समाज

दुई हजार घुससहित प्रहरी जवान पक्राउ, विशेष अदालतमा मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई हजार घुस रकमसहित एक प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ। 

ढुंगा, गिट्टी र बालुवा बोक्ने ट्रक तथा टिप्परबाट रकम असुल्लेको आरोपमा अख्तियारको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले हिगुवापार्टी ट्राफिक पोष्ट काभ्रेका प्रहरी जवान तेजप्रसाद भट्टराईलाई दुई हजार घुससहित रंगेहात पक्राउ गरेको हो। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार भट्टराईले सेवाग्राहीसँग सवारी चेकजाँच गर्ने क्रममा मासिक दुई हजार दिनुपर्ने माग गरेका थिए। 

‘आफ्नो जिम्मेवारी, ओहोदा र पदीय दायित्व समेतको ख्याल नगरी बदनियतपूर्वक रकमको बार्गेनिङ गरी दुई हजार घुस लिएको सप्रमाण पुष्टि भएको छ’, अख्तियारले भनेको छ। 

उनीविरुद्ध विहीबारै विशेष अदालत काठमाडौंमा बिगो २ हजार राखेर भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले बताए।

प्रकाशित: ३० श्रावण २०७६ ११:५४ बिहीबार

अख्तियार घुस प्रहरी_जवान विशेष_अदालत मुद्दा