प्रभा भट्टराईले लेखेको ‘सभ्यता’ शीर्षक कविता कक्षा –७ को नेपाली पाठ्यपुस्तकमा समावेश छ। उनको कविताले अरूलाई राम्रो र सभ्य देख्न मात्र होइन, आफैं सभ्य र राम्रो बन्न प्रेरित गर्छ। हामीले नकली प्वाँख लगाएर मुजुर बन्नु हुँदैन। सकली प्वाँख जीवनभर रहिरहन्छ भन्ने सन्देश कविताले दिन्छ।
बाल मनोविज्ञानलाई बुझेर लेखिएको कविता सजिलै बालबालिकाले बुझ्छन्। उनी सरल ढंगमा लेख्छिन्। त्यही भएर उनको कविता विद्यार्थीले मन पराएका हुन्। अब ‘सभ्यता’ शीर्षक कविताकै चर्चा गरौं। मान्छे सभ्य बन्ने बहानामा बोेक्रे बन्दै गएको छ। नेपाली कला र संस्कृतिमा मौलिकता छ। आफ्नोपन छ। रोदीको बेग्लै मौलिकता छ। खैंजडी बज्दा नाँचूनाँचू लाग्छ। विदेशीको नकल गर्नुभन्दा आफ्नै खैंजडी र रोदीमा रमाउन सके संसारलाई यसमा आकर्षित गर्न सकिन्छ भन्ने भट्टराईलाई लाग्छ।
उनको कविताले कपडा लाउने र खाना खानेलाई मात्र सभ्य मान्दैन। आजको मान्छे खाना र नानामा अल्झिएको छ। ‘बाहिरी बोक्रो राम्रो भित्री दिमाग खोक्रो प्रवृत्ति मौलाएको छ अचेल’, उनी भन्छिन्, ‘ऋषिवाणी र धर्म संस्कारका कुराहरू गर्न अप्ठेरो मान्ने र विदेशी कुराहरू गर्न खुसी मान्ने अवस्था राम्रो होइन।’
मान्छे सभ्य बन्ने बहानामा बन्धनमा बाँधिएको छ। पुरुषहरू जति गर्मी भए पनि कोट लगाएर उत्सवमेला जान्छन् र पसिनाले निथु्रक्क भिजे पनि कोट फुकाल्दैनन्। कोट फुकाले एक तह घटी भइन्छ भन्ने भ्रम छ। महिलाहरू राम्री देखिन पुसमाघकोे जाडोमा पनि न्यानो लुगा लगाउँदैनन्। के सभ्यता यही हो त ? ‘हामी नेपालीहरू चम्चाकाँटाले खाएर हुर्केका होइनौं। सभ्यताका लागि चम्चाकाँटा चलाउँदा असुविधा हुन्छ। स्वाद लिइलिई भने जस्तो चीज खान पाइँदैन। हातले भात खान थाल्यो भने त्यो मान्छे गँवार हन्छ। सजिलो लुगा लगाएर हिँड्यो भने त्यो मान्छे पाखे हुन्छ’, उनी भन्छिन्, ‘समय नै नकली प्वाँखको आइरहेको छ। समयसित हिँड्न सक्ने मान्छे सभ्य भयो। जो समयसँग चलेन, आफ्नो ढर्रामा हिँडिरह्यो, त्योचाहिँ गँवार भए।’
‘सभ्यता’ कविता दुई दशकअघि लेखेकी थिइन् उनले। उनका ‘सभ्यता’ जस्ता धेरै कविता विद्यालयका पाठ्यपुस्तकमा छापिएका छन्। नर्सरीदेखि माथिल्लो कक्षासम्मै उनका कविता पढाइ हुन्छ। सम्पादकहरूले ‘सरित् सङ्गम’ कविता संग्रह हेरेर कक्षा –७ को ‘सभ्यता’ कविता छानेको उनले सुनाइन्। ‘एक जना सर फोन गरेर घरैमा आउनु भयो। उहाँले यो कविता राख्न मिल्छ भनेर सोध्नुभयो’, उनले सुनाइन्, ‘मैले सरले जुन कविता राम्रो ठह¥याउनु हुन्छ त्यही राख्नु भए हुन्छ भनेर अनुमति दिएँ। त्यसरी पाठ्यपुस्तकमा रह्यो।’
‘सभ्यता’ कविता स्नातकोत्तर पढ्ने बेलामै लेखेकी हुन् उनले। तिनताका विसं २०४७ मा कवि दैवज्ञराज न्यौपानेले उनलाई कविता संग्रह प्रकाशन गर्न हौस्याए। उनै गुरुले ‘सरित सङ्गम’ भनेर कृतिको नामाकरण पनि गरिदिए। पछि विसं २०५२ मा तत्कालीन प्रज्ञा प्रतिष्ठानका सदस्य सचिवले प्रकाशनका निम्ति कविता संग्रह दर्ता गराउन सुझाए। प्रतिष्ठानले २०६८ सालमा मात्रै यो संग्रह प्रकाशन ग¥यो। बल्ल ‘सभ्यता’ कविताको चर्चा भयो। पाठ्यक्रममा राखियो। कक्षा–८ को पाठ्यक्रममा समावेश ‘मेरो घर’ शीर्षक कविता डा.रामप्रसाद ज्ञवालीको अनुरोधमा उनले लेखेकी थिइन्। ज्ञवालीले लोक छन्दको कविता लेख्ने प्रस्ताव गरे। अनि उनले लेखिन् ‘मेरो घर’ शीर्षक कविता। यस कवितामा हाम्रो मौलिकता, हाम्रो विविधता, हाम्रो आफ्नोपन र हाम्रो प्राकृतिक सौन्दर्य आफ्नो देशकै बारेमा लेखेकी छिन्। देशलाई घर भनेकी हुन् उनले।
प्रभावशाली कविता लेख्ने भट्टराई काठमाडौंको पद्मकन्या क्याम्पसमा पढाउँछिन्। बाल्यकालदेखि नै कवितात्मक वातारणमा हुर्किइन् उनी। उनी आदिकवि भानुभक्त आचार्यको वंशमा तनहुँको चुँदी, रम्घामा जन्मेकी थिइन्। विसं २०२२ कात्तिक १६ गते पिता नारायणदत्त शास्त्री र आमा मिठ्ठू आचार्यकी जेठो सन्तानका रूपमा जन्मेकी हुन् उनी।
उनका बुबाले कवितामै उनको जन्मकुण्डली लेखिदिए। आमा पनि साहित्यप्रेमी थिइन्, घरायसी काम गर्दा पनि कविता गुनगुनाउँथिन्। आमालाई ‘गौरी’ र ‘रामायण’का कति श्लोक कण्ठै छन्। ‘बुबाले लेख्न सिकाउनु भयो’, प्रभा सम्झिन्छिन्, ‘अनि आमाले गुनगुनाएको सुनेर कविता लेख्ने प्रेरणा मिल्थ्यो।’ सानैदेखि कवितात्मक वातावरणमा हुर्किइन् उनी। भानुजयन्ती मनाउन गाउँमा आइपुग्ने ठूलठूला साहित्यकारसँग गाउँमा छँदै भेट्न पाइन् उनले। त्यतिबेला आयोजना गरिने कविता प्रतियोगितामा उनी पुरस्कृत भइरहन्थिन्। आदिकवि भानुभक्तको जन्मस्थल, त्यहाँको वातावरणै कवितात्मक थियो।
उनका बुबा जागिरको सिलसिलामा सरुवा हुँदै विभिन्न जिल्लामा पुग्थे। त्यतिखेर जताततै टेलिफोन सुविधा थिएन। उनले कवितामै चिठी पठाउँथे। प्रभाहरू जानीनजानी कवितामै जवाफ फर्काउँथे। उनको पहिलो कविता अप्रत्यासित रूपमा छापिएको थियो। तिनताका उनी रम्घाको भानु संस्कृत निमाविमा कक्षा–५ मा पढ्थिन्। उनले ‘नेपाल आमा’ शीर्षकको कविता लेखेकी थिइन्। त्यो कविता स्कुलको प्रतियोगितामा प्रथम भयो। उनका सानबा डा. जयराज आचार्य राष्ट्रिय विकास सेवाअन्तर्गत एक वर्षका लागि गाउँमा पढाउन पुगेका थिए। उनले प्रभाको त्यो कविता छापेर हुलाकमार्फत् पठाइदिए।
‘अचानक मेरो नाममा खाम आयो। त्यहाँभित्र ‘बालक’ पत्रिका रहेछ। त्यहाँ ‘नेपाल आमा’ शीर्षकको मेरो बालकविता छापिएको रहेछ’, पुराना क्षण सम्झँदा पनि उनलाई रमाइलो लाग्छ। उनले पर्वतमा ‘कखरा’ सिकिन्। त्यतिबेला उनका बुबा पर्वतमा जागिरे थिए। बालमन्दिरमा बुबाले पढ्न पठाए। उनी किताबकापी सबै हराएर आइन्। फेरि लिएर गइन्। त्यो पनि हराइन्। लगातार चार चोटि किताबकापी हराएपछि उनका बुबाले एउटा कविता नै लेखिदिए ः
प्रभा हो नाम है मेरो तनहुँ हो घर तर,
बस्छु पर्वत कुश्मामा सबैले सम्झना गर।
हरायो पहिले मेरो किताब बिर्सिएँ कता,
पाएमा सबले खोजी दिनुपर्छ लहै यता।
उनमा पढ्न रुचि नभएकाले घरमै बस्न थालिन्। पछि बुबाको भैरहवा सरुवा भयो। त्यहाँ एकैपटक कक्षा –३ मा भर्ना भइन्। घरबाट चकटी लगेर स्कुलको भुइँमा ओछ्याएर पढ्थे उनीहरू। कक्षा– ३ को फाइनल जाँच हुनुअगाडि उनका बुबाको बाग्लुङ सरुवा भयो। उनी पनि त्यहीँ पुगिन्। बाग्लुङको विद्यामन्दिर हाइस्कुलमा ४ कक्षा पढिन्। कक्षा –५ देखि आफ्नै गाउँमा पढ्न थालिन्।
उनका पालामा सूचना प्रविधिको विकास भैसकेको थिएन। विद्यार्थीमा प्रश्नउत्तर गर्ने क्षमता र आत्माविश्वास कम हुन्थ्यो। अचेलका विद्यार्थी धेरै चलाख र तार्किक भएको उनको अनुभव छ। उनी सानो छँदा रेडियो नेपालमा बाल कार्यक्रम सुन्थ्यो। कार्यक्रम प्रस्तोता वासुदेव मुनाल ‘यो रेडियो नेपाल हो। आऊआऊ सानासाना भाइबहिनीहरू हो, रेडियो नजिक आऊ’ भन्थे। उनीहरू रेडियो वरपर झुम्मिन्थे। उनी पनि त्यहाँ कविता पठाउँथिन्।
हरेक आमा, बाबा र गुरुले सधैँ भलो चिताउँछन्। ‘जे गर्दा आमा खुसी हुनुहुन्छ, त्यो बाटो सही हो र जे गर्दा आमा दुःखी हुनुहुन्छ। त्यो बाटो गलत भन्ने बुझ्नु पर्छ’, उनी सुझाउँछिन्, ‘मलाई आमाले सधैँ पढ्न प्रेरित गर्नुभयो।’ उनको पालामा छोरीलाई पढाउने चलन कम थियो। उनी कक्षा –५ मा पढ्दा गाउँभरिबाट अर्की एक जना मात्रै स्कुलमा थिइन्। छोरीहरूलाई पढ्न पठाउनु पर्छ भनेर उनकी आमाले अभियानै चलाइन्। ‘अनि त ५ ÷६ वर्ष जेठो दिदीहरूले मभन्दा जुनियर क्लासमा पनि पढें’, प्रभा भन्छिन्, ‘कति जनाले शिक्षक भएर पेन्सन पनि पकाइसके।’
तिनताका गाउँमा छोरी पढाउनु हुन्न भनिन्थ्यो। त्यति मात्रै होइन, १४ ÷१५ वर्षको हुँदा बिहे गरेर पठाउनु पर्छ भन्ने थियो। उनका बुबाले चाहिँ स्नातक गराएर मात्र बिहे गरिदिन्छु भनेका थिए। नभन्दै उनका तीन दिदीबहिनीको स्नातक पूरा भएपछि बिहे भयो। उनी कवि हुन्, कविता लेखिन्छन्। उनका विस.२०६० मा साझा प्रकाशनबाट ‘पोषिला’ बालकविता संग्रह, २०६० मा पाठ्यक्रम विकास केन्द्रबाट ‘मेरो सानो भाइ’ बालकविता संग्रह, २०६७ मा नेपाल बालसाहित्य समाजबाट शारदा अधिकारीको जीवनी प्रकाशित छन्। बाल साहित्यका डेढ दर्जन कृति लेखेकी छिन्। एउटा ‘सरित संगम’ भन्ने प्रौढ शास्त्रीय छन्दको कविता छन्। विसं २०७५ मा प्रज्ञा प्रतिष्ठानबाट ‘नेपाली बालनाटक’ नामको अनुसन्धानमूलक कृति प्रकाशित छ।
गाउँको वातावरणले नै उनलाई कवि बनाएको देखिन्छ। उनको विद्यालयमा कविता प्रतियोगिता, वादविवाद, हाजिरी जवाफ जस्ता अतिरिक्त क्रियाकलापहरू भइरहन्थे। उनी सधैं पुरस्कृत हुन्थिन्। पछि ०३९ सालमा काठमाडौं आइन् र पद्मकन्या क्याम्पसमा पढ्न थालिन्। विए पढ्न भरतपुर क्याम्पस गइन् र एमए गर्न काठमाडौं नै आइन्।
एमए पढ्दापढ्दै बिहे भएका जीवनसाथी कलाकार सुरेन्द्रराज भट्टराई पेटको क्यान्सरले बितिसके। उनले सक्नेबित्तिकै पद्मकन्यामा पढाउने अवसर पाइन्। उनको जीवनको जागिरको पहिलो दिन ०४८ साल फागुनमा उनले विए पहिलो वर्षका विद्यार्थीलाई नेपाली पढाइन्। ‘विद्यार्थीहरू ठूलै हुन्थे। म धक मान्दै गएकी थिएँ। विद्यार्थीहरूले औधी रुचाए। केही दिनमै एमएका कक्षा सुरु भयो’, उनी भन्छिन्, ‘क्याम्पस प्रमुख चेतोनाथ गौतमले एमलाई पढाउनु जानुस् भन्नु भयो। म डराएँ। त्यहाँ एमए खुलेपछि त दसौें वर्षदेखि पढ्न नपाएका ठूल्ठूला गृहिणीहरू आउँथे। डराईडराई पढाएँ।’
सिर्जनात्मक कार्यमै उनको जीवन चलिरहेको छ। बाँचुञ्जेल साहित्य सिर्जना गर्न चाहन्छिन् उनी। बालबालिकाका लागि लेख्दा आनन्द मिल्छ। तर, बालसहित्य लेख्नु त्यत्ति सजिलो छैन। बच्चालाई दिनु पर्ने कुरा छानेर दिनु पर्छ। उनीहरू अर्तीउपदेशबाट वाक्क भइसकेका छन्। कवितामा नबुझिने किसिमले अर्तीउपदेश दिन पनि सकिन्छ। उनीहरूले कविता पढिसकेपछि आहा भनेर आफैंले ग्रहण गरून्।
बालबालिकालाई परिवारसँगै राखेर पढाउनु पर्ने कुरामा उनी जोड दिन्छन्। उनीहरूलाई होस्टल वा अन्यत्र राखेर पढाउँदा निकटता हराउँछ। सँगै बसेर आमाबाबासँग झ्याम्मिएका बालबालिकालाई कुलतमा लाग्नबाट जोगाउन सकिन्छ। उनीहरूले खान नहुने चीज खाइदेलान्, बोल्न नहुने कुरा बोलिदेलान् र जान नहुने ठाउँमा गइदेलान् भनेर अभिभावकले सधैं ख्याल गर्नु पर्छ।
बालबालिका सधैं आमाबाबुको नजिकमा रहनु पर्छ। ‘हामीले सन्तानलाई साथी जस्तो व्यवहार ग¥यौं भने उनीहरूले मनका सबै कुरा भन्छन्। त्यसो भएपछि एकले अर्कालाई चिन्ने मौका हुन्छ’, उनी सुझाउँछिन्, ‘फुर्सदको समय सदुपयोग गर्न बालबालिकालाई सिर्जनात्मक काममा लगाइदिनु पर्छ। उसले रुचिअनुसार कि बाजा बजाओस् कि चित्र बनाओस्।’ बालबालिकालाई कुबाटोमा जान नजाऊ भनेर रोक्ने होइन। आफूतिर आकर्षण गर्न सक्नु पर्छ। उनीहरूलाई राम्रो ठाउँमा अलमलाउनु पर्छ। उनीहरूलाई राम्रो ठाउँमा अलमलाउन सकियो भने स्वतः नराम्रो ठाउँमा जाँदैन भन्ने उनको तर्क छ।
प्रकाशित: ३२ जेष्ठ २०७६ ०४:०१ शनिबार