समाज

झोलुंगे पुल बनेसँगै स्थानीयको दैनिकी सहज

म्याग्दी- जिल्लाको विकट क्षेत्र मालिका गाउँपालिका–२, पात्ले र गिठिनी गाउँ जोड्ने सोलीखोलामाथि झोलुंगे पुल निर्माण भएपछि दुवै गाउँका स्थानीय लाभान्वित भएका छन् । पुल बनेसँगै जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीयको बाध्यतासमेत हटेको छ ।

मालिका गाउँपालिका, झोलुंगे पुल क्षेत्रगत कार्यक्रमबाट टिबिएसयु पोखराको आर्थिक सहयोग तथा मिलन म्याग्दीको प्राविधिक–सामाजिक सहयोगमा पुल निर्माण गरिएको छ ।

कुल २६ लाख ४६ हजार एक सय ९२ रुपैयाँ स्टिमेट लागतमा पुल निर्माण भएको हो । झोलुंगे पुल निर्माणका लागि गाउँपालिकाले एक लाख ५८ हजार सात सय ७१ र केन्द्रीय अनुदान स्वापमार्फत २२ लाख ४१ हजार आठ सय ६८ रुपैयाँ तथा समुदायको ५२ हजार नौ सय २३ रुपैयाँ लगानी गरेका हुन् ।

४४ मिटर लम्बाइ, १०६ सेन्टिमिटर र खोला बौलाउने ठाउँदेखि पाँच मिटरभन्दा बढी उचाइमा रहेको पुलको भारवहन क्षमता भने पाँच टन रहेको क्षेत्रीय प्राविधिक सहयोग प्रदायक (आरटिएपी) पोखराका इन्जिनियर नरबहादुर सम्बाहाम्फेले बताए । गत फागुन २१ गते निर्माण सम्झौता गरी सुरु गरिएको झोलुंगे पुल शुक्रबार निर्माण सम्पन्न भएको हो ।

यसैगरी, मालिका–२ र ३ को सिमानामा पर्ने छेरबाङ खोलामाथि निर्माण सम्पन्न पुलको पनि उद्घाटन भएको छ । रुमको जेम–बेलीगाउँ जोड्ने छेरबाङ झोलुंगे पुल निर्माण उपभोक्ता समितिको आयोजनामा पुल उद्घाटन गरिएको हो। मालिका गाउँपालिका, झोलुंगे पुल क्षेत्रगत कार्यक्रमबाट टिबिएसयु पोखराको आर्थिक सहयोग तथा मिलन म्याग्दीको प्राविधिक–सामाजिक सहयोगमा पुल निर्माण गरिएको छ ।

कुल ४५ लाख नौ हजार नौ सय ७१ रुपैयाँ लागत स्टिमेट रहेको झोलुंगे पुल निर्माणमा गाउँपालिकाले दुई लाख ७० हजार पाँच सय ९८, केन्द्रीय अनुदान स्वापमार्फत ३७ लाख २१ हजार नौ सय ५७ रुपैयाँ तथा समुदायको ९० हजार एक सय ९९ रुपैयाँ लगानी रहेको छ । गत फागुन २१ गते निर्माण सम्झौता गरी सुरु गरिएको झोलुंगे पुलको गत शुक्रबार निर्माण सम्पन्न गरिएको थियो ।

नवनिर्मित दुईवटै झोलुंगे पुलको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले समुदायको सक्रियतामा पुल बनेको हुँदा आगामी दिनमा ग्रामीण क्षेत्रको विकास निर्माणमा आवश्यक सहयोग र समन्वय गर्ने बताएका छन् । मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले ग्रामीण क्षेत्रको विकास, परिवर्तन र रूपान्तरणका लागि सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

 

प्रकाशित: १७ असार २०७६ ०७:३७ मंगलबार

म्याग्दी झोलुङेपुल सहजता