समाज

मापदण्ड विपरीतका प्रतीक्षालय हटाउनमा महानगर मौन

मापदण्ड विपरीत बनाइएको एक यात्रु प्रतीक्षालय। तस्बिर : रिता श्रेष्ठ/नागरिक

काठमाडौं - बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालयको करिब तीन सय मिटर अगाडी सुन्धारामा एक यात्रु प्रतीक्षालय छ। त्यहाँ ठूलो विज्ञापन पनि राखिएको छ। उक्त प्रतीक्षालयमा विज्ञापन बाहेक यात्रु बस्ने ठाउँ नै छैन। महानगरपालिकाले बनाएको मापदण्डमा यात्रु प्रतीक्षालय अपांगमैत्री तथा लैंगिक मैत्री हुनुपर्ने व्यवस्था छ। यात्रु प्रतीक्षालय निर्माणसम्बन्धी मापदण्ड २०७३ मा भनिएको छ, ‘बन्ने संरचना अपांगमैत्री तथा लैंगिकमैत्री हुनपर्ने छ। सम्बन्धित सरोकारवाला निकाय ट्राफिक महाशाखा, सडक विभाग, यातायात व्यवस्था विभाग, विद्युत प्राधिकरण, उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम समेतको सहभागिता÷सहकार्यमा यात्रु प्रतीक्षालय, सार्वजनिक शौचालय निर्माण हुनेछ।’

तर, सुन्धारा, रत्नपार्क, भृकुटीमण्डपलगायत क्षेत्रमा रहेको यात्रु प्रतीक्षालय संरचना मापदण्ड विपरीत छन्। यात्रु बस्न नमिल्ने यस्ता संरचना निर्माण हुँदा समेत महानगरपालिकाले हटाउने चासो देखाएको छैन। यात्रु प्रतीक्षालय बस्न योग्य नहुँदा सास्ती हुनेको गरेको यात्रुको गुनासो छ। सुन्धारामा बस कुरिरहेकी जोरपाटीका लिला कार्कीले मापदण्ड विपरीत बनाइएका यात्रु प्रतीक्षालयमा यात्रु बस्न ठाउँ नरहेको बताइन्। ‘बस्ने ठाउँ नै छैन। कहाँ बस्नु ... सपांङ व्यक्ति त बस्न सक्दैनौं अपांग र वृद्धवृद्धा बस्न सक्लान् र ... ,’ उनले भनिन्। उनका अनुसार यात्रु प्रतीक्षालयमा बस्न लायकको ठाउँ छैन। पानी पर्दा र घाम लाग्दा उभिनुपर्छ। यस्ता संरचना बालबालिका र दृष्टिविहीनमैत्री नभएको उनी बताउँछिन्।

मापदण्डअनुसार महिनामा एक पटक यात्रु प्रतीक्षालय÷सार्वजनिक शौचालयको अनुगमन गनुपर्ने उल्लेख छ। तीनको प्रगति खुलाई प्रतिवेदन पेश गर्नुपर्ने पनि मापदण्डमा उल्लेख छ। त्यस्तैगरी प्रत्येक यात्रु प्रतीक्षालयमा फोहरको व्यवस्थापनका लागि डष्टबिन हनुपर्ने व्यवस्था छ। ‘यात्रु प्रतीक्षालयको विज्ञापन गर्ने स्थान निश्चित हुनु पर्नेछ। कूल भागको ६० प्रतिशतमा मात्र व्यवसायिक विज्ञापन हुनुपर्ने, बाँकी भागमा चेतनामूलक ट्राफिक सन्देश, बस रुट तथा भाडादर आदि महानगरले तोकेकोे सामाजिक सन्देश हुनपर्ने, नक्सा डिजाइनमा विज्ञापन र सामाजिक सन्देश राख्ने सम्बन्धमा ४० प्रतिशत सामाजिक सन्देश र ६० प्रतिशत विज्ञापन राख्ने गरी डिजाइनमा संशोधन गरी सोही अनुसार हुनेछ,’ भन्ने मापदण्डमा उल्लेख छ। तर, कुनै पनि निकायले प्रतीक्षालय मापदण्डअनुसार निर्माण गरेका छैनन्।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले मापदण्ड विपरीतका प्रतिक्षालय हटाउन नयाँ विकल्पको प्रस्ताव गरेको बताउँछन्। ‘महानगरभित्र मापदण्ड विपरीतका प्रतीक्षालय देखिन्छन्। महानगरपालिकाले अनुगमन गर्दै आएको छ,’ उनले भने, ‘विज्ञापनको नाममा यस्ता संरचना निर्माण गरिएका छन्। मापदण्डमा हुनेगरी स्मार्ट यात्रु प्रतिक्षालय निर्माणका लागि सर्भे भइरहेको छ। योजनामा हामी अघि बढेका छौं।’ आर्थिक वर्षभित्र मापदण्ड विपरीतका यात्रु प्रतीक्षालयहरु हटिसक्ने उनले बताए। उनका अनुसार अहिलेका प्रतीक्षालयहरु काम चलाउका लागि रहने छन्। प्रस्तावित योजना लागूभएपछि नयाँ प्रतीक्षालय निर्माण गर्दै जाँदा पूराना मापदण्ड विपरीतका प्रतीक्षालय महानगरपालिकाले हटाउदै जाने छन्।

प्रकाशित: २ भाद्र २०७६ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App