समाज

एकीकृत बस्ती ठड्याउँदै थाक्लेवासी

मेलम्ची नगारपालिका–१२ मा निर्माणाधीन थाक्ले एकीकृत बस्ती। तस्बिरः ध्रुव/नागरिक

मेलम्ची (सिन्धुपाल्चोक)– बर्खे भलबाढी र खेतीपाती नभनी मेलम्ची–१२, बाँसवारी थाक्लेका भूकम्प प्रभावित एकीकृत बस्ती ठड्याउन जुटिरहेका छन्। घरभित्रै शौचालय, खानेपानी धारा र आँगनमै मोटर पुग्ने सडक सुविधासहित उनीहरुले ३१ धुरीको एकीकृत बस्ती ठड्याइरहेका हुन्।

हेलम्बु मार्गको बाहुनेपाटी बजार छोडेर ६ किमी कच्ची सडक छिचोल्दै गाउँ पुग्दा आसपासका स्थानीय रोपाईँमा व्यस्त थिए। कतै धान रोपाईँको मैजारे त कतै कोदो रोप्ने चटारो थियो। खेतीपातीको चटारोकै बीच थाक्लेका तामाङ समुदाय भने भूकम्पले ढालेको बस्ती जुरुक्कै ठड्याउने हतारोमा देखिन्थे। ‘वर्ष दिनको मेहेनतपछि बस्ती ठडिनै लाग्यो,’ थाक्ले एकीकृत बस्तीका अध्यक्ष खिलबहादुर तामाङले भने।

झुम्म देखिए पनि सडकसहितको फराकिलो आँगन। ‘इन्टरलक’ ईँटाका एकनासका घर। हरियो जस्तापाताको छाना। यतिमै बस्ती सुन्दर देखिन्छ। निर्माण नसकिँदै सुन्दर देखिने बस्तीमा रंगारोगन गरेर अझ चमक भर्न हतारिएका छन् स्थानीय। अध्यक्ष तामाङले एकीकृत बस्ती विकास अन्तिम चरणमा पुगेको बताए। ‘आउँदो दसैँ, तिहार बस्तीका आ–आफ्ना घरमा मनाउने सपना देखिरहेका छौँ,’ उनले सुनाए।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्यमा दातृ निकाय अक्सफामको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय साझेदार महिला आत्मनिर्भरता केन्द्रको अगुवाईमा गत वर्षको भदौदेखि एकीकृत बस्ती निर्माण थालिएको थियो। भूकम्पअघि पनि थाक्ले गाउँ झुम्म थियो। भूकम्पपछि झुम्म गाउँलाई अझै फराकिलो बनाएर तामाङ समुदायले एकीकृत बस्ती विकास गरेर बस्ने निर्णय गरे। सट्टापट्टाद्वारा आवश्यक जग्गा बस्तीको नाममा ल्याएपछि उनीहरु पुनर्निर्माणमा जुटेका थिए।

साझेदार संस्था आत्मनिर्भरताका कार्यक्रम प्रवन्धक कृष्ण गुरुङले एकीकृत बस्ती विकास गर्न अक्सफामले प्रतिघर सवा सात लाख रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराएको बताए। उनकाअनुसार दुईतले घरको पुनर्निर्माण सम्पन्न हुँदा प्रतिघर लागत साढे १० लाख रुपैयाँसम्म पुग्ने छ। सहमतिअनुसार सहयोगबाहेकको थप रकम सम्वन्धित प्रभावित परिवारले बेहोर्ने छन्।

एकै आकारका बस्तीका प्रत्येक घरमा चार कोठा र भुईकल (चोटा) छन्। खानेपानी धारासहित शौचालय घरभित्रै छन्। घरबाहिर छुट्टै अर्को धाराको व्यवस्था गरिएको छ। घरका चारमध्ये एकमा भान्छा र बाँकी तीनमा सुत्न, बस्न प्रयोगमा ल्याइने छ। चोटामा अन्नपात र आवश्यक सामग्री राख्न मिल्छ। स्थानीयले एकीकृत बस्तीको माग गरेपछि दातृ संस्थाले भुँईँतले चारकोठे घरको डिजाइन बनाएको थियो। भुँईँतले घर अपर्याप्त र अव्यवहारिक हुने भन्दै उनीहरुले चोटाको माग गरे। ‘चोटाको खर्च आफैँ बेहोर्ने प्रस्ताव स्थानीयले गरेपछि डिजाइन परिवर्तन गर्यौँ,’ कार्यक्रम प्रवन्धक गुरुङले भने।

घरको तला थप्ने निर्णयपछि निर्माण सामग्री ढुंगा, गिटी, बालुवा समुदायले गरेका थिए भने ढुवानी सहयोग संस्थाले गरेको थियो। इन्टरलक ईँटा प्रभावित परिवारले गाउँमै बनाएका थिए। स्थानीय रहेका जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङले एकीकृत बस्तीका लागि सट्टापट्टामा जग्गा उपलब्ध गराएपछि पुनर्निर्माणको बाटो खुलेको स्थानीय बताउँछन्।

बस्तीका अधिकांश जग्गा उनकै स्वामित्वमा थियो। उनले जग्गा दिँदै एकीकृत बस्तीको सुरुवाती नेतृत्व गरेका थिए। एकीकृत बस्ती ठड्याउन परिवारका एक जनाले अनिवार्य श्रम गरिरहेका छन्। खेतीपाती लगायत अन्य बाध्यताले बस्तीको काममा जान नभ्याउँदा उनीहरु बदलामा खेताला खोजेर पठाउँछन्।

पुनर्निर्माण प्राधिकरणले भौतिक पूर्वाधार विकासको निम्ति प्रतिघर तीन लाख रुपैयाँको दरले आर्थिक सहयोग उपलब्ध गराएको एकीकृत बस्तीका संस्थापक अध्यक्ष समन्वय प्रमुख तामाङले बताए।     उनका अनुसार उक्त रकमबाट बस्ती संरक्षण, खानेपानी, सडकको काम भइरहेको छ। एक स्थानीय तह, एक एकीकृत बस्ती विकासको नीति लिएको प्राधिकरणले सोहीअनुरुप पूर्वाधार विकासमा बजेट बिनियोजन गरेको हो। जिल्लामा भूकम्पपछि निर्माण थालिएको यो बाह्रौँ एकीकृत नमूना बस्ती हो। यसअघि आधा दर्जन एकीकृत बस्ती ठडिइसकेका छन्। योसमेत आधा दर्जन बस्ती निर्माणाधीन छन्।

प्रकाशित: २५ श्रावण २०७६ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App