समाज

दिल्लीमा नेपाली बालिकाको बलात्कारपछि हत्या, न्याय माग्दै सांसदले भेटे परराष्ट्रमन्त्री

तस्बिरमा बालिका लक्ष्मी चदारा र परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सांसद लालबहादुर थापा।

बाजुरा– भारतको राजधानी नयाँदिल्लीमा एक नेपाली बालिकाको बलात्कार प्रयासपछि हत्या गरिएको छ। बाजुराको बुढीगंगा नगरपालिका १ कुडी घर भएकी ९ वर्षीया बालिका लक्ष्मी चदाराको दिल्लीस्थित सक्कपुरमा गत शुक्रबार दिउँसो बलात्कारको प्रयासपछि हत्या गरिएको नयाँदिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश अधिकारीले भारतीय प्रहरीलाई उद्धृत गर्दै जानकारी दिए।

उनका अनुसार भारतीय नागरिक बसिम अहमद उर्फ सनुले लक्ष्मीको हत्या गरेका हुन्। तीब्र दबाबपछि उनलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ। बुवा देब चदाराले चौकीदारी गर्ने घरमा उक्त घटना भएको हो। उक्त घरमा बसिमले होस्टल सञ्चालन गर्दै आएका छन् भने लक्ष्मीकी आमा उक्त होस्टेलमा खाना पकाउने काम गर्दै आएकी थिइन्। लक्ष्मी आमाबुबासँगै बस्दै आएकी थिइन्। 

परिवारका सदस्यका अनुसार अभियुक्त बसिमले आफैंले सञ्चालन गरेको होस्टेलमा लक्ष्मीलाई बलात्कारको प्रयास गरेका थिए। बलात्कार गर्दा चिच्याएपछि घाँटी थिचेर हत्या गरेको परिवारको दाबी छ। चौकीदारी गर्दै आएका लक्ष्मीका बुबाले छोरीलाई बेहोस अवस्थामा फेला पारेका थिए। एसएसपी अधिकारीले पनि सोही घरमा होस्टेल चलाउँदै आएका बसिमले बलात्कारको प्रयासपछि हत्या गरेको पुष्टि गरे। 

छोरीको हत्या भएको खबर पाएपछि देब चदाराले भारतस्थित विभिन्न नेपाली संघ, संगठन नेपाली र राजदूतावाससँग सहयोग मागेका थिए। अन्य नेपालीको सहयोगमा प्रहरी कहाँ मुद्दा दर्ता गर्न र पीडकलाई समात्न सहयोग गरेको नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रीय महासचिव खगेन्द्रबहादुर सिंहले बताए।

हत्यारालाई कारवाहीको माग, न्याय माग्दै सांसदले भटे परराष्ट्रमन्त्री 

बलात्कारको प्रयासपछि हत्या गरिएकी लक्ष्मी चदाराको न्यायका लागि चौतर्फी दबाब बढेको छ। हत्यारालाई कारवाही तथा पीडितलाई न्यायको माग गर्दै सामाजिक सञ्जालदेखि उच्चस्तरीय संयन्त्रले दबाब बढाएका छन्। देशविदेश चारैतिर न्यायका लागि अपिल गरिएको छ। घटनाको कारवाहीमा भारतीय प्रहरी संवेदनशील नभएपछि नेपालीहरुले जनदबाब बढाएका छन्।

यता जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद लालबहादुर थापाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेर आवश्यक पहल गर्न अनुरोध गरेका छन्। विदेशी भूमिमा गएर अन्यायपूर्वक जीवन बिताउनु पर्ने अवस्थाको अन्त्य र लक्ष्मीको आत्माको न्यायका लागि सरकारी पहल हुनुपर्ने माग थापाले मन्त्री ज्ञवालीसँग राखेका छन्। भेटपछि सांसद थापाले भने, ‘परराष्ट्रमन्त्री ज्ञवालीजीले घटनाबारे अध्ययन तथा उच्चस्तरीय छलफल गर्ने आश्वासन दिनुभएको छ।’

यता बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टि रेग्मीले पनि उच्चस्तरीय परामर्श जारी राखेकी छन्। ‘सरकारले घटनालाई गम्भीर रुपमा लिनुपर्छ, भारतीय मिडिया र प्रहरीले वास्ता नै गरेका छैनन्, यसमा हाम्रो सरकार गम्भीर हुनुपर्छ’, रेग्मीले भनिन्। भारतमा यस्ता घटना धेरै हुने गरे पनि भारतीय दबाबले लुकाउनुपर्ने अवस्था रहेको प्रवासी नेपाली संघ रोहिणी दिल्लीका अध्यक्ष तुलाराम नेपालीले बताए। 

भारतीय प्रहरीले हत्या आरोपित बसिममाथि नाबालिकाको हत्या र बलात्कार प्रयास गरेको आरोपमा दण्डहिनताको दफा ३०२ र यौन अपराधबाट बालबालिकालाई संरक्षण गर्ने सम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाएको दाबी गरेको छ। भारतीय कानूनअनुसार अपराध प्रमाणित भए अभियुक्तलाई फासीको सजाय हुने भारतस्थित नेपाली दूताबासले जनाएको छ। 

पीडित परिवारका सदस्यका अनुसार पीडकले पैसाको प्रलोभन दिएर घटनालाई नउचाल्न दबाब दिइरहेको छ। 

प्रकाशित: १० श्रावण २०७६ ११:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App