समाज

शक्तिशाली महिलाहरू

डा. माधवी भट्ट
एक्काइसौँ शताब्दीमा महिलाको राजनीतिक सहभागिता बढ्दै गएको छ।नेपाललगायत विश्वका विभिन्न देशमा महिला राष्ट्रपति छन्।प्रधानमन्त्री र संसद्को सभामुख पनि बनेका छन्।राष्ट्र र सरकार प्रमुखका लागि प्रतिस्पर्धामा उत्रिएका केही महिलाले चुनावी सफलता पाउन नसके पनि लैंगिक समानताका लागि छाप छाडेका छन्। एसिया र अफ्रिकाका गरिब देशदेखि युरोप र अमेरिकाका धनी देशहरूसम्म महिलाहरू राजनीतिक मैदान र नेतृत्व दुवैमा छन्।महिलाको शासन वा नेतृत्व कुन अर्थमा पुरुषको भन्दा पृथक् छ ? महिलाहरूले देश र सरकारको नेतृत्व गरे भने उनीहरूले समग्र देश र जनतालाई प्राथमिकतामा राख्छन् वा लैंगिक विषयलाई ? यसबारे बुझ्न जरुरी देखिन्छ।युरोप अमेरिका र एसियाका केही देशका महिला नेतृत्व र तिनले पारेको प्रभाव विश्लेषणमा यो लेख केन्द्रित छ ।

एसिया र अफ्रिकाका गरिब देशदेखि युरोप र अमेरिकाका धनी देशहरूसम्म महिलाहरू राजनीतिक मैदान र नेतृत्व दुवैमा छन् ।

संयुक्त राज्य अमेरिकाले अहिलेसम्म महिला राष्ट्रपति पाएको छैन।तर, अमेरिकी महिलाले राष्ट्रपतिको सपना देख्न थालेको डेढ सय वर्ष भइसकेको छ।सन् १९२० मा अमेरिकी महिलाले मताधिकार प्राप्त गर्नुभन्दा अघि सन् १८७२ मा नै इक्वेल राइट पार्टीका तर्फबाट भिक्टोरिया उडहलले राष्ट्रपति बन्ने प्रयत्न गरेकी थिइन्।त्यसपछि दर्जनभन्दा बढी अमेरिकी महिलाहरूले उम्मेदवारी दिएका छन्।यद्यपि सन् २०१७ मा राष्ट्रपतिको उम्मेदवार बनेकी हिलारी क्लिन्टनले जस्तो प्रभाव जमाउन र विश्वमा नै तरंग फैलाउन कसैले सकेको थिएन।राष्ट्रपति बन्न नसके पनि हिलारीले महिला नेतृत्वको सिद्धान्त निर्माण र व्यावहारिक अभ्यासमा महŒवपूर्ण पदचाप छाडेकी छन्।प्रतिस्पर्धी डोनाल्ड ट्रम्पको तुलनामा अत्याधिक मिडिया सपोर्ट पाएर पनि हिलारी पराजित हुनुले अमेरिका अझै महिला नेतृत्व स्वीकार्न तयार नभएको हो वा हिलारीको व्यक्तिगत कमजोरी पनि कारण थियो भन्ने बहस चलिरहेको छ।

महिलाले नेतृत्व गरे भने देशमा कुशासन र भ्रष्टाचारको अन्त हुन्छ भन्ने मनोविज्ञान भने छाउन सकेको छैन विश्वभरी नै।

राष्ट्रपतिमा महिलाले इतिहास रच्न नसके पनि अमेरिकी संसद्को सभामुख भने प्रभावशाली महिला नेतृ न्यान्सी पेलोसी छिन्।अमेरिकी राजनीतिमा जमेकी पेलोसी त्यहाँका पुरुष सभामुखहरू भन्दा सफल समेत मानिन्छिन्।राष्ट्रपति र उपराष्ट्रपतिको अनुपस्थितिमा सभामुख नै राष्ट्र प्रमुखको रूपमा कार्यरत हुने प्रावधानको कारण पेलोसी शक्तिशाली मानिन्छिन्।

राजनीतिमा महिला सहभागिताको सन्दर्भमा अमेरिकाभन्दा युरोप अगाडि छ।बेलायत, जर्मनी नर्वे अस्ट्रिया, सर्विया र क्रोसिया लगायतका देशहरूमा महिलाले नेतृत्व गरिरहेका छन्।त्यस मध्ये जर्मनी र बेलायतले विश्वको ध्यान केन्द्रित गरेका छन्।विश्वको सबैभन्दा शक्तिशाली महिलाको सूचीमा पर्ने आंगेला मर्केल सन् २००५ देखि निरन्तर जर्मनीको चान्सलर बनेकी छन्।महिलाहरू राजनीतिको उच्च पदमा पुग्न सक्दैनन् र पुगे पनि लामो समय टिक्न सक्दैनन् भन्ने स्थापित मान्यतालाई लगातार चार पटक चान्सलर बनेर उनले चुनौती दिएकी छन्।युरोपियन युनियनको ‘डी फ्याक्टो लिडर’ भनेर पनि चिनिने मर्केललाई प्रसिद्ध ‘टाइम म्यागेजिन’ले वर्ष व्यक्ति घोषणा गरिसकेको छ।आत्मबल र निर्णय क्षमताले भरिपूर्ण मर्केल मूल्य मान्यताबाट निर्देशित हुने नेताभित्र पर्छिन्।उनले जर्मनीको अर्थतन्त्रमा देखिएको संकट र युरोपियन मुद्रा संकटको समयमा सही नेतृत्व प्रदान गरेकी थिइन।लैंगिक विषयभन्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय मर्केलको प्राथमिकतामा रहने गरेका छन्।

बेलायतको इतिहासमा दोस्रो महिला प्रधानमन्त्री बन्ने सौभाग्य पाएकी टेरिजा मेले हालै पदबाट राजीनामा दिएकी छन्।युरोपियन युनियनबाट बेलायतलाई अलग गर्ने विषयलाई व्यवस्थापन गर्न असफल भएको स्वीकार्दै उनले पद छोडेकी हुन्।बेलायतमा उनको क्षमता र स्वभावका बारेमा कटु आलोचना भइरहेको छ।टेरिजा मेको तीन वर्षे छोटो शासनकालको समीक्षा गर्नुअघि बेलायतकी पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचरलाई सम्झनु उपयुक्त हुन्छ।सन् १९७९ देखि लगातार ११ वर्ष प्रधानमन्त्री बनेकी थ्याचर प्रस्ट दृष्टि, लक्ष्य र उद्देश्य बोकेकी र आत्मबलले भरिपूर्ण थिइन्।अधिनायकवादी सोच, कडा मिजास र कहिल्यै आफ्नो अडानमा सम्झौता नगर्ने स्वभावकी थ्याचरलाई एक सोभियत पत्रकारले ‘आइरन लेडी’को उपनाम दिएका थिए।पहिलो महिला प्रधानमन्त्री थ्याचरजस्तो दोस्रो महिला प्रधानमन्त्री मे लामो समय प्रधानमन्त्री पदमा टिक्न सकिनन्।हुनत मे बेलायतले युरोपियन युनियनबाट अलग्गिने निर्णय गरेपश्चात् उत्पन्न जटिल परिस्थितिमा सरकार प्रमुख बनेकी थिइन्।सामाजिक सुरक्षालगायत विषयमा उनले प्रस्तुत गरेका योजनाहरू कार्यान्वयन नभएकाले पनि उनी बढी आलोचित भइन्।आफ्नो कार्यकालभरि प्रधानमन्त्री मे लैंगिक विषयमा खासै केन्द्रित थिइनन्।मेको असफलतासँग महिला नेतृत्वको सवालमा प्रश्नहरू जोडिएका छन्।

युरोपमा जस्तै एसियाका धेरै देशमा महिलाले सरकार र राष्ट्र प्रमुखको भूमिका निर्वाह गरिसकेका छन्।दक्षिण कोरियामा महिला राष्ट्रपति र प्रधानमन्त्री बनिसकेका छन्।तर, दक्षिण कोरियामा महिला नेतृत्वले न क्षमता देखाउन सके न त सामाजिक प्रतिष्ठा आर्जन गर्न नै।

सैनिक तानाशाह तथा विकासप्रेमी पूर्व राष्ट्रपति पार्क चङ्हीको छोरी पार्क गुनही सन् २०१३ मा कोरियाको राष्ट्रपति निर्वाचित भए पनि उनी भ्रष्टाचारको आरोपमा जेल परेकी छन्।चर्को लैंगिक असमानता भएको कोरियामा पार्क गुनही रोलमोडल बन्न सकिनन्।फिलिपिन्सले दुई महिलालाई राष्ट्रपति पाइसकेको छ कोराजन एक्वाइनो र गलोरिया म्याक्या पागलयारोयो।कोराजनले पतिको हत्यापछि राष्ट्रपति हुने सौभाग्य पाएकी हुन् भने ग्लोरियाले बाबुबाट प्राप्त विरासतको रूपमा।पहिलो महिला राष्ट्रपतिले देशमा प्रजातन्त्रको पुनस्र्थापना गरिन् भने दोस्रो महिला राष्ट्रपतिले भ्रष्टाचारमा कुख्याति कमाइन्।

एसियामा पनि दक्षिण एसियाली देशहरू महिला नेतृत्वको लागि वरदान प्राप्त छन्।भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशका नेतृहरू राष्ट्रिय राजनीतिमा मात्र होइनन्, विश्वका शक्तिशाली नारीहरूको सूचीमा पनि लामवद्ध छन्।अधिकांश नेतृहरू हत्या गरिएका बाबुको उत्तराधिकारीको रूपमा उदाएका छन् भने केही दिवंगत पतिको ठाउँमा स्थापित छन्।भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूको हत्यापछि छोरी इन्दिरा गान्धी राजनीतिमा उदाइन्।इन्दिरा गान्धीले कठोर अधिनायकवादी पुरुष शासककै पदचाप पछ्याइन्।उनको शासनकालमा नागरिक स्वतन्त्रता हनन भयो।छिमेकी पाकिस्तानसँग युद्द छेडिन्।परिणामतः बंगलादेशको उदय भयो।उनले कहिल्यै आफूलाई नारिवादी भनि चिनाइनन्।यद्दपि भारतीय कांग्रेसको महिला विभागको नेतृत्व भने गरेकी थिइन्।

पूर्वराष्ट्रपति प्रतिभा पटेल राजनीतिक परिवारमा नजन्मिए पनि नेहरू र गान्धी परिवारको आशीर्वाद प्राप्त थिइन्। बंगलादेशकी वर्तमान प्रधानमन्त्री शेख हसिना वाजेद प्रथम राष्ट्रपति शेख मुजिवर रहमानकी छोरी हुन् भने पूर्व प्रधानमन्त्री खालिदा जिया बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान मारिएपछि उत्तराधिकारी बनेकी हुन्।शेख हसिना र खालिदाजिया दुवै भ्रष्टाचार र कुशासनमा बद्नामित नेतृ हुन्।आफूमाथि लागेको भ्रष्टाचारको आरोपका बावजुद शेख हसिनाले राजनीतिमा पुनरावृत्त गरिन् भने खालिदा असफल भइन्।पाकिस्तानी दिवंगत नेतृ बेनजिर भुट्टो त्यहाँको सैनिक शासनमा मारिएका अलि जुल्फिकार भुट्टोको छोरी हुन्।नातावाद, कृपावाद र भ्रष्टाचार जस्ता दक्षिण एसियाली राजनीतिक रोगबाट भूट्टो पनि अलग रहन सकिनन्।पतिको हत्यापछि राजनीतिमा प्रवेश गरेर श्रीलंकाको प्रधानमन्त्री बनेकी श्रीमाओ बन्दरानाइकेले विश्वकै पहिलो निर्वाचित महिला प्रधानमन्त्रीको रेकर्ड राखिन्।श्रीमाओकी छोरी चन्द्रिका कुमारातुङ्गा पनि पतिको निधनपश्चात् नै राजनीतिमा प्रवेश गरिन्।दुई पटक श्रीलंकाको कार्यकारी राष्ट्रपति बनेकी कुमारातुङ्गाले श्रीलंकामा लामो समयदेखि चलेको युद्ध अन्त गरी शान्ति कायम गर्न सफल भइन्।

यसैगरी नेपाली राजनीतिमा पनि महिला सहभागिता उत्साहजनक छ।कुनै समय प्रभावशाली नेताको पत्नी र दुई छोरीकी समर्पणवादी आमाको परिचयमा सीमित विद्या भण्डारी ‘सेरेमोनियल’ नै सही राष्ट्रप्रमुख बनेकी छिन्।पूर्वलडाकु ओन्सरी घर्ती मगर शक्तिशाली संसद्को सभामुख बनिसकेकी छन्। पक्कै पनि राजनीतिक नेतृत्वमा महिलाहरूको बाक्लो उपस्थितिले विश्वभरी नै महिलालाई सकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको छ।जर्मनीमा कुनै पनि बालिकाले अब निर्धक्क चान्सलर बन्ने सपना देख्न सक्छे।कुनै अमेरिकी महिलाले सोचिरहेकी होलिन्– अब ह्वाइट हाउसको नेतृत्व धेरै माइल टाढा छैन।नेपालमै पनि महिलाहरु राष्ट्रप्रमुख र संसद् प्रमुख बनिसकेकाले धेरै सकारात्मक सन्देश गएको छ।तर, विडम्बना ! महिलाले नेतृत्व गरे भने देशमा कुशासन र भ्रष्टाचारको अन्त हुन्छ भन्ने मनोविज्ञान भने छाउन सकेको छैन विश्वभरी नै।विश्वको अनुभवबाट राष्ट्र वा सरकार प्रमुख हुन चाहने महिलाले लंैगिक नारा बोकेर मात्र हुँदैन आम जनताको प्रतिनिधि मूल एजेन्डा तय गर्नुपर्छ भन्ने सन्देश मिलेको छ। सरकार र राष्ट्रको नेतृत्व गर्ने अवसर पाएका महिलाहरूले पनि सधैँ लैंगिक हकहितको लागि मात्र आवाज उठाउन सम्भव हुँदो रहेनछ भन्ने देखिन्छ।पुरुष नेतृत्वका सामु महिला नेतृत्वका सामु पनि अन्तर्राष्ट्रिय सम्बन्ध, देशको सुरक्षा, आर्थिक विकास र रोजगारी तथा सामाजिक सुरक्षा जस्तो वृहत्तर विषय नै प्राथमिकतामा पर्ने रहेछन्।फरक यत्ति हो की महिला नेतृत्वले आलोचना थेग्न महिला र बालबालिकाको विषयलाई पनि पूरै त्याग्न नसक्ने रहेछन् ।

अझ महत्वपूर्ण के छ भने महिलाले भ्रष्टाचार गर्दैनन् वा असल शासन दिन्छन् भन्ने आम मान्यतालाई पनि विश्व अभ्यासले अनुमोदन गर्दैन।बरु एसियाली र खासगरी दक्षिण एसियाली देशहरूमा महिला नेतृत्व भएका बेला पुरुषले जस्तै र त्योभन्दा बढी भ्रष्टाचार भएको तथ्यहरूले बताउँछन्।महिलाहरूको शासनमा प्रजातान्त्रिक अभ्यास र संस्कार बढी हुन्छ भन्ने पनि पुष्टि हुँदैन।सत्ता र शक्ति प्राप्त गरेका महिलाहरूमा पनि शासनको उन्माद आउने र नागरिक अधिकार खोस्ने गरेको देखिन्छ।महिला शासकहरूले पनि पुरुष शासककै पदचापमा हिँड्ने हो भने महिलालाई नेतृत्वमा पु¥याउन किन संघर्ष गर्ने ?

प्रकाशित: ३२ जेष्ठ २०७६ ०३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App