समाज

गुल्मीका पहिरो पीडितलाई वैदेशिक रोजगार व्यवसायीको सहयोग

काठमाडौं– गुल्मीमा गएको पहिरोमा पुरिएर ज्यान गुमाउनेका परिवारलाई वैदेशिक रोजगार व्यवसायीले आर्थिक सहयोग गरेका छन्। गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा परेर हाल सम्म १३ जनाले ज्यान गुमाईसकेका छन्।

व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले  व्यवसायीहरुबाट संकलित ७ लाख रकम परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेका छन्।  

सहयोग रकम हस्तान्तरण गर्दै संघका अध्यक्ष गुरुङले व्यवसायीले आफ्नो सामाजिक उत्तरदायित्व सम्झेर सहयोग गरेको बताए।

संघले यसअघि भुकम्प पीडितको नाममा ८९ लाख प्रधानमन्त्री दैवी उद्दार राहत कोषमा जम्मा गरेको थियो भने २०७४ सालमा तराईमा गएको बाढीबाट पीडितलाई २९ लाख बराबरको राहत सामाग्री हस्तान्तरण गरेको थियो।

प्रकाशित: १२ श्रावण २०७६ १३:५३ आइतबार

पहिरो_पीडित सहयोग