समाज

मुसलधारे वर्षाले किसान हर्षित

मुसलधारे वर्षाका बीच हरिवन बजारमा छाता ओढेर गफिँदै सर्वसाधारण। तस्बिरः नागरिक

सर्लाही –    बुधबार बिहानदेखि परेको मुसलधारे वर्षाले सर्लाहीका किसान हर्षित भएका छन्। लामो खडेरीपश्चात परेको मुसलधारे वर्षाले उखु, मकै, तरकारी बालीलगायतमा निकै राहत पुगेको किसानले बताएका छन्।

लामो खडेरीका कारण सुकेर सखाप हुने अवस्थामा रहेको उखु बालीलाई ढिलै भए पनि परेको आकासे पानीले निकै राहत पुगेको नेपाल उखु उत्पादक महासंघ अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए। ‘उखु सुकेर सखाप हुने अवस्थामा पुगेको थियो,’ उनले भने, ‘ढिलै भए पनि परेको आकासे पानीले निकै राहत महसुस भएको छ।’

त्यस्तै परबल, बोडीलगायत तरकारी बाली समेत खडेरीले खाएर दुःखी बनेका किसानलाई बुधबारको वर्षाले हर्षित बनाएको छ। मंगलबार रातिदेखिनै हल्का भइरहेको वर्षाले बुधबार बिहानबाट भने मुसलधारे रुप धारण गरेको छ।

त्यस्तै असार बित्न लाग्दा समेत धान रोपाइँ गर्न नपाएका किसानमा मुसलधारे वर्षाले आशा जगाएको छ। खेतमा राखेको ब्याड छिप्पिने तथा सुक्न समेत थालिसकेको अवस्थामा बुधबारबाट मुसलधारे वर्षा भएपछि धान रोपाइँ हुनेमा किसान आशावादी बनेका छन्।

    बागमती सिँचाइ आयोजनाले समेत केही दिनअघिसम्म नहरमा पानी नछाडेका कारण किसान पीडित बन्दै आएका थिए। सर्लाहीमा ४० हजार हेक्टर बढी क्षेत्रफलमा धानखेती हुने गरेको छ। २५ हजार हेक्टर बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ।

प्रकाशित: २५ असार २०७६ ०६:३६ बुधबार

मुसलधारे_वर्षा राहत किसान