समाज

प्रहरी र विप्लव कार्यकर्ताबीच भिडन्त, जिल्ला इन्चार्जकाे मृत्यु

सर्लाही–प्रहरी कारबाहीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको छ। बिहीबार दिउँसो सर्लाहीकै लालबन्दी नगरपालिका–१, चुरे क्षेत्रस्थित लखन्देही खोलामा प्रहरी कारबाहीमा पौडेलको मृत्यु भएको प्रहरी स्रोतले जनायो।

विशेष सुराकीका आधारमा गएको प्रहरी गस्ती टोली देखेपछि पौडेल सहितका विप्लव कार्यकर्ता टोलीले गोली प्रहार गरेको र जवाफी कारबाही गर्दा उनको मृत्यु भएको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर स्रोतले जनाएको छ। 

प्रहरीले जवाफी कारबाही गर्ने क्रममा केहीबेर दोहोरो गोली हानाहान भएको र पछि विप्लव समूहका कार्यकर्ता भागेका बताइएको छ। स्रोतका अनुसार प्रहरी कारबाही रोकिएपछि केही उत्तरतर्फ गएर हेर्दा गोली लागेको अवस्थामा पौडेलको शव फेला परेको हो। 

घटनास्थलमा बन्दुक, मोटरसाइकललगायत बरामद् भएको प्रहरी स्रोतले जनायो। कारबाहीमा विप्लव समूहका अन्य कार्यकर्तासमेत घाइते भएको हुन सक्ने प्रहरी स्रोतले जनाएको छ। 

घटनाबारे सर्लाही प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई एवं जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रतितसिंह राठौरले घटनाबारे केही बताउन चाहेनन्। 

सर्लाहीकै वागमती नगरपालिका–२, धरहराका पौडेल चुरे भावर राष्ट्रिय एकता पार्टी स्थापना भएपछि सर्लाही अध्यक्ष बनेका थिए। पछि नेकपा माओवादी प्रवेश गरेका पौडेल मोहन वैद्यले पार्टी फुटाएपछि त्यतै लागेका थिए। लगत्तै वैद्यसँग पार्टी फुटाएर विप्लवले नयाँ समूह खोलेपछि पौडेल भूमिगत भएका थिए। 

प्रकाशित: ५ असार २०७६ १०:०३ बिहीबार

नेपाल_प्रहरी विप्लव