समाज

रवि लामिछानेसहित तीन जनालाई फेरि ५ दिन हिरासतमा राख्न आदेश

काठमाडाैं- पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनका लागि पक्राउ गरिएका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन हिरासतमा राख्न म्याद थप गरिएको छ। मंगलबार जिल्ला अदालत चितवनले लामिछानेसहित युवराज कँडेल र नर्स अस्मिता भन्ने रूकु कार्कीलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो।

चितवनका जिल्ला न्यायाधीश केशव अधिकारीको इजलासमा भएको बहसपछि म्याद थपिएको हो। पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका लामिछानेसहित तीन जनामाथि अनुसन्धानका लागि थप ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी र्र्दिए। 

उनका अनुसार पोस्टमार्टम रिपोर्ट, भिडियोको डिजिटल ल्याब रिर्पोट, पुडासैनीले डोरी किनेको सीसीटीभी फुटेजलगायत अन्य प्रमाण म्याद थपका लागि अदालतमा पेस गरिएको थियो। प्रहरीले अनुसन्धान नसकिएको भन्दै थप १० दिन थुनामा राख्न अदालतमा माग गरेपछि अदालतले ५ दिनको म्याद मात्र थप गरेको हो।

गत शुक्रबार पक्राउ परेका उनीहरुमाथि अनुसन्धान गर्न यसअघि पनि अदालतले ५ दिन थुनामा राख्न आदेश दिएको थियो।

प्रकाशित: ३ भाद्र २०७६ १२:१७ मंगलबार

शालिकराम_पुडासैनी आत्महत्या रवि_लामिछाने