समाज

लोकसेवाको प्रश्न–पत्रप्रति किरात समुदाय असन्तुष्ट

खोटाङ – बृहत नेपाली शब्दकोषमा किरातको अर्थ ‘नेपालको प्राचीन इतिहासअनुसार नेपालका आदिवासीमध्ये सबै भन्दा नाम चलेको मूल जाती’ उल्लेख छ।  तर, लोकसेवा आयोगले स्थानीय तहमा नियुक्ती गर्ने कर्मचारी छनौटकाक्रममा गत साउन ४ गते सोधेको प्रश्न–पत्रमा किरातको अर्थ अमूर्त सोधिएको भन्दै किरात समुदायका स्थानीयले असन्तुष्टी जनाइरहेका छन्।  आयोगले किरातको अमूर्त अर्थ लाग्नेगरी प्रश्न सोधेको किरात राई यायोक्खाका केन्द्रीय महासचिव जनक राईले बताए। 

आयोगको सहायक पाँचौंको प्रश्न नम्बर २२ मा किरातको अर्थ बुझाउनका लागि ‘पुर्वको मान्छे, पश्चिमको मान्छे, जिउडाल परेको मान्छे र एकोहोरो मान्छे’ बुँदा उल्लेख गरेर ठीक उत्तरमा चिन्ह लगाउन भनिएको छ।  ‘आयोगको प्रश्नमा स्पष्ट जवाफ आउने अप्सनहरु राखिनु पथ्र्यो।  यो प्रश्नको अप्सनले किरातकै परिचयलाई भ्रममा पार्न खोजेको छ,’ महासचिव राईले भने, ‘किरातलाई होच्याउने गरी हेय भावले प्रश्न निर्माण गरिएको अर्थमा हामीले लोकसेवालाई लिएका छौँ। ’ आयोगको प्रश्नपत्रको विषयमा छलफल गरेर ध्यानाकर्षण गराउने तयारी भइरहेको महासचिव राईले जनाए। 

नेपालको आदिम सभ्यता मानिने ऐतिहासिक, साँस्कृतिक किरात सभ्यतालाई बंग्याउन खोजेको भन्दै केही दिनअघि किरात राई यायोक्खा, किराथ याक्थुङ चुम्लुङ र सुनुवार सेवा समाजले कोटेश्वरमा छलफल नै गरिसकेको छ।  प्रश्न–पत्रमा प्रश्नले मागे अनुशारको स्पष्ट जवाफ आउने विकल्पहरु नराखिएको पाइएको दिक्तेल बहुमुखी क्याम्पसका प्राध्यपक बेदीकुमार राईले बताए।

  किरातले प्राचीन कालमा वाग्मतीदेखि सम्पूर्ण पुर्वी नेपालमा राज्य गरेको इतिहासमा उल्लेख छ।  लिच्छवीहरु नेपाल आएपछि उनीहरु नेपालको पुर्वी भेगतिर बसोबास गर्न लागेका हुन्।  मंगोलहरु नेपालमा आएर किरात भएका हुन् भन्ने पनि कतिपयको मत छ। 

प्रकाशित: २० श्रावण २०७६ ०५:२३ सोमबार

लोकसेवा किरात_समुदाय लिच्छवी