समाज

बिपी राजमार्गमा जताततै पहिरो

सिन्धुली - लगातार पाँच दिनदेखि परेको अविरल वर्षाका कारण बनेपा, सिन्धुली बर्दिबास सडकखण्डको ठाउँठाउँमा पहिरो खसेको छ। दैनिक सयौं सवारीमा हजारौं यात्रु ओहोरदोहार गर्ने बिपी राजमार्गमा जताततै पहिरो खस्दा सवारी सञ्चालनमा असहजता भएको छ। दुई दिनदेखि नै राजमार्गको पहिरो पन्छाउन जिल्लाका सुरक्षाकर्मीसहित स्थानीय लागि परे पनि आइतबार एकतर्फी मात्रै सवारी सञ्चालन गर्न सकिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

पाँच दिनदेखि भएको वर्षा आइतबार बेलुकासम्म पनि नरोकिएकाले पहिरो पन्छाउँदै गए पनि पहिरो नरोकिएको जिल्ला प्रहरी कार्यालयका एसपी चक्रबहादुर सिंहले जानकारी दिए। राजमार्गका विभिन्न स्थानमा खसेको पहिरो पन्छाउन स्काभेटर ब्रेकरसहितको प्रयोग भएको स्थानीयले जनाएका छन्। बिपी राजमार्गको सिन्धुली–खुर्कोट सडकखण्डअन्र्तगत माथिल्लो बारामा ठूलो पहिरोसहित सडकमा ठूला ढुंगा थुप्रिएकाले ब्रेकर लगाउनु परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख सई विष्णु बस्नेतले जनाए।

बिपी राजमार्गको कमलामाई नगरपालिका–२ भद्रकालीको सेल्फीडाँडाबाट नेपालथोकसम्म ५० भन्दा बढी स्थानमा पहिरो खसेको उनले बताए। पानी पर्नासाथ माथिबाट लेदो पहिरो आएर राजमार्गमा थुप्रने भएकाले पानी नरोकिएसम्म सडक पूर्ण रूपमा सुचारु गर्न नसकिने बस्नेतले जानकारी दिए। उनका अनुसार राजमार्गको सेल्फीडाँडा, खनियाँखर्क, माथिल्लो बारा, खाल्टेनजिक, कमेरे तथा नेपालथोक खण्डमा ठूलाठूला पहिरो खसेका छन् भने साना पहिरो अनगिन्ती रहेका छन्।

यस्तै मध्यपहाडी राजमार्ग र खुर्कोट–मन्थली राजमार्गमा समेत जताततै पहिरो छ। मध्यपहाडी राजमार्गका विभिन्न स्थानमा पहिरो खस्दा पूर्ण रूपमा राजमार्ग अवरुद्ध भएको छ। ‘मध्यपहाडी राजमार्गको ठाउँठाउँमा पहिरो छ,’ स्थानीय गौरव कार्कीले भने, ‘तत्काल खुल्ने सम्भावना छैन।’ मध्यपहाडी राजमार्गको खुर्कोट घुर्मीखण्डअन्तर्गत गोलन्जोर गाउँपालिका बितिजोर खोलाको पुलमा क्षति पुग्नुका साथै अन्य विभिन्न स्थानमा पहिरो खसेको छ। सो क्षेत्रको पहिरो हटाई तत्काल खुलाउन सकिने कुनै अवस्था नरहेको एसपी सिंहले बताए।

प्रकाशित: ३० असार २०७६ ०१:५० सोमबार

वर्षा पहिरो बिपी_राजमार्ग