समाज

जागिरको प्रलोभन देखाएर लुटपाट र बलात्कार गरेकाे आरोपमा यादव पक्राउ

राजविराज– आफुलाई रोजगार डटकमको म्यानेजर भन्दै युवतीहरुलाई जागिरको प्रलोभनमा फसाउने र आफु अनुकुलको ठाउँमा बोलाएर लुटपाट तथा बलात्कार गर्ने आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्लाको अग्नीसाईर कृष्ण सबरण गाउँपालिका–२ सितापुर वस्ने २९ बर्षिय सन्तोषकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। यादवमाथि ठगी, लुटपाट र बलात्कारका दर्जन बढी आरोपहरु रहेको प्रहरीको दावी छ।

एक वर्ष अघि यादवलाई मोरङ्ग जिल्ला अदालतले एक युवतीको बलात्कार तथा लुटपाट घटनामा दोषी ठहर गर्दै सजय तोकेको थियो। यद्यपी उनी फरार थिए। यादवलाई गोप्य सूचनाका आधारमा आइतबार राति मोरङ्गको बुढी गंगा नगरपालिका–३ स्थित डेराबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी गराए।

सामाजिक सञ्जाल इमोमार्फत युवतीहरुको फोन नम्बर पत्ता लगाई उक्त नम्बरमा फोन गरि ‘म रोजगारी डटकमको म्यानेजर हुँ, विभिन्न बैंक र संस्थामा जागिर लगाई दिन्छु’ भन्दै प्रलोभन देखाई घरमै बोलाई लुटपाट र जबर्जस्ती करणीसम्म गर्ने गरेको बताउँदै डिएसपी मिश्रले भने, ‘पछिल्लो लामो समयदेखि हामी अभियुक्तको खोजीमा थियौ।’ अभियुक्तले तीन जना युवतीलाई एनआइसी एसिया बैंकमा जागिर लगाई दिन्छु भन्दै घरमै बोेलाई नियुक्तिपत्र दिएर जबर्जस्ती करणी र लुटपाट गरेको  विषयमा पीडितहरु प्रमाणसहित सम्पर्कमा आएको डिएसपी मिश्रले बताए।

पक्राउ परेका यादवले जागिरको लोभलालच देखाई आधा दर्जन भन्दा बढी युवतीसँग यौन दुव्र्यवहार र सुनँचाँदीका गरगहना तथा १० लाख भन्दा बढी रकम लुटपाट र ठगी गरेको अनुसन्धानको क्रममा खुलेको डिएसपी मिश्रको भनाई छ। उनी भन्छन्, ‘करिब ३ वर्षदेखि समाजिक सञ्जालमा रोजगारी डटकम माध्यमबाट टाढा टाढाका महिलालाई जागिरको प्रलोभन देखाई लुटपाट तथा जबर्जस्तीकरणी गर्ने यादवबाट पीडित बन्नेहरुको संख्या अझै थपिदै गएको छ।’

पक्राउ परेका यादवका साथबाट ८ थान मोबाइल, खुकुरी १ थान, चक्कु १ थान, विभिन्न बैंकको चेकबुक ४ थान, भिसाकार्ड १ थान, विभिन्न युवतीका नाममा लेखिएको नियुक्तिपत्र ४ थान, आन्तरिक राजश्व विभागको स्टिकर ४ थान, विमा कागजात २ थान, युवतीहरुबाट लुटिएको सुनचाँदीको गरगहना तथा नगद ३३ हजार रुपैयाँसमेत बरामद गरिएको छ।

प्रकाशित: १६ भाद्र २०७६ १३:३२ सोमबार

जागिर लुटपाट बलात्कार