समाज

खडेरीले मकै सखाप

ओखलढुंगा - सुनकोसी गाउँपालिका–१ आम्बोटका किसान दानबहादुर राईले ६४ रोपनि जग्गामध्ये ३५ रोपनिमा मकै बाली लगाएका थिए। चैत अन्तिम र वैशाख सुरुमा उनले ३५ रोपनि बारीमा लगाएको सबै मकैका बोट खडेरीका कारण सुकेका छन्। चैत महिनामा सामान्य पानी परेपछि छरेको मकै लामो समयसम्म पानी नपरेका कारण बारीमै सुकेपछि उनी दुखित भएका छन्। ‘विगतमा चैत, वैशाखमा छरेर साउन अन्तिममा पाक्ने मकै खडेरीका कारण सखाप भयो,’ राईले भने।

लामो समयसम्म पानी नपरेका कारण गाउँमा बीउ नै मासिने गरी मकैका बोट सुकेका छन्। सुनकोसी र दूधकोसी किनारका अधिकांश क्षेत्रमा मकै सखाप भएका छन्।

सुनकोसी गाउँपालिका–१ बलखु गाउँका नन्दु दमाईको बारीमा लगाएको मकै पनि सबै सखाप भएका छन्। ८७ वर्षीय दमाईले ओखलढुंगामा यो वर्ष देखापरेको खरेडी ५४ वर्षपछिकै ठूलो भएको बताए। उनका अनुसार यो क्षेत्रमा २०२२ सालमा यस्तै खडेरी परेको थियो। चर्को घाममा बारीमै भेटिएका दमाईले भने, ‘यो खडेरीले मकै मरेको के भन्नु, हामी मरेका हौं।’ बलखु गाउँका सम्पूर्ण किसानले बारीमा लगाएको मकै खडेरीको चपेटामा परेका छन्। लामो समयसम्म पानी नपरेका कारण गाउँमा बीउ नै मासिने गरी मकैका बोट सुकेका हुन्। अब वर्षा भए पनि नफर्किने गरी मकैको बोट सुकिसकेको बलखुकी लीलाकुमारी राईले बताइन्। जिल्लाको सुनकोसी र दूधकोसी किनारका अधिकांश क्षेत्रमा मकै सखाप भएका छन्।

ओखलढुंगाको सुनकोसी, मानेभञ्ज्याङ, लिखु, चम्पादेवी, चिशंखुगढी गाउँपालिका र सिद्धिचरण नगरपालिकामा पर्ने नदी किनार क्षेत्रमा मकैका बोट सुकेका छन्। सुनकोसी गाउँपालिका १, २, ३, ४ र ६ नम्बर वडा, चम्पादेवी गाउँपालिकाका १ र २ वडा लिखु गाउँपालिकाको सिंहदेवी क्षेत्र, मानेभञ्ज्याङ गाउँपालिकाको १, २, ३, ६, ७, ८ र ९ नम्बर वडा, चिशंखुगढी गाउँपालिकाको २, ३, ६ वडा र सिद्धिचरण नगरपालिकाको १ र २ वडाका किसानहरू खडेरीबाट बढी प्रभावित भएका छन्। मकै लगाएका किसानका खेत–बारी बाँझो र खाली भएका छन्। यस क्षेत्रसँग जोडिएका छिमेकी जिल्लाहरू खोटाङ, उदयपुर, सिन्धुली र रामेछापमा पनि खडेरीले मकै बाली नष्ट गरेको छ। कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख मोहनप्रसाद खतिवडाका अनुसार कति क्षेत्रफलमा लगाएको मकै बाली खडेरीले सखाप भयो भन्ने यकिन तथ्यांक नभए पनि नदी किनार तथा तल्लो तटीय क्षेत्रका किसानहरू बढी मारमा परेका छन्। खडेरीले गरेको क्षतिको विवरण संकलनको काम भइरहेको खतिवडाले बताए।
 
सो क्षेत्रमा खडेरीले मकैका बोटमात्र सुकेका छैनन्, धान रोपाइँसमेत हुन सकेको छैन। असार महिना सकिन लाग्दासमेत जिल्लाका धान खेती हुने अधिकांश खेतमा रोपाइँ हुन बाँकी छ। जिल्लाका धान खेती हुने ६ हजार दुई सय ५० हेक्टर क्षेत्रफलमध्ये पाँच प्रतिशत क्षेत्रमा मात्रा रोपाइँ भएको कार्यालयले जनाएको छ। खडेरीले पानीको मुहान सुक्न थालेपछि यस क्षेत्रमा खानेपानीको अभावसमेत देखिन थालेको छ।

प्रकाशित: २२ असार २०७६ ०२:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App