समाज

अनुशासनका विषयमा गोरखा प्रहरी प्रमुखलाई कारवाहीको तयारी

गोरखा– गण्डकी प्रदेश प्रहरी कार्यालयले गोरखाका प्रहरी प्रमुख भोला रावललाई आन्तरिक अनुशासनको विषयलाई लिएर कारवाहीको तयारी गरेको छ। प्रदेश प्रहरी प्रमुख डिआईजी बिनोद शर्मा घिमिरेका अनुसार अनुशासनका विषयमा प्रदेशबाट आएको टोलीले बुधबार गोरखामै आएर अनुसन्धान गरेको हो।

अनुशासन उलंघन गरेको विषयमा कारवाही तयारी भएको बताए पनि अनुसन्धान टोलीले प्रतिवेदन बुझाउन बाँकी रहेको भन्दै अन्य विषय खुलाइएको छैन। स्रोतका अनुसार मादक पदार्थ सेवन गरेको र संगठनप्रतिको उत्तरदायित्व बहन नगरेको आरोपमा आन्तरिक अनुसन्धान र कारवाही हुन लागेको हो।

गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले भने २३ गते गोरखा सदरमुकाममा हुने ट्राफिक सचेतना संम्बन्धी कार्यक्रमका बारेमा बुझ्न प्रदेशबाट एसएसपी हरिराज वाग्ले नेतृत्वको टोली आएको बताए। ‘अन्य विषय थाहा भएन’ उनले भने । डिआईजी घिमिरेले आन्तरीक अनुशासन उलंघन गरेको विषयमा टोली छानबिनका लागि गोरखा आएको र प्रतिवेदन बुझाएपछि कारवाहीबारे टुङ्गो लाग्ने बताए।

प्रकाशित: १९ असार २०७६ १३:५२ बिहीबार

गण्डकी_प्रदेश नेपाल_प्रहरी