समाज

फरार न्यौपानेलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

सांकेतिक तस्बिर

नेपालगन्ज– चोरी मुद्दाका प्रतिवादीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको छ। ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले सोमबार प्रतिवादी नरेन्द्र न्यौपानेलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो।

कार्यालयका प्रहरी निरीक्षक सन्तोष रोकाले दिएको जानकारी अनुसार खुट्टामा गोली लागी घाइते भएका न्यौपानेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ।

‘नेपाल–भारत सिमास्थित जमुनाहामा नियन्त्रणमा लिई मोटरसाइकलमा कोहलपुरतर्फ ल्याउने क्रममा भाग्न खोजेपछि हाम्रो टोलीले राँझा नजिक एक राउण्ड गोली चलाएको हो,’ रोकाले भने। बैजनाथ गाउँपालिकाको देउराली भन्ने स्थानमा युएनको गाडीमा डाँका चोरी गरेको अभियोग लागेका न्यौपानेलाई अदालतले २०६८ सालमा ६ वर्ष जेल सजाय तोकेको थियो। तर, उनी लामो समयदेखी फरार रहँदै आएका थिए। 

प्रकाशित: १६ भाद्र २०७६ १०:४६ सोमबार

चोरी_मुद्दा नरेन्द्र_न्याैपाने प्रहरी गाेली_प्रहार