सर्लाही– जिल्लाको उत्तरी क्षेत्र लालबन्दी नगरपालिकामा भर्खरै निर्माण गएिको बाँध लखन्देही खोलाले बगाएको छ।
राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रमबाट आएको एक करोड ४ लाख रुपैंया बजेटबाट लालबन्दी नगरपालिका–११ मा निर्माण गरिएको ९ सय मिटर बाँध मध्ये आधा लखन्देही खोलाले बगाएको हो। हिरापुर गाउँतर्फ सोझिएको खोलालाई रोक्न बाँध बनाइएको थियो।
खोलाको बेग रोक्नका लागि तारजालीमा ढुंगा भरेर ‘रिटेनिङ वाल’ नहाली बालुवा मात्र थुपारेर बाँध बनाइँदा लाखाैं क्षति भएको जानकारहरुले बताएका छन्। लाईन्स क्लब अफ लालबन्दी सिटीका उपाध्यक्ष राजकुमार न्यौपानेले हतारहतारमा गुणस्तरहीन काम गर्दा खोलाले बाँध बगाएको दाबी गरे। ‘खोला रोक्न बनाईएको बाँध प्राविधिक हिसाबले सुरक्षित बनाउनु पथ्र्यो’, न्यौपानले भने, ‘इन्जिनियरले कामचलाउ नक्सा डिजाइन गर्दा ठूलो क्षति पुगेको छ, जसले गर्दा लाखौं बजेट खोलामा बगाइएको छ।’
उक्त वडाका वडाध्यक्ष दिपक लामाका अनुसार महादेव निर्माण सेवा बरहथवा नामक ठेकेदार कम्पनीले गत वैशाखमा बाँध निर्माण गरेको हो। लालबन्दी नगरपालिकाका इन्जिनियर रोशन पण्डित ठेकेदार कम्पनी निकट रहेको र प्रक्रिया पुर्याएर मिलेमतोमा उक्त कम्पनीमार्फत हतार हतारमा गुणस्तरहीन काम गराउँदा क्षति ब्यहोर्नु परेको जानकारहरु बताउँछन्।
राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रमबाट १ करोड ४ लाख रुपैंया बजेट आएको र त्यसमध्ये कन्सल्टेन्सी काटेर एक करोड एकलाख रुपैंयामा ठेक्का मार्फत काम गराईएको लालबन्दी नगरपालिका ईन्जिनियर पण्डितले बताए। ‘स्थानीय बासिन्दा लगायत सरोकारवाला सबैबाट बजेट भन्दा निकै बढीको काम गराउन दबाब हुन्छ’, इन्जिनियर पण्डितले भने, ‘जसले गर्दा काम अलि कमजोर हुने गरेको छ।’ बाँध बनाउने ठेकेदार कम्पनीसँग आफ्नो कुनै संलग्नता नरहेको इन्जिनियर पण्डितले बताए।
लालबन्दी नगरपालिका–११ का वडा अध्यक्ष लामाका अनुसार ‘स्पर’ मात्र राखिएको ठाउँमा क्षति पुगेको तर तारजालीमा ढुंगा भरेर वाल हालिएको ठाउँमा केही भएको छैन। नगरपालिकाका मेयर मानबहादुर खड्काले थोरै बजेटमा धेरै काम गराउन खोज्दा खोलाले बाँध बगाएको जानकारी दिए। ‘इस्टमेट भन्दा केही बढी काम गराएका थियौं’, मेयर खड्काले भने, ‘त्यसैले काम कमजोर हुन पुग्यो र खोलाबाट क्षति भयो।’ यसवर्ष २०५० सालभन्दा ठूलो बाढी आएको र नयाँ नयाँ बाँध भएकाले बगाएको मेयर खड्काको दाबी थियो।
प्रदेश सांसद् बेची लुंगेली बजेट कम भएपनि बढी काम गराउन खोज्ने प्रवृत्तिले योजनाहरुमा क्षति पुग्ने गरेको बताउँछिन्। बजेट अनुसार ठोस काम भन्दा पनि बढाएर काम गराउने परिपाटीले बिकास निर्माणका कार्यहरु कमजोर हुने गरेको लुंगेलीको धारणा छ। लखन्देहीको बाँध पनि बढी काम गराउन खोज्दा गुणस्तरहीन भएको र खोलाले बगाएको सांसद् लुंगेलीको कथन छ।
प्रकाशित: १० श्रावण २०७६ १३:४६ शुक्रबार