समाज

मृतक परिवारलाई २५/२५ लाख दिने सहमति

नुवाकोट– ककनी गाउँपालिका–१ स्थित कोल्पु खोलाको कमले दोभानमा बालुवा निकाल्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएका परिवारलाई २५/२५ लाख रुपैयाँ दिने सहमति भएको छ। सोमबार साँझ स्थानीय १३ वर्षीय बिनिता बलामी र सिन्धुली घर भएकी ३५ वर्षीय लक्ष्मी तामाङको बालुवा निकाल्दा बनेको खाल्डोमा डुबेर मृत्यु भएको थियो। बालुवा निकाल्नेहरुको लापवार्हीले गर्दा उक्त घटना भएको भन्दै स्थानीय तथा मृतकको आफन्तले विरोध जनाइरहेका थिए।

मृतकको परिवार, जनप्रतिनिधि, स्काभेक्टर धनी, जग्गा धनी, प्रहरी लगायतको टोलीले मंगलबार दिउसो पिडित परिवारलाई आर्थिक क्षतिपूर्ति दिने सहमति गरेको छ। पीडित परिवारलाई बालुवा उत्खनन गर्दा प्रयोग गरिएको स्काभेक्टरको साहू रामकृष्ण रेग्मिले ३३ लाख रुपैयाँ, बालुवाको ठेकेदार मोहनकृष्ण बलामीले ११ लाख रुपैयाँ र जग्गा धनी राजेन्द्र बलामीले ६ लाख रुपैयाँ गरी ५० लाख रुपैयाँ उपलव्ध गराउने सहमति भएको गाउँपालिकाको उपाध्यक्ष सीता लामा खतिवडाले बताइन्।
सहमति पश्चात परिवारले मृतकको शव बुझेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। 

प्रकाशित: २८ श्रावण २०७६ १३:२१ मंगलबार

मृतक_परिवार क्षतिपुर्ति