समाज

टेलिकमको तार चोरी गर्ने तीन पक्राउ

काठमाडौं - नेपाल प्रहरीले नेपाल टेलिकमको केबुल (तार) चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले नेपाल टेलिकम हात्तीगौँडा शाखाबाट नुवाकोटका २३ वर्षीय दिवस प्याकुरेल, भारतका १९ वर्षीय सायवकुमार शाह र १९ वर्षीय साहसीकुमार सहनीलाई सोमबार पक्राउ गरेको हो।
 
वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले नेपाल टेलिकम हात्तीगौँडा शाखाका गेटपाले प्याकुरेलको मिलेमतोमा तीन लाख रुपैयाँ मूल्य बराबरको सामग्री बिक्री वितरण गर्दैगर्दा पक्राउ गरिएको जानकारी दिए। “चोरी गरेको तार पगालेर तामा बनाउने भएकाले गेटपालेले कवाडी काम गर्ने व्यक्तिको मिलेमतोमा तार काट्न लगाएकोे अनुसन्धानमा खुलेको छ”, उनले भने।
 
प्रहरीले पक्राउ परेकासँग नेपाल टेलिकमको तारको १७ टुक्रा, नेपाल टेलिकमको मसिनो केबुल तार एक बोरा, दुई साइकल, तार काट्न प्रयोग हुने हेक्सोब्लेड एक थान बरामद गरेको छ। पक्राउ परेकालाई सोमबारै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्त प्रमुख प्रसाईँले बताए।

प्रकाशित: २४ असार २०७६ ०६:३० मंगलबार

बरामद चोरी पक्राउ