समाज

खुर्कोट पुलको पहिरो हटाइयो, सवारी आवागमन सुचारु

रामेछाप–अविरल वर्षाका कारण खसेको पहिरो कारण अबरुद्ध बनेको जिल्लाको मन्थली–खुर्कोट सडक खण्ड आइतबार साँझबाट सुचारु बनेको छ।

रामेछाप र सिन्धुली जिल्लाको सिमाना खुर्कोट नजिकको सुनकोशीको पुलको रामेछापतर्फको मुखमा खसेको पहिरो र ठूला ठूला डोजरले पन्छाए पछि आइतबार साँझबाट उक्त सडक खुलेको छ। पुलको मुख नै बन्द हुने गरी पहिरो खसेपछि ३ दिन देखि उक्त सडक अवरुद्ध बनेको थियो। सडक अवरुद्ध बन्दा सिंगो रामेछाप सहित, दोलखा र ओखलढूंगाका केही भागमा सर्वसाधारणहरु समेत मारमा परेका थिए।

तत्काल सडक संचालन गर्नु पर्ने जिल्लाको आवश्यकता महशुस गरी पानी र निरन्तर खस्ने पहिरोका त्रासका बीच पनि कठिनाइका बाबजुद लामो प्रयास पश्चात बाटो खुलाउन सकिएको प्रमुख जिल्ला अधिकारी लिला कुमारी केसी (पाण्डे) ले जानकारी दिइन्। तत्कालका लागि बाटो संचालन गरिएको भएता पनि उक्त खण्डमा यात्रा गर्दा सावधानी अपनाएर हिड्नु पर्ने अवस्था भने अझै कायम नै रहेको छ। 

प्रकाशित: २९ असार २०७६ १३:४७ आइतबार

वर्षा मन्थली–खुर्कोट_सडक