समाज

असला माछा संकटमा

तिला नदीमा माछा मार्न जाल हान्दै स्थानीय: तस्बरः डिबी /नागरिक

जुम्ला - जुम्लामा असला जातको माछा लोपाेन्मुख हुन थालेको छ। यहाँको तिला र जवा नदीमा पाइने असला जातका माछा पछिल्लो समय पाइन छोडेका छन्। कहिलेकाही बाहेक पहिलाजस्तो नदीमा उक्त माछा पाइदैन। नदीमा करेन्ट लाउने तथा विषादीको प्रयोग गरेर माछा मार्न थालिएपछि उक्त माछा लोप हुँदै गएको स्थानीयको भनाई छ। ‘पहिले पहिले नदीमा टन्नै माछा पाइन्थे। छेउछाउका खोलामा समेत असला माछा पाइन्थे स्थानीय ओमबहादुर थापाले भने, तर अहिले पाइदैनन्।’

थापाले गत वर्षसम्म पनि खोलामा माछा मारेरै गुजारा चलाउँथे। ‘एक घण्टा खोलामा गए ३ देखि ४ किला माछा मारिन्थ्यो। थापाले अगाडि भने, तर अहिले दिनभर खोला चहार्दा पनि मुस्किलले एक किलो पाइन्छ।’ पहिले पहिले खोलामा जाल प्रयोग गरेर माछा मारिन्थ्यो। तर पछिल्लो समय करेन्ट लाउने र विषादी प्रयोग गर्ने क्रम ह्वात्तै बढेर गएको अर्का स्थानीय विर्षलाल शाहीले बताए। खोलामा सिंधै विष प्रयोग गर्छन्। त्यसले माछा मात्रै होइन, अन्य जलचर प्राणी समेत मर्छन्।  

यो माछा निकै स्वादिलो पनि हुन्छ। स्थानीय हर्कबहादुर रावत भन्छन्,‘ करेन्ट लगाउने, विष हाल्ने, जथाभावी फोहर फाल्ने गर्न थालेपछि माछाको जलचक्र नै बदलियो।’ सदरमुकाम खलंगा देखिको फोहोर तिला नदिमै फयाँकिदै आएको छ। त्यस्तै नदिमा गिट्टी बालुवाको अवैध उत्खन्न भइरहेका कारण पनि माछाको संख्या घटेको स्थानीयले भनाई छ।

माछा भेटिन छाडेपछि स्थानीय बजारमा असला माछाको मूल्य पनि बढ्दै गएको छ । १ वर्षअघि ३ सय रुपैयाँमा किनबेच हुने माछाको मूल्य अहिले सदरमुकाममा प्रतिकेजी ६ सय रुपैयाँसम्म पगेको छ। गाउँमै पनि अहिले प्रतिकेजी ४ सय रुपैयाँमा किनबेच भइरहेको छ।

तिलाको पहिचाननै असला माछा भएकाले संरक्षणका लागि सरकारको ध्यान पुग्न सकेको छैन्। माछा संरक्षणका लागि तीनै तहका सरकारले चासो नदेखाएको स्थानीयको आरोप छ। एनजीओ र आइएनजीओका जलचर संरक्षण अभियानले पनि बजेट सक्ने बाहेक खासै सार्थकता पाउन सकेको छैन।

नदीमा पानीको बहाव घट्नु, करेन्ट लगाइनु, पानी दूषित हुनुले  दिन प्रतिदिन माछाको संख्या घटदै गएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र जुम्लाका प्रमुख  गोविन्द महत बताउँछन्। नदीमा जथाभावी डोजर समेत प्रयोग भइरहेका छन्।  केही दिन अघि तिला नदीका रारालिही, कुडारी, तातोपानी, हाँकु, छिनासाँघु दानसाँघु नजिकै ठूलो संख्यामा माछा मरेको भेटिएका थिए। नदी छेउछाउमा भेटिएका मरेका माछालाई अनुसन्धानका लागि काठमाडौंका प्रयोगशालामा पठाइएको छ। तर माछा मर्नुको कारणसहित उक्त प्रतिवेदन भने अझें जिल्लामा आइपुगेको छैन।

प्रकाशित: १३ श्रावण २०७६ ०५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App