समाज

चोरी सिकार नियन्त्रण चुनौतीपूर्ण

नेपालगन्ज - बाँकेको फत्तेपुरस्थित राप्त गुलरी सामुदायिक वन उपभोक्ता समूहका वन हेरालु अजोध्या थारुले केही समयअघि गस्तीका क्रममा केही थान भरुवा बन्दुकसहित सिकारीलाई फेला पारे।  नियन्त्रणमा लिन खोज्दा सिकारीले मार्ने धम्की दिए।  बन्दुक बोकेका सिकारीको अगाडि उनको सीप चलेन।  उनले घटनाको विषयमा समितिका तत्कालीन पदाधिकारीलाई घटनाबारे जानकारी गराए।  समितिका पदाधिकारी पनि सिकारीसँग डराए।

सामुदायिक वनभित्र लुकिछिपी चोरी सिकार भइरहेका बेला यसपटक भने उक्त समूहका उपभोक्ता भरुवा बन्दुक बरामद गर्न सफल भए।  यही साउन १८ गते राति १२ बजेतिर सामुदायिक वनभित्र सिकारी प्रवेश गरेको सुइँको पाएपछि वन हेरालु थारुसहित चोरी सिकार नियन्त्रण कार्यदलको टोली पुग्यो।  सोही टोलीले चोरी सिकारमा प्रयोग भएको भरुवा बन्दुक बरामद ग¥यो तर सिकारीलाई पक्राउ गर्न भने सकेन।

‘सिकारी सामुदायिक वनभित्र प्रवेश गरेको सूचना प्राप्त भएपछि हाम्रो टोली अगाडि बढ्यो, हामीलाई देखेपछि मध्यरातमा सिकारी बन्दुक छाडेर भागे,’ चोरी सिकार नियन्त्रण कार्यदलका सीताराम थारुले भने।  सामुदायिक वनभित्र चोरी सिकार नियन्त्रण गर्नु चुनौतीपूर्ण रहे पनि आफूहरुले निरन्तर गस्ती गर्दै आएको उनको भनाइ छ।  केही वर्षअघिसम्म दिनदहाडै जंगलभित्र बन्दुक पड्किने गरे पनि अचेल धेरै नियन्त्रणमा आइसकेको उनले बताए।

राप्ती पीडित गुलरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामलाल चौधरी चोरी सिकार नियन्त्रणका लागि नियमित रुपमा संयुक्त गस्ती गर्ने गरिएको बताउँछन्।  ‘पहिले त खुलेआम चोरी सिकार हुन्थ्यो, अहिले केही कम भएको छ तर पनि पूर्णरुपले नियन्त्रणमा आउन सकेको छैन,’ उनले भने, ‘हाम्रो सक्रियता बढ्दै गएपछि बन्दुक बरामद गर्न सफल भएका छौं। ’ वन तथा वातावरण समन्वय समिति कम्दीअन्तर्गत राप्ती पीडित गुलरीसहित २७ वटा सामुदायिक वनले चोरी सिकार नियन्त्रण कार्यदल निर्माण गरेका छन्।

कार्यदलले आआफ्नो कार्यक्षेत्रमा नियमित रुपमा संयुक्त गस्ती गरेर चोरी सिकार नियन्त्रणको काम गरिरहेको समन्वय समितिका अध्यक्ष लवराज खरेलले बताए।  संरक्षणको काम आफैंमा चुनौतीपूर्ण भए पनि निरन्तर सक्रिय भएमा सम्भव भएको उनको भनाइ छ।  ‘हामीले सामुदायिक वनसँगै जैविक विविधता संरक्षणको क्षेत्रमा काम गरिरहेका छौं, चोरी सिकार नियन्त्रण कार्यदल सक्रिय भएपछि सिकारीको गतिविधि धेरै कम भइसकेको छ,’ खरेलले भने।  कार्यदल सक्रिय भएपछि फत्तेपुरकै सिद्धबाबा सामुदायिक वनभित्रबाट सिकारमा प्रयोग गरिने जाल यसअघि बरामद गरिएको उनले सुनाए।

समुदायका उपभोक्ता सक्रिय भएपछि चोरी सिकार नियन्त्रणको काम सम्भव हुने सब डिभिजन वन कार्यालय मैमानपुरका सहायक वन अधिकृत मृगेन्द्र सर्राफ बताउँछन्।  ‘कसैले वन्यजन्तुको सिकार गरेको ठहरेमा पाँच लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ,’ उनले भने, ‘उपभोक्ताको सक्रियताबाट भरुवा बन्दुक बरामद भएको छ, यो साहसिक कदम हो। ’ बरामद गरिएको भरुवा बन्दुकलाई सामुदायिक वनका अध्यक्ष थारु, सहायक वन अधिकृत सर्राफ र वन तथा वातावरण समन्वय समिति कम्दीका अध्यक्ष खरेलले प्रहरी चौकी फत्तेपुरका इन्चार्ज एवं प्रहरी नायब निरीक्षक (सई) मुकुन्द सिग्देललाई मंगलबार संयुक्त रुपमा हस्तान्तरण गरे।

प्रकाशित: २२ श्रावण २०७६ ०२:३७ बुधबार

चोरी_सिकार नियन्त्रण