौं, पालिकामा स्वास्थ्य अधिकार पुगेपछि सबैबाट रिपोर्टिङमा समस्या पनि भएको छ,’ उनले भने, ‘पहाडी जिल्लामा देखिएका डेंगीका बिरामी त्यही बसिरहेकालाई होइन, धरान र इटहरीतिर ओहोरदोहोर गर्नेलाई लागेको हो।’
निर्देशनालयको तथ्यांकमा ३ हजार ६ सय ६० जना डेंगी संक्रमित पाइए भए पनि वास्तविक बरामी भने योभन्दा बढी भए। सबैभन्दा प्रभावित भएको धरानमा निजी स्वास्थ्य संस्थामा ५ हजार बढी डेंगीका बिरामीले उपचार गराएको भए पनि ती सबैको तथ्यांक सरकारसँग छैन। धरानको ठूला अस्पताल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विजयपुर हस्पिटलको तथ्यांक मात्र सरकारी निकायमा पुगेको छ। ‘वास्तविक तथ्यांक र अवस्था थाह पाउन निजी मेडिकल, क्लिनिकबाट पनि विवरण लिने काम भइरहेको छ,’ धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले भने, ‘त्यसपछि निरन्तर अपडेट हुन्छ, र डेंगीको हालको अवस्था पनि थाह हुन्छ।’

प्रदेश १ मा हाल सुनसरीको धरान र उदयपुरको कटारीबाहेक अन्यत्र डेंगुको प्रभाव नदेखिएको प्रदेश निर्देशनालयले जनाएको छ। कटारीमा पनि अहिले एक दुई मात्र केस आउने गरेको छ भने धरानमा पनि विगतमा भन्दा धेरै कम भएको छ। ‘ठ्याक्कै रोकिएको भन्ने होइन तर धरानमा विगतको भन्दा धेरै नै कम छ, बिरामीको संख्या धेरै घटेको छ,’ प्रदेश स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताले भने,‘पूर्णरुपमा नियन्त्रणमा लिन सर्च एन्ड डिष्ट्रोय अभियान नै चलाउने हो। सबैले आफ्नो घरआँगनमा पानी जम्न नदिने र जमेको पानीमा लामखुट्टेको लार्भा भए नष्ट गर्नुपर्छ।’

प्रकाशित: १८ भाद्र २०७६ ०१:५० बुधबार

डेंगी संक्रमण बिरामी