समाज

धामी–झाँक्रीको प्रोत्साहनमा बजेट

खोटाङ - हलेसी तुवाचुङ नगरपालिकाले धामीझाँक्रीको प्रोत्साहनका लागि बजेट विनियोजन गरेको छ। धामीझाँक्रीको सहायतामा विभिन्न जातजातिको संस्कार, संस्कृति र रीतिरिवाज संरक्षण हुँदै आएको तथ्यलाई ध्यानमा राखी नगरपालिकाले १० लाख बजेट विनियोजन गरेको जनाएको छ।

विभिन्न जातजातिको मौलिक संस्कृति जोगाउन धामीझाँक्रीको महŒवपूर्ण योगदान रहेकाले प्रोत्साहनस्वरूप बजेट व्यवस्था गरिएको सो नगरपालिकाका मेयर इवन राईले बताए। आर्थिक वर्ष २०७६÷७७ का लागि ४८ करोड आठ लाख सात हजार रुपैयाँबराबरको बजेट पारित गरेको नगरपालिकाले ढोलढ्यांग्रा भएका धामीझाँक्रीलाई मात्र प्रोत्साहनस्वरूप सुविधा दिन लागेको हो। जब कि गम्भीर प्रकृतिको रोगको उपचारका लागि भने नगरपालिकाले पाँच लाख बजेटमात्र विनियोजन गरेको छ। ‘कुलपितृ गर्दा होस् या जन्मदेखि मृत्युपर्यन्तका संस्कारमा होस् धामीझाँक्री चाहिन्छ, उनीहरू नभए यी कुनै पनि काम सम्भव हुन्नन्,’ मेयर राईले भने, ‘संस्कार संस्कृतिका हिसाबले धामीझाँक्री महŒवपूर्ण निधि हुन्। तर धामीझाँक्री परम्परा हराउँदै गएको छ। हाम्रो संस्कार संस्कृतिको संरक्षण गर्ने हो भने धामीझाँक्रीलाई प्रोत्साहन दिनुपर्छ भन्ने हाम्रो धारणा हो।’

 नगरपालिकाभित्रका ११ वटै वडाका ढोलढ्यांग्रासहितका धामीझाँक्रीको तथ्यांक संकलन गरी प्रोत्साहनका कार्यक्रम अघि बढाइने नगरपालिकाले जनाएको छ।

नगरपालिकाभित्रका ११ वटै वडाका ढोलढ्यांग्रासहितका धामीझाँक्रीको तथ्यांक संकलन गरी प्रोत्साहनका कार्यक्रम अघि बढाइने नगरपालिकाले जनाएको छ। छानिएका धामीझाँक्रीलाई झारफुकमा आउने बिरामीलाई स्वास्थ्य संस्थासम्म पठाउनका लागि समेत उत्प्रेरित गरिने मेयर राईले जनाए। धामी–झाँक्रीले मौखिक रूपमा बोल्ने ज्ञानको संरक्षणमा हालसम्म कसैको चासो नपुगेको नगरपालिकाको तर्क छ।

धामीझाँक्रीले गाउने र भन्ने मुन्धुममा हजारौं वर्षअगाडिको ज्ञान पाइने भएकाले प्रोत्साहन बजेटको व्यवस्था नमुना कदम भएको मुन्धुम अध्येता भोगीराज चाम्लिङले बताए। ‘धामीझाँक्रीले गाउने मुन्धुममा इतिहासका कुरा, प्राग ऐतिहासिक कुरा, दर्शनदेखि वनस्पति तथा जीवविज्ञानका कुरा आउँछन्। जडीबुटीबाट उपचार गर्ने पद्धतिको कुरा आउँछ,’ अध्येता चाम्लिङले भने, ‘उनीहरू भनेका हजारौं वर्ष पुरानो ज्ञानका स्रोत हुन्। उनीहरूको संरक्षण हुँदा समग्र समुदायकै हित हुन्छ। आधुनिक बुद्धिजीवीलाई समेटेर प्रतिष्ठान बनाउँदा पुरातन बुद्धिजीवी कहलिएका धामीझाँक्रीको विषयमा सोच्नु सकारात्मक कदम हो।’

चौथो नगरसभाले चालूतर्फ पाँच करोड ७८ लाख २६ हजार सात सय ५०, पुँजीगततर्फ १७ करोड ३४ लाख ८० हजार दुई सय ५०, वडागततर्फ तीन करोड १० लाख, नगर बजेटतर्फ १४ करोड २४ लाख ८० हजार दुई सय ५० लगायत बजेट पास गरेको नगरपालिकाले जनाएको छ। नगर विकासतर्फको बजेटमध्ये विद्युत् विस्तारका लागि तीन करोड, सडक विस्तारका लागि दुई करोड ७० लाख, विपद व्यवस्थापन तथा खाद्यान्न वितरणका लागि एक करोड ४० लाख, पर्यटन प्रवद्र्धनका लागि एक करोड ६० लाख, शिक्षाका लागि ७३ लाख ५० हजार, समपूरक कोषमा एक करोड, कृषि तथा सिँचाइका लागि ३० लाख बजेट विनियोजन गरिएको मेयर राईले जानकारी दिए।

यस्तै खानेपानीका लागि २० लाख, मर्मतसम्भारका लागि ५८ लाख ३० हजार दुई सय ५०, युवा तथा खेलकुदका लागि ४० लाख, महिलाका लागि ६० लाख, बालबालिकाका लागि सात लाख, ज्येष्ठ नागरिक तथा अपांगका लागि १४ लाख, दलितका लागि १० लाख, आदिवासी जनजाति तथा भाषा साहित्यका लागि १० लाख, एकल महिलाका लागि १० लाख, वन वातावरणका लागि पाँच लाख, युवा उद्यमी तथा स्वयंसेवक परिचालनका लागि ३० लाख, वडा कार्यालय निर्माणका लागि २० लाख, स्वास्थ्यका लागि १० लाख, सवारीसाधन खरिदका लागि ३२ लाख, मेलमिलाप केन्द्र तथा तालिमका लागि १० लाख बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ।

चार वडाध्यक्षद्वारा नगरसभा बहिष्कार
सो नगरपालिकाका चार वडाध्यक्षले नगरसभा बहिष्कार गरेको बताएका छन्। वडालाई कम बजेटको सिलिङ दिएको तथा टोलबस्तीबाट वडाले प्राथमिकीकरण गर्दै ल्याइएका नगरस्तरीय योजना लत्याइएको भन्दै नेकपाबाट निर्वाचित वडाध्यक्षले नगरसभा बहिष्कार गरेको घोषणा गरेका हुन्। नगरपालिका–२ डिकुवाका वडाध्यक्ष हरिकुमार खड्का, ३ नम्बर वडा च्यास्मिटारका वडाध्यक्ष भलाराज राई, ५ नम्बर वडा दुर्छिमका वडाध्यक्ष रमेश तिवारी र वडा नम्बर ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईले बिहीबार दिक्तेलमा पत्रकार सम्मेलन गर्दै नगरसभा बहिष्कार गरेको जानकारी गराएका छन्। मेयर इवन राईले भने वडाको सिलिङमा उल्लेख भएअनुसारको योजना हुबहु पास गरिएकाले विरोधको औचित्य नभएको बताएका छन्।

प्रकाशित: ३ श्रावण २०७६ ०२:०८ शुक्रबार

हलेसी_तुवाचुङ_नगरपालिका प्रोत्साहन बजेट संस्कृति