समाज

भूकम्प पीडितको पुनः जाँच सर्वेक्षण सुस्त

फाइल तस्बिर

दुलेगौंडा (तनहुँ)- जिल्लामा लाभग्राहीको सूचीमा नपरेपछि गुनासो दर्ता गराएका भूकम्पपीडितको छुट तथा पुनः जाँच सर्वेक्षणको गति सुस्त देखिएको छ।

असार १५ गतेभित्र गुनासो दर्ता गराएका घरधुरीको सर्वेक्षण सकाउनुपर्नेमा ५० प्रतिशत मात्र काम भएको छ। यहाँका आठ हजार आठ सय ९२ घरधुरीले भूकम्पले क्षति पु¥याएको भए पनि लाभग्राहीको सूचीमा नपरेपछि गुनासो दर्ता गराएका थिए। तीमध्ये चार हजार चार सय ६८ घरधुरीको सर्वेक्षण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँको तथ्यांकमा उल्लेख छ।

असार १५ गतेभित्र गुनासो दर्ता गराएका घरधुरीको पुनः जाँच सर्वेक्षण सक्नुपर्नेमा काम नसकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख जयप्रकाश गुप्ताले बताए। जेठ मसान्तसम्म सर्वेक्षण गर्ने समयावधि तोकिएकोमा नसकिएपछि असार १५ सम्म थप गरिएको थियो।

‘चार स्थानीय तहमा सर्वेक्षणको काम सकियो,’ उनले भने, ‘धेरै गुनासा दर्ता भएकाले स्थानीय तहमा काम सक्न समस्या भएको छ।’ दश स्थानीय तह रहेको जिल्लामा ६ स्थानीय तहका ५० प्रतिशत घरधुरीको सर्वेक्षण बाँकी रहेको छ। सर्वेक्षणका लागि ५३ जना प्राविधिक खटाएको गुप्ताले जानकारी दिए।

जिल्लाको शुक्लागण्डकी नगरपालिकामा दर्ता भएका एक हजार ५० गुनासामध्ये ६ सय ६२ घरधुरीको सर्वेक्षण सकिएको छ। व्यास नगरपालिकामा एक हजार चार सय ४२ गुनासो दर्ता भएकोमा चार सय ९५, भानुमा तीन हजार सात सय ८४ गुनासा दर्ता भएकोमा एक हजार दुई सय १० घरधुरीको सर्वेक्षण सकिएको छ।

बन्दीपुर गाउँपालिकामा दर्ता भएका पाँच सय ४५ गुनासामध्ये तीन सय १५, म्याग्देमा सात सय १७ गुनासा दर्ता भएकोमा चार सय ७०, ऋषिङमा एक सय २८ गुनासा दर्ता भएकोमा ९० घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण सकिएको जनाइएको छ।

चार स्थानीय तहमा भने गुनासो दर्ता भएका सबै घरधुरीको सर्वेक्षण सकिएको गुप्ताले जानकारी दिए। आँबुखैरेनी गाउँपालिका, देवघाट, घिरिङ र भिमाद नगरपालिका सर्वेक्षण सकिएका स्थानीय तह हुन्। गुप्ताका अनुसार आँबुखैरेनीमा दुई सय ८८, देवघाटमा दुई सय ७६, घिरिङमा एक सय ३१ र भिमादमा पाँच सय ३१ घरधुरीको सर्वेक्षण गरिएको हो।

चार हजारभन्दा बढीले बुझे तेस्रो किस्ता

२०७२ वैशाख १२ र त्यसपछि पटक–पटक आएको भूकम्पले तनहुँमा १३ हजार आठ सय २१ घरमा पूर्ण क्षति पुगेको थियो। पूर्ण क्षति भएर लाभग्राही पहिचान भएकामध्ये १३ हजार तीन सय ३७ घरधुरीले निजी आवास निर्माण गर्न सम्झौता गरेका छन्।

सम्झौता भएका लाभग्राहीमध्ये १२ हजार आठ सय ८१ ले पहिलो किस्ता, सात हजार पाँच सय २४ ले दोस्रो किस्ता र चार हजार चार सय चार लाभग्राहीले तेस्रो किस्ताको रकम बुझिसकेका छन्। प्रवलीकरणतर्फ चार सय ६६ लाभग्राही पहिचान भएकोमा दुई सय ७१ लाभग्राहीले पहिलो किस्ता बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ।

 

प्रकाशित: १७ असार २०७६ ०७:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App